सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्छ : मन्त्री पण्डित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्छ : मन्त्री पण्डित


प्रशासन संवाददाता

६ बैशाख २०७६, शुक्रबार


कावासोती । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानलाई कार्यान्वयन गर्न कर्मचारी समायोजन गरिएकाले कोही पनि कर्मचारीले खटाएको ठाउँमा जान्न भन्न नपाउने बताएका छन् । उनले भने, ‘प्रदेश, स्थानीय तहमा जान्न, काठमाडौँ छोड्दिन भन्न कसैलाई छुट छैन ।’

नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत निर्माणाधीन ओभरहेड ट्याङ्की तथा डिप बोरिङको शिलान्यास कार्यक्रममा मन्त्री पण्डितले कर्मचारी अपुग भएका कार्यालयमा अर्को व्यवस्था नहुँदासम्म करारमा भर्ना गरेर भए पनि सबै कार्यालयमा कर्मचारी पदपूर्ति गरिने बताए ।

नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत रु एक करोड विनियोजन गरी ओभरहेड ट्याङ्की तथा डिप बोरिङ बनाउन लागिएको हो । दुई वर्षभित्र सम्पन्न गर्ने गरेर शुक्रबारदेखि ट्याङ्की र डिप बोरिङको निर्माण शुरु गरिएको प्रगतिननगर खानेपानी तथा सरसफाइ उपभोक्ताका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिए।

हाल चार हजार घरधुरीले स्वच्छ खानेपानी सेवा पाउँदै आएकामा योजना सम्पन्न भएपछि थप दुई हजार घरधुरीले खानेपानीको सुविधा पाउने अध्यक्ष भुसालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस