बैशाख १२ गते, २०७६

प्रधानमन्त्रीज्यू-म नतिजा दिन्छु, मलाई असल अभिभावकत्व दिनुहोस्

एक अंग्रजी कवि थोमस ग्रेजले भन्नु भएको छ ‘इग्नोरेन्स इज ब्लिस’ । उहाँले भने जस्तै साँच्चै केही पनि नजान्दा जति मजा, जान्दा हुँदो रहेनछ । केही कुरा जान्दा बोल्न मन लाग्छ । लेख्न मन लाग्छ । त्यो नै मन दुख्ने र दुखाउने कारण बनिंदिदो रहेछ । खयर जे भए पनि लेख्ने प्रयास गरेको छु । जो सँग अपेच्छा गरिन्छ, उसै सँग दुखेसो पोखिन्छ ।

बेलायतको तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरलाई एउटा कार्यक्रममा पत्रकारले तपाईँको सफलतामा कसको योगदानलाई ठुलो मान्नुहुन्छ ? भनेर प्रश्न गर्दा उहाँले मेरो आलोचकहरूको भन्नु भएछ । कसरी ? भन्ने प्रश्नमा उहाँले मैले बाटो बिराएको वेला सत्ता र शक्तिको उचाइबाट सबैलाई होचो देखेको वेला, स्वार्थमा लिप्त सल्लाहाकारहरुको सल्लाहले मात चढेका वेला, ती आलोचकहरूको आलोचना मेरो लागि मार्गदर्शन भए भन्नु भएको थियो ।

प्रधानमन्त्रीज्यू, हजुरलाई म थ्याचरको भन्दा कम्ती विवेक भएको व्यक्तिव्वको उचाइमा राखेको छैन । यहाँ द्वन्द्वात्मक भौतिकवादको दर्शनमा लामो समय खारिएको मान्छे । थेसिस्ए-ण्टीथेसिस्से-नथेसिस्को क्रियात्मक अवस्थाबाट समाजमा परिवर्तन हुन्छ भन्ने कुरालाई सत्य मानेको मान्छे । त्यसैले म विश्वस्त छु हजुरले आलोचनात्मक चिन्तनलाई सहिष्णुताका साथ स्विकार्नु हुनेछ । सोही स्तरको श्रद्धाको साथमा केही विषयमा विमर्श गर्न अनुमति चाहन्छु ।

प्रधानमन्त्रीज्यू, मैले गलत बुझे या सही थाहा छैन । मेरो बुझाइमा लोकतान्त्रिक राजनीतिक व्यवस्थामा विधि र संस्कारको मुहान संसद् हो । सरकार हो । राजनीतिक दल हो । संसद्, सरकार र राजनीतिक दलबाट निसृत हुने चेतना, विवेक, व्यवहार र संस्कारबाट समाज र व्यक्ति प्रभावित हुन्छ । समाजको गति निर्धारण हुन्छ । त्यसैले सरकार राज्य संयन्त्रका सबै निकाय र आम नागरिकको अभिभावक हुनु पर्दछ भन्ने लाग्दछ ।

प्रधानमन्त्रीज्यू, आज भोलि कर्मचारीका विषयमा राजनीतिक वृत्तबाट अभिभावकत्व ग्रहण नगरिएको रुख्खा-सुक्का अभिव्यक्ति सुन्ने गरेको छु । हुन त अग्रजहरूले भन्नु भए जस्तै ‘उत्तम कृषि, मध्यम वान, नीच नोकरी, भिख निदान’ भन्ने भनाइमा सिरानी लगाएर यो परिस्थितिलाई जस्ताको तस्तै स्वीकारे पनि हुन्थ्यो होला तर सार्वजनिक प्रशासनको क्षेत्रमा आएका नवीन सिद्धान्त र व्यवहारलाई थोरै जानेका हिसाबले पनि सो प्रवृत्तिका विरुद्धमा असन्तुष्टि राख्न मन लाग्दो रहेछ ।

प्रमज्यू ‘जब सम्म चल्छ, चलिनै रहन्छ’ भन्ने शैलीमा अघि बढ्ने हो भने त भन्नु केही छैन तर सार्वजनिक प्रशासनमा सुधार नै खोजेको हो भने आम राष्ट्र सेवक कर्मचारीले सहज महसुस नगरेको राजनीतिक दल/सरकारका निम्न व्यवहारहरूमा सुधार जरुरी देख्दछु:

अभिभावकीय भूमिका : राजनीतिक दल र सरकारको नेतृत्वले राम्रो नतिजा आउँदा आफ्नो कारणले र नराम्रो नतिजा आउँदा कर्मचारीको कारणले भन्ने तवरबाट अभिव्यक्त भएको पाउँछु । मैले मेरो पेसागत जीवनमा पनि मेरो आमा जस्तै अभिभावक खोजेको छु । जसले राम्रो या नराम्रो नतिजाको जिम्मेवारी आफूले लिन सकोस् । गुण र दोषको जस/अपजस दुवैका लागि आँफु तयार होस् । नतिजाप्रति सबैलाई जिम्मेवार बनाउँदै सुधार गर्नु पर्ने पक्षहरूमा पूर्व सावधानीका साथ विना मोलाहिजा प्रयास गरोस् । सबै सेवा समूहको साझा अभिभावक बनी सबैलाई ओत दिन सकोस् । आफू पद्धति, पारदर्शिता र इमान्दारितामा रहेर अरूलाई सोका लागि प्रोत्साहित गरोस् । हिंसा होइन करुणा र विनम्रता सिकाओस् । अनि मात्र मैले खुसीसाथ सेवामा समर्पित हुने आत्मबल प्राप्त गर्नेछु ।

उत्प्रेरणा : राजनीतिक दल र सरकारको नेतृत्वबाट काम र कर्मीको मुल्याङकनको अवस्था नाजुक छ भन्ने लाग्दछ । पुरस्कार र दण्डको अवस्था त झन् विपरीत हिसाबले चलेको हो कि जस्तो लाग्छ । अधिकांश अवस्थामा क्षमताको आधारमा जिम्मेवारी दिने होइन, सम्बन्ध प्रथा (राजनीतिक आस्था, नाता गोता, अन्य स्वार्थ ) का आधारमा अवसर तथा जिम्मेवारी दिइएको देख्दछु । यस्तो अवस्थामा म कुन हर्मोन जगाएर उत्प्रेरित हुँ प्रधानमन्त्रीज्यू ? मैले हजुरबाट राजा जनकको स्तरको सालिनता र न्यायिक कर्म खोजेको होइन केवल थाङने नामको बिल्ला जस्ता अपमान बोध हुने पहिचान भिरेर हिन्न नपरोस् । विधि, पद्धति र मापदण्डको पालना गर्दा हिंसा सहन नपरोस् । तथा एक्काइसौँ शताब्दीको लोकतान्त्रिक व्यवस्थाको प्रधानमन्त्रीबाट व्यवस्थापन गर्नुपर्ने उचित कार्य वातावरण र सबै प्रकारका सेवामा संलग्न कर्मचारीका दायित्वको निष्पक्ष मूल्याङ्कनको सुनिश्चितता मात्र चाहेको हुँ ।

अहस्तक्षेप : नेपाली जनमा प्रचलित एउटा उखान छ ‘हानेको भन्दा ताकेको दुख्छ’ । यहाँ पनि कर्मचारी प्रशासनलाई उसको भूमिका तथा कार्य क्षेत्रमा रहेका कार्य जिम्मेवारी सम्पादन गर्ने सवालमा राजनीतिक वृत्तबाट स्वार्थ अनुकूल ताक्ने काम हुन्छ । कर्मचारीलाई यन्त्रिकरण गरेर राजनीतिक लाभ र लोकप्रियता अनुकूल सञ्चालन गर्ने प्रयास गरेको देखिन्छ । प्रधानमन्त्रीज्यू, हजुर आफै भन्नुहोस् त यो अवस्थामा सुधार हुन आवश्यक छैन र ?

समानता : कर्मचारी प्रशासनलाई व्यवस्थित गर्न बनेका विद्यमान ऐन, नियम, मापदण्ड भन्दा बाहेक आधारमा कसैलाई काखा र कसैलाई पाखा गरिनुले आम कर्मचारी वृत्तमा समानता महसुस गरिएको अवस्था छैन । पहुँच र प्रभाव नभएका, तेल घस्न र मुठी कस्न इच्छा नगर्ने इमानदार कर्मजिवीहरु वृत्ति विकासका कयौँ अवसरहरूमा असमानता र अन्यायको पिडा सहेर बसेका छन् । विचारका आधारमा हुने असमान व्यवहार, सङ्घीय प्रादेशिक र स्थानीय सेवाहरूको आधारमा हुने असमान व्यवहार, भित्रिया र बाहिरियाको भूमिकाका कारण हुने असमास व्यवहार, अन्तर सेवाको बिचमा गरिने असमान व्यवहार र पदीय आधारमा हुने असमान व्यवहारले सबै कर्मचारी समान रूपमा सक्रिय र आत्म सम्मान महसुस गर्न सकेका छैनन् । प्रधानमन्त्रीज्यू हजुर एक पटक आफै ती कर्मचारीको ठाउँमा बसेर सोच्नुहोस् त !

परिचालन : नेपाली समाजमा प्रचलित एउटा भनाई छ ‘गर्ने भन्दा गराउने ठुलो’ । सार्वजनिक प्रशासनको उच्च तहमा राजनीतिकर्मी रहने व्यवस्था छ । मातहतका कर्मचारीलाई नीति र विधिको परिधि भित्र साझा लक्ष्य प्राप्तिका लागि परिचालन गर्नु राजनीतिक नेतृत्वको दायित्व र कौशल दुवै हो । कतिपय जनप्रतिनिधिहरूले कर्मचारी माथि हातपात, धम्की, दुरव्यवहार जस्ता व्यवहार गर्ने गरेको समाचार दैनिक जसो अखबारहरूमा आउनुले पनि कर्मचारीको परिचालनमा सही दिसा पक्रिन सकिएको छैन भन्ने कुरालाई पुष्टि गर्दछ । मनोवैज्ञानिक र शारीरिक भयको सन्त्रासमा रहेका कर्मचारीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्यलाई सहयोग पु¥याउन सक्लान् र प्रमज्यू ?

प्रमज्यू, मैले राजनीतिक दल र सरकारले व्यवहारिक अवलम्बन सहित सुधार गर्नु पर्ने पक्षहरूको चर्चा गर्दै गर्दा, के कर्मचारी चाही असल हुन त ? भन्ने प्रश्न पटक पटक हजुरको मनमा आयो होला । म यो प्रसङ्गमा पनि इमान्दारीतापूर्वक आफ्नो अनुभूति र मुल्याङकन राख्ने प्रयास गर्दछु । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले एउटा कार्यक्रममा आफ्नो कार्यपत्रमा कर्मचारी प्रतिको बहुपक्षीय दृष्टिकोण/मुल्याङकन समेट्नु भएको थियो: कर्मचारीहरू नागरिकको दृष्टिमा अप्रिय पात्र । राजनीतिज्ञको दृष्टिमा असहयोग पात्र । निजी क्षेत्रको दृष्टिमा काम अड्काउने, दुख दिने पात्र । विज्ञ बुद्धिजीवीको दृष्टिमा अज्ञानी अकर्मण्यता पात्र ।

मैले एकाध तर्क त राखुँला तर आम सेवाग्राहीको अनुभूति भन्दा माथिको धारणा पृथक् छैन । मेरो आठ वर्षे जागिरे जीवनले ठम्याएको सत्य पनि मैनाली सरले पेस गर्नु भएको सत्य भन्दा टाढा छैन । सार्वजनिक प्रशासनलाई सशक्त र भरोसायुक्त बनाउन कर्मचारीहरू पनि कर्तव्य, जिम्मेवारी, योग्यता, भूमिका, संस्कार, प्रवृत्ति, आचरण, व्यवहार र सीप पक्षमा सघन रूपमा नै निखारिन तथा सुधारिन जरुरी छ भन्ने लाग्दछ ।

अन्त्यमा , प्रमज्यू, नेपाली समाजमा एउटा भनाई प्रचलित छ ‘भोक र प्रेम लुकाएर लुक्दैन’ । हो मेरो मनमा जागेको भोक, यो लेख मार्फत अभिव्यक्त गरेँ । मैले अपेच्छा र अनुभूति मात्र अभिव्यक्त गरेको छैन । हजुरप्रतिको अगाध विश्वास पनि अभिव्यक्त गरेको छु । प्रमज्यू हजुरले आफ्नो सार्वजनिक अभिव्यक्तिका क्रममा भन्नुभएको थियो ‘लोकलन्त्रको लाभलाई न्यायोचित रूपमा वितरण गर्न लोकतन्त्रका मूल्यहरूलाई राज्यका सबै संरचना तथा कार्यात्मक व्यवहारमा उतार्न जरुरी छ ।’ प्रमज्यू त्यसका लागि त राजनीतिक क्षेत्र र कर्मचारी तन्त्र दुवैले परिवर्तनलाई आत्मसाथ गरी परिणाम प्रति जिम्मेवार हुँदै नागरिकले अनुभूति गर्ने सुशासन दिन प्रतिस्पर्धीका रूपमा होइन, परिपूरकका रूपमा अगाडी बढ्नुको कुनै विकल्प छ र ?

प्रमज्यू, हजुरलाई थाहा छँदै छ, जस्तो सुकै सुन्दर नीति, कार्यक्रमको पनि कार्यान्वयन विना परिणाम आउँदैन । परिणामकालागि सार्वजनिक प्रशासनको ज्ञानेन्द्रिय र कर्मेन्द्रियका रूपमा रहेको कर्मचारीतन्त्रको सक्रियता, इमान्दारिता, त्याग र समर्पण आवश्यक छ । त्यसैले कर्मचारीको मनोबल उच्च राख्न राजनीतिक वृत्तबाट दूरदर्शितापूर्ण मार्गदर्शन आवश्यक छ । समानता, सम दुरी र सद्भावको साथमा प्रोत्साहन जरुरी छ । व्यक्तिगत स्वार्थ र आत्मपरक सोच नराखी कार्य जिम्मेवारी दिने, अवाच्छित हस्तक्षेप नगर्ने संस्कार आवश्यक छ । सबैभन्दा बढी त उपयुक्त अभिभावकीय भूमिका आवश्यक छ ।

प्रमज्यू, हामी कर्मचारी सरकारका घोषित लक्ष्य कार्यान्वयन गर्ने र सार्वजनिक सेवा प्रवाह गर्ने सिपाही हौँ । हामीमा उच्च मनोबल, दृढता, आत्मसम्मान हुन जरुरी छ । गिरेको आत्मसम्मान र मनोबल लिएर कार्यक्षेत्रमा खटेका सिपाहीबाट अपेच्छित नतिजा आउँदैन । त्यसैले प्रधानमन्त्रीज्यू म नतिजा दिन्छु । मलाई असल अभिभावकत्व दिनुहोस् ।

बैशाख १ गते, २०७६ - ०८ः०० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg