समायोजन अन्योलको कारण स्वास्थ्यकर्मीमा मानसिक तनाव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समायोजन अन्योलको कारण स्वास्थ्यकर्मीमा मानसिक तनाव


रामकुमार धमला

१९ चैत्र २०७५, मंगलबार


समायोजन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैत्र १४ गते बिहीबार,२०७५ मा पत्रकार सम्मेलन गरी समायोजनको काम सम्पन्न गरेको भने पनि हालसम्म स्वास्थ्यको समायोजन विवरण सार्वजनिक नहुनाले अन्योलको स्थिति सँगै स्वास्थ्यका कर्मचारीमा मानसिक तनाव सिर्जना गरेको छ ।

बहुप्रतीक्षित समायोजनको प्रक्रिया सकेर वा पूर्ण रूपमा नसकी हत्तारोमा सार्वजनिक भएको हो भन्ने विषय पनि गम्भीर वनेको छ । सञ्चार माध्यममा स्वास्थ्य सेवाको समूह र उपसमूह धेरै भएकाले सुची प्रकाशनमा ढिलाइ भएको भन्ने आए पनि आज सम्म यो कारणले समायोजनको सुची प्रकाशन गर्न नसकिएको भनी आधिकारिक रूपमा न सामान्य प्रशासन मन्त्रालयले भनेको छ न त स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति नै जारी गरेको छ । यसले गर्दा समायोजनको लागी तयारी गरिएको विवरण पुनः हेरफेर गरी चलखेल नगरेको भन्न सकिन्न ।

पत्रकार सम्मेलन निर्धारित वा हतारो
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बडो गर्वका साथ पत्रकार सम्मेलन गरी समायोजन प्रक्रिया सम्पन्न भएको जानकारी दिए पनि स्वास्थ्यको कर्मचारीको समायोजन अक्षरमा होइन, अङ्कमा मात्र गर्न सफल भएको छ । समायोजनको अंकमात्र सार्वजनिक भएकोले समायोजन वारे स्वास्थ्यका कर्मचारीहरूमा शङ्का उपशङ्का सँगै आक्रोश पैदा हुन थालेको छ । समायोजन प्रक्रिया पूर्ण रूपमा सम्पन्न गरी निर्धारित रूपमा नै पत्रकार सम्मेलन गरेको हो या त हत्तारोमा सामान्यले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको भन्न गाह्रो छ । यसरी हेर्दा खेरी दबाबको कारण कि त दरबन्दी संरचना, पद वा तह मिलान अन्तिम समयमा परिवर्तन गरी चलखेल गरिएको हो या त सामान्यले पूर्ण रूपमा तयारी नै गर्न सकेको थिएन भन्ने आकलन गर्न सकिन्छ । यदि पत्रकार सम्मेलन नै गर्नु थियो भने समायोनको प्रगतिबारेमा जानकारी गराएर पत्रकारलाई अद्यावधि गराएको भए हुन्थ्यो होइन भने एकै चोटि समायोजनको सुची सार्वजनिक गर्नु पर्दथ्यो । यसले स्वास्थ्यका कर्मचारीहरूको मनस्थिति असन्तुलित बनाएको छ । समायोजन प्रक्रिया तोकिएको समय सीमा भित्र टुङ्गो नलागेको कारण सामान्य प्रशासन मन्त्रालयको चौतर्फी आलोचना भइरहेको सन्दर्भमा स्वास्थ्यको सुची सार्वजनिकमा ढिलाइ गर्नु आफैमा लज्जाको विषय वनेको छ ।

दरबन्दी संरचना र समायोजन प्रक्रिया परिवर्तन हुँदै
समायोजनको लागी स्वास्थ्यको सुची सार्वजनिकमा ढिलाइ सँगै दरबन्दी संरचना, समायोजन प्रक्रिया परिवर्तन हुदैंछ र फेरी स्वास्थ्य मन्त्रालयबाट विज्ञको राय लिने काम भइरहेको छ भन्ने कुरा सञ्चारमाध्यममा आउनाले स्वास्थ्यमा फेरी अन्यौलता छाएको छ । कहिले पदगत, कहिले तह गत र कहिले मिश्रित दरबन्दी कायमको विषय पनि स्वास्थ्यमा अचम्म लाग्दो छ । एउटा निर्णयमा अडान लिन नसक्नु र सर्वमान्य निर्णय लिन नसक्नु स्वास्थ्य मन्त्रालय वा मातहतका विज्ञ भनाउँदाको निर्णय क्षमतामाथि प्रश्न चिन्ह खडा हुन जान्छ । स्वास्थ्यको कुनै एक पदको समूह वा तहको समूहले मन्त्री वा सचिवलाई दबाब दिएकै भरमा स्वास्थ्यको समायोजनलाई अस्थिर बनाउन जो केहीलाई हक छैन । त्यस्तै, दबाब कै भरमा मौन रहेका पद र तहका कर्मचारीलाई विभेद गर्न नि पाइन्न । सरकारले बुझ्न जरुरी छ कि मानसिक रूपमा विक्षिप्त भएको समायोजित स्वास्थ्यका पेसाकर्मीहरूले सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न र सहज स्वास्थ्य सेवा प्रवाह गर्न कठिन छ ।

समायोजनको प्रक्रियागत त्रुटि हुने
अहिले सञ्चारमाध्यममा आएको जस्तो स्वास्थ्य चौकी तथा पालिका तहमा तहगत र अन्यमा पदगत रूपमा समायोजन हुने भन्ने विषय सत्य हो भने यसले समायोजन प्रकयामा नै त्रुटि देखाउँछ । किनभने यस्ता विषयहरू कर्मचारीलाई इच्छाएको तह स्थानीय, प्रदेश वा सङ्घ रोज्न पूर्व नै किटान गरिनु पर्दथ्यो । त्यस्तै एकै पद, तह र एकै प्रकृयावाट नियुक्ति लिएको स्वास्थ्यका कर्मचारी स्थानीय अनर्तगत कै पालिका, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा कसरी पदगत र तहगत समायोजन गर्न मिल्छ र ? स्वास्थ्य मन्त्रालय वा सो सँग सम्बन्धितहरूले कहिले सम्म स्वास्थ्य क्षेत्रलाई अस्थिर बनाउने ? सबैले आफ्नो कुर्सी र काठमाडौँ उपत्यकामा जागिर बचाउन कहिले सम्म कसरत गरी रहने ? सम्बन्धित व्यक्तिहरूले एक पटक सोच्ने वेला आएको छ ।

समायोजनमा पनि हेअ भर्सेज सिअहेव विवाद
स्वास्थ्यमा लामो समय देखी हेइ समूहका हेल्थ असिस्टेन्ट र (सी)अहेव बिचको विवाद समायोजनमा पनि दर्साएर निश्चित समूहको स्वार्थ बोकेको व्यक्ति र संघसंगठनले फाइदा लिन खोजिरहेका छन् । अव हुँदा हुँदा अन मी पदको कुरा पनि विवादित भइरहेको बखेडा निकाल्न थालिसकेको छन् । सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यको पदगत रूपमा समायोजन खाका तयारी गरी अघि बढेको सन्दर्भमा स्वास्थ्य मन्त्रालय वा मातहतका विज्ञ भनाउदाहरुले खुट्टा कमाएकै कारण समायोजन पुन अन्योलमा पर्दै गएको देखिन्छ ।

सबैले बुझ्न जरुरी छ । हेअ वा अहेव बाहेक अन्य दर्जन समूहका कर्मचारीहरू स्वास्थ्य सेवामा सेवारत छन् । यी सबै सेवा समूह र उपसमूहलाई सर्वमान्य हुने गरी मापदण्ड अवलम्बन गर्नु पर्दथ्यो । तर स्वास्थ्यमा समायोजनलाई स्टिल वर्थ वा एवर्सन गराउने प्रयास गरिँदै छ । यस वाट सरकार सजग हुन आवश्यक छ । साथै समायोजनको विषयमा सरकारी चिकित्सक सङ्घ (गोदान)लयागतले उठान गरेको मागहरूलाई सम्बोधन गरी समयमा नै यस्ता समस्याहरूको दीर्घकालीन समाधान खोज्न आवश्यक छ ।

अन्त्यमा, स्वास्थ्य क्षेत्र संवेदनशील भएकोले अव दिन प्रतिदिन मौसम परिवर्तन सँगै प्राकृतिक प्रकोप र वर्षात सुरु हुने हुँदा स्वास्थ्य संस्थामा दरबन्दी अनुसार कर्मचारी र औषधी उपकरणको व्यवस्था सँगै कर्मचारी समायोजनको विषय यथासिग्र टुगोंमा लगाइ स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने वातावरण बनाउन सम्बन्धित सरोकारवालाहरूको ध्यान जाओस् । होइन भने स्वास्थ्यमा प्राप्त गरेको उपलब्धि गुम्ने र हालको प्रगति डुब्ने खतरा निश्चित प्राय छ ।

 धमला राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालका केन्द्रीय सदस्य हुन् 

Tags :
प्रतिक्रिया दिनुहोस