कहाँ छ जवाफदेहिता र मितव्ययीता ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कहाँ छ जवाफदेहिता र मितव्ययीता ?


देविराम आचार्य

१२ चैत्र २०७५, मंगलबार


सरकारी गाडी

यो आलेख साढे दुई वर्ष पहिले तत्कालीन मुख्य सचिव लिलामणि पौडेललाई सम्बोधन गरेर खुलापत्रको रूपमा लेखेको थिए । लेखेर सकेपछि कतै पठाउन सकिन । आचरणका कुरा उठ्लान् कि भन्ने डर लाग्यो । कतै सरकारको आलोचना होला कि भन्ने डर र एउटा नाथे अधिकृतले मुख्य सचिवलाई खुला पत्र लेख्ने धृष्टता गर्ने भनेर स्पष्टीकरण दिनु पर्ला कि भन्ने डर !

यस्ता डरको थुप्रोले कम्प्युटरको एउटा फोल्डरमा ‘ओपन लेटर द चिफ सेक्रेटरी’ नामको फाइल दुई वर्षसम्म चुपचाप बसिरह्यो । सामाजिक संस्कार अनुसार होली खेल्न नमिल्ने भएकाले बिदाको दिन कम्प्युटरका पुराना फोल्डर खोल्दै जाँदा फाइल भेटियो र त्यसैलाई अद्यावधिक गरियो । पाठकका लागि जतिसुकै नराम्रो किन नहोस् लेखकका लागि आफ्नो सिर्जना निकै प्यारो हुन्छ, अझ म जस्ता सिकारुका लागि त बढी नै पनि होला । त्यतिखेर लागेको डर यतिखेर पनि छ, तर यतिखेर यसलाई पाठकसमक्ष पुर्‍याउने आँट गरेको छु । कतै आचरण विपरीतै हुन पुगेछ भने एक पटक त माफ पनि पाइएला नि ।

प्रशासन डट कममा गत साता प्रकाशित पशु सेवा विभागमा सरकारी गाडी कुहेको खबरले मलाई यो आलेखलाई बाहिर ल्याउने बल दिएको छ । सन्दर्भ जे होस, मैले यहाँ उठान गर्न खोजेको विषय सार्वजनितक प्रशासन र त्यसका सदस्यको रूपमा रहेका हामी कर्मचारीले सुधार्नु पर्ने केही हाम्रा आचरणका कुरा गर्दैछु । कतै नकारात्मकता धेरै पनि हुन सक्छ, कतै मर्यादा उल्लङ्घन पनि भएको हुन सक्छ, तर म मेरो अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरेको छु भन्छु र यसबाट मैले कुनै राज्य विरोधी गतिविधि गरेको छैन, नागरिक मर्यादा भित्रै छु भन्ने जिकिर लिन्छु ।

म यो आलेखमा सरकारी यातायातका साधनको मात्र कुरा गर्छु । जुन मेरो १५ वर्षको जागिरे अवधिमा देखेँ र अनुभव गरे । मैले सरकारी निकायहरूका सवारी साधन तिनीहरूको अव्यवहारिक प्रयोग, त्यसका समग्र पक्ष र उक्त अव्यवहारिक प्रयोगलाई सदुपयोग गर्न सकिने केही उपायको सन्दर्भलाई उल्लेख गर्ने प्रयास गरेको छु, यस आलेखमा ।

माइक्रोसफ्टदेखि बाहुनडाडासम्म पुस्तकका लेखक जोन उडको अर्को पुस्तक साक्षर संसारतिर पढ्दै गर्दा उनको स्रोत सङ्कलन गर्ने विभिन्न व्यवहारिक र उदाहरणीय विधिहरूबाट मेरो मानसपटलमा उत्पन्न भएका भावहरू यस आलेखमा समेटेको छु । मैले साक्षर संसारतिर पुस्तक प्रायः गरी कार्यालय जाने र आउने समयमा गाडीमा बसेर पढे । उक्त पुस्तकमा उनले नेपालका दुर्गम ठाउँमा पुस्तकालय स्थापना गर्न कसरी रकम सङ्कलन गरे भन्ने प्रशस्त उदाहरण र उपाय दिएका छन् । उनका त्यस्ता विषय पढ्दै जाँदा, सरकारी गाडी, तिनको प्रयोग र समग्र व्यवस्थापनप्रति मेरो ध्यान केन्द्रित भयो । गाडी कुहिने विषयका सन्दर्भ तल उल्लेख गरेको छु ।

एउटा उदाहरण हेरौँ, सानोठिमीबाट हरेक दिन ६ ओटा गाडी (तत्कालीन शिक्षा विभाग, राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्का २/२ ओटा) ३० सिट भएका बसहरू हरेक दिन कलङ्कीसम्म कर्मचारी लिन र छोड्न जाने आउने गर्छन् । तीस सिट क्षमता भएका ६ ओटा बसको साटो ६० सिट क्षमताका २ ओटा मात्र बस चलाउँदा वर्षभरिमा बचत हुने इन्धन, लुब्रिकेन्टस र मर्मत खर्चले वर्षमा कति र पाँच वर्षमा कति बचत हुन्छ होला ? यसै गरी ती ६ वटा बसहरू बिहान सानोठिमीबाट कलङ्की आउने र कर्मचारी लिएर जाने, अनि साँझ कर्मचारी छाड्न आउने र फर्केर फेरी सानोठिमीमै जाने गर्छन्, यसो गर्दा दिनमा ६ ओटा गाडी २ पटक बाटोमा रित्तै कुद्छन् । यसको साटो ६ ओटै बसलाई कलङ्कीमा पार्किङ गर्ने व्यवस्था मिलाउन सकेमा त्यसबाट बच्ने इन्धनले वर्षमा के के गर्न सकिन्छ होला खै ? कम्तीमा थप १०० विद्यालयमा पुस्तकालय स्थापना गर्न सकिन्छ । देशका थुप्रै सामुदायिक विद्यालयमा पुस्तकालय छैन । शैक्षिक सामग्रीको अभाव छ, पर्याप्त भौतिक सुविधा छैन, शिक्षक अभावको समस्या धेरैमा छन् । न्यूनतम सक्षमता पूरा गरेका विद्यालय नै करिब ७ प्रतिशत मात्र छन् । यो मैले उदाहरण मात्र लिएको हो । सहरमा धेरै छन् यस्ता कथा र धेरै छन् यस्ता विभाग (कृषि, सिँचाइ, पशु, भूमि, मानवअधिकार आयोग) जसले २ पटक बाटोमा रित्तै कुदाउँछन् । यस्तै गरी अन्य थुप्रै सरकारी विभागका सरकारी गाडीहरू यसरी नै सडकमा दुई पटक कुद्ने गरेको देखिन्छ । आखिर हामीलाई के को अभाव छ र सडकमा सरकारी गाडी दुई पटक रित्तै नकुदाउन ?

म सातदोबाटोबाट दुइ किलोमीटर भित्र हरसिद्धमा बस्छु । कार्यालय जान बाटोमा हिँड्दै गर्दा दुइ/तीन वटा सरकारी गाडी मेरो कोठातिर आएको भेट्छु । केही महिना पहिले बाटोको छेउमा हाकिम कुरेर बसिरहेका एक चालकलाई सोधे कुन अफिसको गाडी हो र कहाँबाट आउँछ भनेर । चालकका अनुसार बुढानीलकण्ठमा अवस्थित एउटा सरकारी कार्यालयको गाडी, हात्तिवनमा बस्ने एक सहसचिवलाई लिन हरेक दिन २० किमी दुरी ४ पटक पार गर्दछ, बिहान लिन, र साँझ छोड्न । रातीको पार्किङ बुढानीलकण्ठमै हुन्छ । कुनै दिन त बिहान १० बजे बुढानीलकण्ठ पुगेर ११ बजे सिंहदरवार मन्त्रालय आउने र फेरी फर्केर बुढानीलकण्ठ पुग्ने काम पनि हुन्छ । आखिर हाकिमको गाडी हो, हाकिम जहाँ जान्छन् त्यहाँ त जानै परो ।

कुनै पनि सरकारी पदाधिकारीले गाडी सुविधा प्राप्त गर्छ भने उसले साँझ आफ्नै घरमा पार्किङ गर्ने व्यवस्था मात्र मिलाउने हो भने कति इन्धन बचत होला ? यसरी सरकारी कर्मचारीलाई बिहान घरमा लिने र साँझ छाड्ने प्रयोजनका लागि कति सरकारी गाडी गुड्छन् होला उपत्यकाका सडकमा ? कसले हिसाब राखेको होला र ? त्यसबाट कति इन्धन बचत होला ? यो त झनै उल्लु प्रश्न पो होला ? बुढानीलकण्ठदेखि हात्तिबनको यो एउटा उदाहरण मात्र हो, सहरभरि धेरै छन् यस्ता कथा । बिहान हाकिमलाई लिन र साँझ छोड्न जाने अनि फर्किएर पार्किङकै लागि मात्र कार्यालयमा पुर्‍याउने । बिहान र साँझको ट्राफिक जामका लागि यस्ता त के कारण होलान् र ? सहरको प्रदूषणमा यिनले के प्रभाव पार्लान् र ? यस्ता काम नलाग्ने विषयमा सोच्ने फुर्सद कसलाई छ र यहाँ ? विकास, व्यवस्था र समृद्धि पो चाहिएको छ त ?

विभिन्न सरकारी कार्यालयको हाताभित्र हजारौँ गाडीहरू थोत्रिएर बसेका छन् । चालू हालतमै भएका गाडीहरू पनि नयाँ गाडी आएपछि थन्काएर राखिन्छ र दिन प्रतिदिन घाम पानीबाट खियै खिया बनाएर थोत्रा बनाइन्छ । प्रशासन डट कमले एउटा विभागको उदाहरण प्रस्तुत गर्‍यो यस्ता गाडी कुहेका कथा त कति छन् कति सरकारी कार्यालयमा । थोत्रा गाडी नबसेको सरकारी कार्यालय भेट्नु निकै कठिन छ । सरकारी सम्पातिको संरक्षण नगर्नू पनि त त्यसको दुरुपयोग सरह नै होइन र ? त्यसैगरी सरकारी गाडीहरूमा प्रयोग हुने लुब्रिकेन्टस, इन्धन, टायर र मर्मत गर्ने कार्यका लागि निजी क्षेत्रबाट प्रतिस्पर्धा गराउने गरेको देखिँदैन । यस्तो कार्यका लागि विभिन्न निजी फर्महरूलाई सूचीकृत गरेर प्रतिस्पर्धात्मक ढङ्गबाट सेवा खरिद गर्ने (उपत्यका तथा ठुला सहरमा) कार्य मात्र गर्न सक्ने हो भने त्यसबाट पनि लाखौँ रुपियाँ बचत गर्न सकिन्छ होला । यस्ता काइते कुरा पढ्दा तपाईँलाई लागेको होला यस्तै बुद्धिले गर्दा त घोक सेवामा पाना भर्न सफल नभएको रहेछ, यो मान्छे त ।

विभिन्न कार्यालय बिचको कमजोर समन्वय र माथिल्लो तहका पदाधिकारीले तल्लो तहका कर्मचारीलाई आफ्नो गाडीमा राखेर यात्रा गर्न नचाहने प्रवृत्तिका कथा त अनगिन्ती छन् । अफिसबाट घर जाँदा होस वा घरबाट अफिस जाँदा गाडीमा एक्लै ढल्किँदै हिँड्ने गरेका हाकिम साहेबको गाडीमा सार्वजनिक बिदा र शनिवारका दिनमा कति जना कोचिएका हुन्छन्, बाटामा फुर्सदमा हेर्दा हुन्छ । तीन वर्ष पहिलेको कुरा मेरो एक जना साथी कीर्तिपुर बस्नुहुन्थ्यो । वहाँ बस्ने घरनजिक सिंहदरवारमै काम गर्ने एक मध्यम खालका हाकिम साहेब पनि बस्नुहुन्थ्यो रे । शक्तिशाली मन्त्रालयका हाकिम साहेबलाई गाडी सुविधा रहेछ, त्यही पदका सबैले गाडी पाउँदैनन् । सरकारी पोसाकमा बाटोमा सार्वजनिक यातायात कुरेर बस्दा हरेक दिन सरकारी गाडी वहाँकै अगाडीबाट जाने गरेको देखेपछि, एक दिन गाडी चालकसँग आफू पनि सँगै जान चाहेको बताउनु भएछ । चालकले हाकिमलाई सोधेर भन्छु है भनेछन् । अर्को दिन चालकले आफूलाई हाकिमले गाली गरेको भनेर भनेपछि चालकसँग माफ गर्नुहोला भनेको प्रसङ्ग सुनाउनु भएको थियो कुनै बेला ।

संभवत: ती हाकिम पनि (भोलि अझ ठुलो भएनन् र मालदार अड्डा पुगेनन् भने) सेवा निवृत्त भएपछि त्यही किर्तिपुर चोकमै सार्वजनिक गाडीमा रुझेको बिरालो जस्तै गाडी चढ्नेछन् । यो धेरै हदसम्म सत्य हुनेछ किनकि थुप्रै हाकिमहरू जागिर सकिएको अर्को दिन बाटोमा कसरी गाडी कुर्छन् भन्ने धेरैले अनुभव गरेको विषय हो । चार वर्ष अगाडीको एउटा प्रसङ्ग मैले धेरै जनालाई सुनाउने गरेको छु । जिल्लामा स्थानीय विकास अधिकारी भएर हाम्रो नमस्कार समेत फर्काउन नभ्याउने र भूइमा टेक्न नजानेका एक जना हाकिम साहेब तत्कालीन शान्ति मन्त्रालयमा सरुवा भएपछि प्रर्दशनीमार्गमा लुखुर लुखुर हिँडेको देख्दा मैले पनि उनलाई नचिनेरै नमस्कार गरिन ।

कुरा करिब पाँच वर्ष अगाडिको पनि हो र केही महिना अगाडिको पनि हो, म आफैले देखेको एउटा दृश्य अनुसार सिंहदरवारबाट करिब १० किमी दुरीमा रहेको एउटा सरकारी कार्यालयबाट २ जना पदाधिकारी सिंहदरवार (मन्त्रालय) जानु पर्ने भयो । वहाँहरू जाने एउटै बैठकमा, एउटै मन्त्रालयमा तर २ वटा अलग अलग गाडीमा । यसमै त छ, हाकिम हुनुको र गाडी चढ्नुको मजा ! अनि दुवै जना फर्किएर फेरी आफ्नै कार्यालयमा आइपुग्नु भयो । यी केही प्रतिनिधि उदाहरणहरू मात्र हुन यस्ता थुप्रै दृश्य देख्न र भेट्न सकिन्छ हाम्रा सरकारी कार्यालय र सरकारी सवारी साधनमा । हाकिम साहेबहरू नरिसाउनु होला । हजुरहरु सबै यस्तै होइन होला तर मैले देखेका, भेटेका धेरै यस्तै र थोरै मात्र अलिकति फरक हुनुहुन्छ ।

खोजी गर्ने हो भने, यस्ता कथा कति छन् कति । कसैलाई साच्चिकै केही गरौँ भन्ने हो भने अभाव त के पो होला र ? मितव्ययतीका विषय त हाकिम साहेबहरुको भाषणमा सुन्ने र हाकिम साहेबहरुले घोक सेवा आयोगमा घोक्नु भएकै हो, व्यवहारमा त किन चाहियो र ? एक दिनको गोष्ठी धनगढी, विराटनगरमा गर्ने अनि काठमाण्डौबाट सके मन्त्री नभए सचिव र सहसचिवको मेला लगाउने उद्‌घाटन र समापनमा । हाम्रा यस्तै प्रवृत्ति त जिम्मेवार छन् जनताका अगाडि आफूलाई इमानदार छु भन्न नसक्ने ।

यस्ता विषयमा कसलाई सोच्ने फुर्सद होला र ? हामीजस्तै हाकिमहरू गाडी चढेको रिस गर्नेले मात्र देख्ने हो । सरकारी गाडी नकुहिएको सरकारी अड्डा भेटिए त अचम्मै होला । सरकारी गाडीका कथा त हजारौँ होलान् । तर एउटा मात्र वास्तविकता थप्न चाहन्छु । मैले सानैदेखि चिनेका छिमेकी ठूलाबडा एउटा विभागीय कार्यालयको प्रमुख हुनुभएको थियो । मैले जाने अनुसार राम्रै गाडी थियो वहाँको । एक दुई पटक म पनि चढ्ने मौका पाएको थिए । जिल्ला गएर फर्कँदा बाटोमा बिग्रियो । ट्रकमा हालेर काठमाडौँ ल्याइयो । ग्यारेज लगियो । खर्चको मोटामोटी हिसाब निस्कियो चार लाख (व्यक्तिगत भए तीन लाख रे) । मन्त्रालयमा कुरा भएछ । पुरानो मर्मत गर्न भन्दा नयाँ किन्ने प्रक्रिया सजिलो हुने भएकाले उक्त गाडी तीन वर्षदेखि ग्यारेजमा छ । बिस्तारै कुहिँदै छ । ठूलाबाले नयाँ गाडी लिनुभयो । मैले नयाँ गाडी देखेर सोध्दा वहाँले नै मलाई भन्नुभएको कुरा थियो हो यो । यसभित्रका अरू कथा मलाई थाहा छैन ।

सरकारी गाडी चढ्न कारिन्दा भएर हुँदैन, हाकिम हुनै पर्छ । हाकिमको गाडी अड्डाको होइन, त्यो अधिकांश त हाकिमकै हो । हुन त यो संस्कार पनि होला । अहिलेका हाकिमहरूले पहिलाका हाकिमबाट सिक्नु भएको । हाम्रो संस्कृति नै बनेको छ, गाडी कार्यालयको होइन हाकिमको भन्ने । । प्रशासन डट कमलाई पनि किन खस खस भएको होला ? आखिर कुहिए त सरकारी गाडी कुहिए, कसैको निजी गाडी कुहिएको होइन । सरकारी गाडी हो । आखिर गाडी कुहिएर के भो ? फोहोर जस्तो कसैलाई गन्हाएको त छैन ।

हाकिम साबहरुलाई लागेको होला, आफू पनि घोक सेवा पास गरेर हाकिम भएर गाडी चढे भइहाल्यो, हाम्रो किन रिस गरेको ? पारदर्शिता, जवाफदेहिता र मितव्ययतीका ठुला सिद्धान्त घोकेर, ‌कापीमा ओकल्न नसकेरै घोक सेवा पास गर्न सकेको छैन हजुर मैले र सारै मोह पनि छैन हाकिम हुने । साच्‍ची मलाई अचेल हाकिमको भन्दा बाटामा हिँड्ने मान्छेको डर लाग्छ हजुर, कसैले बाटामा घुस्याहा आयो र गयो भन्छ कि भन्ने ! बफादार बन्न लगाउनै पर्ने सेतो सर्ट र निलो पाइन्ट लगाएर हिँड्न पनि डर लाग्छ अचेल, कसैले भ्रष्टाचारी आयो वा गयो भनेको सुन्नु पर्छ कि भन्ने !

Tags :
प्रतिक्रिया दिनुहोस