फेक आइडी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

फेक आइडी


प्रशासन विशेष ब्युरो

९ चैत्र २०७५, शनिबार


जेठको महिना हो क्यारे ! ठ्याक्कै मिति भने याद भएन । जेठको गर्मी छल्न बडो मुस्किल हुने नेपालगन्जमा । काठमाडौंमा घरबेटी सबभन्दा माथि र भाडावाल भने तल बस्थे । सुन्छु, भूकम्प पछि फेरिएको छ रे ! नेपालगन्जमा भने पहिलेदेखि नै फरक थियो । माथि भाडावाल तल घरबेटी । जहाँ जोखिम कम र अनुकूल हुन्छ त्यहीँ बस्ने न हो घर मालिक । यस्तै–यस्तै कुरा मनमा खेलाउँदै माथिल्लो तलाको कौसीमा बसेको थिएँ । बेलुकीपख पूर्वतिरबाट बहने शीतल प्राणवायुसँग झुम्दै थिएँ ।

क्याम्पस पढ्दै गर्दा घरबाट पठाएको पैसाले मोबाइल सेट किनेको थिएँ । कुनै जमानाको ‘त्रिपन्न एकतिस’ नोकिया सेट । ब्राण्डेड म्यासेज टोन बज्यो ट्टयुट्टयु …..। मलाई लाग्यो एनसिएल मलाई रिचार्जको नशा चढाउन खोज्दै छ । मैले फेरि सोचेँ यो पुँजीवादको दुनियाँमा हरेकले गरिबलाई जिस्क्याउछन यार ! गरिबको रिसको पारो चढाउँछन् । रिसाएको गरिबले गरेको उपभोगले पूँजीपतिहरू विलासी जीवन बिताउँछन् । शारुखान कहिल्यै कोकाकोला पिउँदैनन् । तर गरिबलाई उत्तेजित बनाउन कोक पिएको बहानामा विज्ञापन गर्छन् । त्यस्तै होला जस्तो लाग्यो । म्यासेजतिर खासै ध्यान दिइनँ । सायद सेन्टरलाई रिस उठेछ क्यारे ! छुस्स मिस होस् भनेर गरेको मिस् ड कल आयो । “गरिबीले समयमै फोनमा रिचार्ज गर्न नसकेको बेला कसले झन् चरम गरिबी देखाउन थाल्यो ?” मनमनै भने । फेरि सोचे यो एनसिएल जस्तो पूँजीपति त पक्कै होइन होला । मलाई उक्साएर कतै फाइदा लिन खोजेको त होइन ? को रहेछ जाबो मिस् ड कल गर्दा पनि पुरा घण्टी पठाउन नसक्ने ? गोपनीयता मिलाइएको कि प्याड अन लक गरेँ । म्यासेजको इनबक्स खोल्दा लेखिएको थियो …

होयर आर यु सर ? डोन्ट माइन्ड, आर यु म्यारिड अर नट ?
यो वाक्य दुई पटक पढे । एक त म अङ्ग्रेजीमा कमजोर त्यसैमा झन् अपरिचित नम्बरको म्यासेज ।

एक जवान युवक हुनुले पनि सोचे कुनै युवतीको त होइन !

क्याम्पस पढ्दा साथीहरू खुब दुःख दिन्थे । आफ्नै नम्बर साथीको मोबाइलमा केटीको नाममा सेभ गर्थे । पटक–पटक मिस्कल गरेर नसताएका होइनन् । तिनै साथी मध्येको कोही हो कि जस्तो पनि लाग्यो ? नम्बर हेरेँ त्यसअघि कसैले फोन गरे जस्तो लागेन । रिप्लाई लेखु या नलेखु एक छिन सोचे अन्ततः लेखे ।

‘एस, आइ एम म्यारिड । आई ह्याभ वान चाइल्ड । हु आर यु ?’

रिप्लाईमा उत्तर आएन बरु प्रतिप्रश्न आयो । ‘हाउ वल्ड आर यु ?’

मैले फेरी सोचे पक्कै कोही मेरो भेजा फ्राई गर्न चाहन्छ ।
त्यसैले मैले रिप्लाईमा लेखे, ‘आइम सिस्टिन यिएर्स वल्ड ।’

फेरि उताबाट आयो रोमनमा लेखिएको, ‘हा…हा..हा..हा.. हेर्दा त त्यस्तो लाग्दैन त ?’

अबचाहिँ यो मान्छे मलाई उडाएर खसाल्दै छ जस्तै लाग्यो । मैले ‘एकाउन्न एकतिस’को किप्याडलाई हिन्दी मोडमा लिएर नेपालीमा लेखेँ । माफ गर्नुहोला, मलाई यस्तो ननसेन्स कुरा गर्ने फुर्सद छैन ।

फेरि उताबाट नेपालीमा नै आयो ठिक छ, ‘आफू त फाल्टु मेन परियो । त्यसैले समय पनि प्रशस्त छ ।

एनिवेय म मेन नभएर विमान हो । ओके, गुड नाइट । ह्याभ अ नाइस ड्रिम ।’

मैले क्याम्पस पढ्दा भर्खर नेपालमा मोबाइल फोन सुरु भएको थियो । नेपाल टेलिकमको मोबाइल सेवामा सबैको सहज पहुँच थिएन । मोबाइल सिम लिन कम्ती जुलुम थिएन ! सिम पाइहाले पनि मोबाइल किन्नु अर्को कठिन काम थियो । जे होस ठूलै पहुँचवालालाई मात्र त्यो सिम उपलब्ध हुन्थ्यो । पहुँच नहुनेको लागि सहयोगी बनेको थियो तत्कालीन मेरो मोबाइलको सिम । निम्न माध्यमिक तहको विद्यालयमा पढाउने शिक्षक हुनुहुन्थ्यो बा । छोरालाई मोबाइल किनिदिए छोरो केटीतिर लाग्छ । यसले बिग्रन्छ भन्ने सोझो सोच थियो मेरो बुवाको । सायद बुबालाई मोबाइलले कोही बिग्रेको उदाहरण पनि थाह थियो होला । बाहरू यस्तै हुन्छन् । उदाहरण अनुसार काम गर्छन् । उहाँको सिधा जवाफ थियो, ‘हामीले सम्पर्क गर्नलाई घरबेटीको फोन छदैछ । किन चाहियो मोबाइल ?’ तर आमाहरूलाई भने कहिल्यै उदाहरण नचाहिने । छोराछोरी खुसी भए पुग्ने । मेरो मागमा आमाको नैतिक समर्थन थियो । तर बाले माग पूरा गर्ने छाँट काँट थिएन । सायद आमालाई छोराको माग पूरा गर्नुपर्ने लाग्यो होला । दसैँ र तिहारको बिदापछि काठमाडौँ हिँड्नुपर्ने भयो । आमा बस चढाउन जानु भयो । म बस चढ्दै गर्दा आमाले भन्नुभयो, ‘पख बाबु ।’ हत्तपत्त मैलो धोतीको फेरमा पारेको गाँठो फुकाउनु भयो । डल्लो पारेर राखेको दुई हजार दिँदै भन्नुभयो, ‘यसैले मोबाइल किन्नु ।’

आमाको पैसा कमाउने जागिर थिएन । कहाँबाट आयो होला भन्ने सोच्दै थिएं । यसो नोट हेरेँ रातो रङ लागेको थियो । सोचे यो पक्कै आमा दसैँमा मामा घर जाँदा मामाले दिएको हुनुपर्छ । त्यही पैसाले मोटोरोला कम्पनीको ब्ल्याक इन ह्वाइट मोबाइल पहिलो पटक किनेको थिए । मोबाइलमा कल रिङ्गटोन रातभरि सुनेको याद अहिले पनि ताजा छ । त्यति बेला मिस्डकल चलन बहुत चल्तीमा थियो । गाउँतिर त ‘जमाना मिसकलको’ भन्ने थेगो नै चलेको थियो । कसैलाई याद गरेको सूचना स्वरूप प्रयोग हुन्थ्यो मिसकल ।

गर्मीले पगाल्दै थियो । म पसिनाले निथ्रुक्क भिज्दै सुतेँ । म्यासेज गर्ने को होला जस्तो लाग्यो । एक नौजवान हुनाले त्यो पक्कै केटी मान्छे नै हुनुपर्छ भन्ने कुराको आँकलन गरेँ । फोन गरुकी  जस्तो पनि नलागेको होइन । तर पहिले आफूले नै ठूलो पारा देखाइ हालियो । ‘यस्तो ननसेन्स कुरा गर्ने समय मसँग छैन’ भनेर । खोक्रो आदर्शवादी जवाफले मलाई फोन पुनः डाइल गर्ने आँट आएन । त्यसैमा रिचार्ज सकिन लागेको सङ्केत अघि सर्‍यो एनसेलको मधुर स्वरमा बोल्ने नानीले फोन डाइल गर्नुअघि मेरो गरिबीलाई जिस्क्याएर बोल्न थाल्थिन् । उनी पटक–पटक भन्थिन, ‘कृपया तपाइसँग पर्याप्त ब्यालेन्स छैन । रिचार्ज गर्नुहोस् ।’

यस्तै सोच र बाध्यताकाबीच निदाए छु । मेरो ‘एकाउन्न एकतिस’ नोकिया सेट म सँगै सुत्थ्यो । म सँगै उठ्थ्यो । कहिलेकाहीँ मलाई अर्धनिद्रामा पनि उठाउँथ्यो । बिहान आँखा खोल्न बित्तिकै मोबाइल खोल्ने बानी थियो मेरो । आँखा खोल्न बित्तिकै मोबाइल हेर्ने । इनबक्समा मेसेज थियो । गुड मर्निङ सर । ह्याभ नाइस डे ।

अब भने मलाई यो मान्छे पक्कै जवानी चढेकी युवती हुनुपर्छ जस्तो लाग्यो । मर्निङ वाक गर्न जाँदा  सयको रिचार्ज कार्ड किने । हतार–हतार रिचार्ज पछि फोन डाइल गरिहालेँ ।

‘हेलो हजुर को बोल्नु भएको ?’ पुरै चाकडी मिसिएको जस्तो लाग्ने शिष्ट भाषामा उताबाट आवाज आयो उस्तै लवजमा ‘हजुर यसो गेस गर्नु न ?’ सरी मैले चिन्न सकिन । हा……हा…….हा…… नेपाल सरकारको अफिसर के हामी जस्तोलाई चिन्नुहुन्थ्यो ? भन्नू न प्लिज ? म हिजो तपाईँको अफिसमा आएकी थिएँ । गेस गर्नु न !

जिल्ला प्रशासन कार्यालय बाँकेको नागरिकता शाखामा थियो मेरो जागिर । उस्तै परे दुई सय जनासम्मको नागरिकतामा हस्ताक्षर गर्नुपथ्र्यो एक दिनमा । कहाँ सबैलाई चिन्न सकिन्थ्यो । त्यसैले मैले भने, अलि गाह्रो पर्‍यो हजुर । फेरि उस्तै हासो हा..हा..हा… । ‘म मेरो बहिनीलाई लिएर आएको थिए नि ! सम्झिनु भयो ?’ ‘ए ! ए ! सम्झेँ । म्याम चिनेँ । के छ हालचाल ?’ ‘ठिक छ सर बाँचिएको छ ।’ उसले जवाफ फर्काइ । ‘बाँच्नु त ठूलो कुरा हो नि म्याम । यहाँ हरेक दिन सयौँ मान्छे मरिरहेछन् । यहाँ बाँच्नु नै सबैभन्दा ठूलो उपलब्धि हो ।’ मैले हाँसेर जवाफ दिएँ । उसले भनी, ‘त्यो पनि हो सर । ओके ! सरी सरलाई मैले डिस्टर्ब गरेँ ।’ ‘केही छैन म्याम कुरा भयो खुसी लाग्यो ।’ आफूलाई साह्रै सभ्य भएको साबित गर्न खोजेँ । ‘ओके म्याम । बाइ !’ मैले फोन काटे । हामी छुटियौँ ।

शाखा अधिकृतमा सिफारिस भएपछि मेरो पहिलो पद स्थापना जिल्ला प्रशासन कार्यालयको नागरिकता शाखा बाँकेमा भयो । तराईको जिल्ला त्यसैमा नयाँ कर्मचारी झनै नागरिकता शाखाको जिम्मेवारी । काम गर्न मेरो लागि साह्रै चुनौतीपूर्ण थियो । प्रशासकीय अधिकृत भएकोले मेरो हरेक दिन कामको चाप हुन्थ्यो । प्रक्रिया पूरा गरी आएका व्यक्तिको नेपाली नागरिकता जारी गर्नु । नागरिकतामा हस्ताक्षर गर्नुअघि सम्बन्धित व्यक्तिको अनुहार र नागरिकताको फोटो रुजु गर्नुपर्ने । यो नागरिकता जारी गर्ने व्यक्तिको पहिलो कर्तव्य तथा धर्म हो । त्यसैमा झन् तराईको जिल्ला बेलाबेलामा नागरिकता विवाद भइरहने । उनी आफ्नो बहिनीको नागरिकता बनाउन मेरो अफिसमा आएकी थिइन् ।
नाम : सुमिना मल्ल
उमेर : १७ वर्ष
जन्मस्थान : फत्तेपुर बाँके ।

म जागिर गर्नुअघि तराई बसेको थिइनँ । सुरुसुरुमा पान खाएर अवधि भाषा बोलेको बुझ्न गाह्रो थियो मलाई । नेपाली भाषा बोल्ने सेवाग्राही आए म हरेकलाई उनीहरूको थातथलोको बारेमा सोधपुछ गरिहाल्थे । तपाईँको पहिले पहाड घर कता हो कसैले सल्यान भन्यो कि मलाई अलि बढी सोधपुछ गर्न मन लाथ्यो ।

बहिनीको नागरिकता बनाउन आएकी उनलाई मैले अरुलाईजस्तै सोधपुछ गरेको थिए । ‘पहिले पहाड घर कता ?’ ‘मेरो बुबा यतै जन्मेको रे हजुरबुबाले सल्यानतिर हो भन्नु हुन्थ्यो ।’ उनले नम्रतापूर्वक भावना बताइन् । ‘ए …ए…’ भन्दै मैले बहिनीको मुहार हेरेर हस्ताक्षर गर्नुपर्नेमा दिदीकै अनुहार हेरेर हस्ताक्षर ठोकी दिएँ । गोरो अनुहारमा कालो कुर्ता सुरवालमा थिइन् । उनको सुन्दरता बहुत खुबसुरत थियो ।

मैले सोचेँ यिनको भाग्यमानी श्रीमान् को होला ? गज्जबको छ हाम्रो संस्कृति । एउटा महिला विवाहित हो वा होइन भन्ने कुरा एउटा रातो टीकाले जानकारी दिन्छ । तर पुरुष थाह पाउन उसको घरमा पुग्नु पर्छ । त्यसैले कति महिला कान्छी बनेर जानुपर्ने कहिले रहर कहिले बाध्यता बन्छ । उनको निधारमा रातो टीका थियो । बहिनीको नागरिकता बनाएर जानु पहिले मलाई भनिन, ‘सर र हाम्रो पुर्ख्यौली एकैतिर रहेछ । ‘कहिले काम लाग्छ सरको मोबाइल नम्बर दिन मिल्छ ?’ महिला मैत्री पाराले मैले भने ‘किन नमिल्ने म्याम !’ पुरै नम्बर उनले सही टिपे नटिपेको यकिन हुने गरेर दोहर्‍याँए । प्रायः कर्मचारी सामान्य सेवाग्राही जोबाट केही व्यक्तिगत फाइदा हुँदैन तिनीहरूलाई नम्बर दिन चाहँदैनन् । तर कुरा यहाँ अर्कै भइदियो ।

साथीहरू बेलाबेलामा रमाइलो गफ गर्थे कोही भन्थे किसानको जुत्ता, व्यापारी को कपडा र कर्मचारीको श्रीमती प्रयोग नगरे नै पुराना हुन्छन् । कोही भन्थे यसो अस्थायी पर्मानेन्ट बनाउनु पर्छ यार सर । यसो बेला मौकामा मन तन फेर्न मिल्छ । अड्को पट्को तेलको धूप भने झै काम चलाउनुपर्छ । त्यो सबैभन्दा उत्तम हुन्छ । त्यस्ता अस्थायी पर्मानेन्ट आवश्यकता परे प्रयोग गर्न मिल्ने । तर जिन्दगी आफ्नो आफ्नो बनाउन नपर्ने । साथीहरूको कुरा सुन्दा मलाई पनि कहिलेकाहीँ त्यस्तै कोही बनाउँझैं नलागेको होइन ।

शाखा अधिकृतको सेवा प्रवेश तालिममा प्रशिक्षण प्रतिष्ठानमा तालिम दिने सचिव, सह–सचिव सबैले नैतिकता, आचारसंहिता ,सुशासन , जवाफदेहीता, पारदर्शिता जस्ता सेसनमा जोडका साथ कुरा उठाउँथे । दिमागमा भरिएका ती ह्याङओभरले कहिलेकाहीँ आउने ती सोच पानीको फोका जस्तै हुन्थे । मलाई हिजोआज लाग्छ तालिमको सहजीकरण गर्ने सचिव, सह–सचिवज्यूहरू सायद यस्ता कुरामा अनुभवी थिए । जीवनको कालखण्डमा ती व्यवहार अपनाउने गरेकोले अनुभवी भएर भनेको जस्तो लाग्छ । जसरी क्यान्सर रोगी धूम्रपान मद्यपानका कारणले अस्पतालको बेडमा थलिएको बेला चुरोट रक्सी नखानु भनेर उपदेश दिए जस्तो । उहाँहरूले पनि त्यही नीति अवलम्बन गरे जस्तो लाग्छ । किनकि अनुभव नै सबैभन्दा ठूलो सिकाइ हो ।

मोबाइल म्यासेजको दोस्रो दिनबाट प्रायः उनी बिहान र बेलुका एउटा एउटा म्यासेज कम्तीमा पठाउँथिन् । तर ती सधैँ एकै प्रकारका हुन्थेन । कुनै प्रेमिल हुन्थ्यो कुनै समसामयिक पनि । कहिले राज्यको विरुद्धमा हुन्थे त कहिले राज्यको सपोर्टमा हुन्थे ।

‘सर प्रेम के हो ?’

म आफ्नै धुनमा थिए । मोबाइलमा म्यासेज आयो । यो प्रश्न सजिलो थियो । तर उत्तर भने गाह्रो । तर मैले कतै रसियन लेखक एन्टेना चेकोभको एउटा भनाइ पढेको थिए । “लभ इज सोर्स अफ डिसस्याटिसफ्यकसन एण्ड इरिटेसन अफ लाइफ ।” मैले यही लेखेर पठाइदिएँ । सायद यो नै सत्य हो हैन थाह छैन । उनीले लेखिन क्या वात सर ! यु आर ग्रेट ।

हाम्रो हरेक दिन हुने दुई म्यासेज बाट चार हुन थाल्यो । तर विषय उस्तै हुन्थे । कहिले राष्ट्रप्रेम कहिले जीवनप्रेम । कहिले उनी लेख्थिन् ‘सर ! तपाईँ जस्तो मान्छे बन्न मन छ । जसले व्यक्तिलाई यो देशको नागरिक बनाउने वा नबनाउने हैसियत राख्छ । महिला मैत्री भाषामा म जवाफ लेख्थे ‘भइहाल्नु हुन्छ नि म्याम ! के गाह्रो छ ? मैले गर्ने सहयोग गर्न म तयार छु ।’

एक दिन म अनिल कपुरको हिरो फिल्म हेर्दै थिएँ । म्यासेज आयो । ‘सरको राजनीति बारे के छ धारणा ?’ जवाफ लेखे अरू देशको मलाई थाह छैन तर नेपालको लागि यो नाटक हो । नेपाली जनता नाटक मन पराउँछन् र नेताले देखाउने नाटकको टिकट काटिरहन्छन् ।

फेरि सदाबहार रिप्लाई आयो क्या वात !

शाखा अधिकृतको नियुक्तिको छ महिनापछि मैले मेरो जीवन सङ्गिनी नियुक्ति गरेको थिएँ । उनी मेरो गाउँकै हेल्थ पोस्टमा अनमी पदमा कार्यरत थिइन् । जागिरको दौरानमा हामी सँगै बस्ने अवसर अलि कम नै मिल्थ्यो । प्रायः जागिरेको यो साझा समस्या हो । २५ वर्षको म २४ वर्षकी उनी । सायद यो उमेरमा श्रीमान् श्रीमती सँगै बस्न नपाउँदा यो जीवन खै ! के जीवन भन्ने लाग्यो । मन विक्षिप्त र क्रुद्ध बन्थ्यो । पूर्वजन्ममा सानोतिनो यौनजन्य कुनै अपराध गरेकोले यो सजाय दिइएको जस्तो भान हुन्थ्यो मलाई । तन जोड्न नपाउनेलाई मन जोड्न सहज बनाएको थियो नेपाल टेलिकमले । यौन मिश्रित भावमा प्रेम मिसाएर हरेक दिन करिब ३० मिनेट मेरी उनीसँग कुरा गर्थे । मैले छिलिएर यौन भावको कुरा गर्दै थिए । सायद त्यहीबिचमा एक म्यासेज आएको रहेछ ।

‘सर यौन के हो ?’

मैले लेखिदिए, ‘अल्टिमेट एक्सप्रेस अफ लभ ।’

उताबाट आयो

‘सेवर सर ?’

मलाई त्यस्तै लाग्छ म्याम ।

यो चाहिँ मलाई चित्त बुझेन

किन ? उनको जवाफमा मैले प्रश्न गरेँ ।

जवाफ आयो, ‘यदि तपाईँले भनेको ठिक हुन्थ्यो त किन सबभन्दा धेरै र ठूलो व्यवसाय यौनको हुन्थ्यो होला र सर !’ म नजवाफ भए र यस पटक मैले लेखेँ, ‘अरे वा क्या वात म्याम !’

हरेक दिन जसो म्यासेजमा गफ हुन थाल्यो । उनीसँगको हाम्रो गफ मेरो लागि नशालु पदार्थ जस्तो हुन थाल्यो । जसको मात्रा पहिले कम अनि बढ्दै गए जस्तै इडिक्ट हुन थाले । म अनि सायद उनी पनि ।

एक दिन ‘सर यो धर्म के हो ?’

मैले जवाफ दिए, ‘यो भ्रम हो ।’

हाम्रो म्यासेजमा गफ निरन्तर चलिरहन्थ्यो । सर खाना भयो ? के छ आजको कार्यक्रम ? आदि म्यासेज उनी नियमित पठाउँथिन् । त्यही क्रममा मैले एक दिन सोधेँ, ‘यस्तो म्यासेज देख्दा सरले केही भन्नुहुन्न ?’ उनको जवाफ थियो, ‘डोन्ट बरी डयर इट्स माई म्याटर ।’

यो डियर भन्ने शब्द मेरो आँखा हुँदै शरीरको सबैतिर ठोकियो । मुटुमा गएर अडिएको जस्तो आभास भयो । अरू सबै उनीसँगका म्यासेज म पठाएको या आएको दुवै पढेँ । अरू पठाए र पढेपछि डिलिट बटनमा गई हाल्थे । तर यो म्यासेज डिलिट गर्न मन लागेन । मोबाइलमा नयाँ फोल्डर बनाएँ । म्यासेज मुभ गरेर सेभ फोल्डरलाई १२१२ को पासवर्डले लक गरिदिएँ । यो देखाउनु पर्ने नैतिकता र गर्ने व्यवहार पनि बडो गज्जब लाग्छ मलाई । व्यवहार जे सुकै होस् मुकुण्डो लगाएर भए पनि आफूलाई चुस्त दुरुस्त देखाउनै पर्ने अजिब लाग्छ यो दुनियाँको । उनले डिएर लेखिसके पछिका म्यासेजहरू अलि परिवर्तित हुँदै थिए । मलाई उनका त्यसपछिका हरेक म्यासेजहरू अलि बढी प्रेमिल लाग्न थाले ।

म पनि हरेक म्यासेजमा डियर जोड्न थालेको थिएँ । एक पटक म दुई दिनको क्या. वि. लिएर घर जाने चाँजो मिलाएँ । गह्रौँ मन बनाएर लेखेँ, ‘डिएर म्याम म केही दिनको लागि घर जाँदै छु ।’ त्यति बेला सम्म मेरो मन दुई तिर बाँडिसकेको जस्तो अनुभूति भयो । किनकि कार्यालयको बिदा लिएर घर जाँदै गरेको । हाकिमसँग बिदाको अनुमति लिनु त ठिकै थियो । तर अचम्म कुनै सेवाग्राहसँग अनुमति लिँदै थिए म । जवाफमा ईर्ष्या मिसिन्छ जस्तो लागेको थियो मलाई । तर जवाफ आयो । ‘ओके डिएर अफिसर साब जाऊ मस्ती लुटेर आऊ ।’

मार्क जुकरवर्गको फेसबुकले आधुनिक जीवनको बजार छपक्क छोपिसकेको थियो । खोइ किन हो ? मैले उनको फेसबुक आइडी र उनले पनि मेरो आइडीबारे खासै चासो राखेका थिएनौँ । हामी अफलाइन म्यासेजले जिन्दगीलाई अनलाइन बनाइरहेका थियौँ । एक दिन मैले लेखे, ‘सरि डियर मेरो आज मोबाइलमा ब्यालेन्स छैन । त्यसैले आज रिप्लाई गर्न असमर्थ छु । एकै छिनमा दुई म्यासेज आए पहिलो थियो चेक योवर ब्यालेन्स । दोस्रो योर एकाउन्ट हाइज विन क्रेडिटेड फर हन्डरेट रुपिज । म छक्क परे रातको ११ बजे कसरी यो सम्भव ! मैले सोधेँ कसरी गर्न मिल्छ यस्तो रिचार्ज । अरू बेला भन्दा फरक रिप्लाई आयो । ‘रा.प. तृतीय श्रेणीको हाकिम साब अलि अपडेट हुनु पर्‍यो । पैसा मात्र धेरै कमाएर हुँदैन ।’ यो मोबाइल बैङ्किङ सेवाबाट हुन्छ । सँगै जोडिएर आयो सरकारी कर्मचारी अपडेट हुँदैनन् भन्थे । हो रहेछ । हा..हा..हा..हा..। त्यति बेला हेपेको जस्तो पनि नलागेको हैन तर मलाई त्यति बेला सम्म यस्तो कुरा थाह थिएन ।

समयले हरेक वस्तुलाई मूल्यहीन बनाउँछ । त्यस्तै भएको थियो मेरो नरोकिएको प्रिय ‘एकाउन्न एकतिस’ मोडल जसरी उत्पादक कम्पनी भएको थियो । त्यति बेला चलेको सामसङको ‘एस फोर’ मोबाइलमा म फेसबुक चलाउँथेँ । फेसबुक पनि मेरो लागि इडिक्ट भइसकेको थियो । एक दिन बिहानै मोबाइलमा फ्रेन्ड रिक्वोस्ट आएको रहेछ ।

नाम : मात्र हजुरको लागि ।

प्रोफाइल पिक्चर : दुई हात जोडेर नमस्कार ।

सामान्यतः प्रोफाइल पिक्चर नभएकोलाई साथीको सूचीमा राख्दैनथेँ । तर सँगै म्यासेज पनि आएको रहेछ । यो मेरो आइडी हो । मैले एसेप्ट गरेँ । अब हाम्रो गफको माध्यम फेरिएको थियो । तर विषय फेरिएको थिएन ।

‘सर मधेस भनेको के हो ?’ अर्को म्यासेज आयो ।

मैले लोक सेवालाई दिने जवाफको तरिकाले लेखेँ । नेपालको दक्षिणतिरको भाग । जहाँ समथर भूमि २० ओटा जिल्ला रहेका छन् । नेपालको करिब २० प्रतिशत भाग तराई अर्थात् मधेसमा पर्छ । त्यहाँ करिब ४५ प्रतिशत नेपालीको बसोबास छ ।

उनले फेरि सोधिन, ‘मधेसी को हुन ?’

मैले सिधै जवाफ दिए, ‘मधेसमा बस्ने सबै मधेसी हुन् ।’

उनको रिप्लाई आयो । ‘मेरा बाजे आज भन्दा ७० वर्ष पहिले पहाडबाट यहाँ आए अहिले हाम्रो चौथौँ पुस्ता हुर्किरहेको छ । म अघिल्नो महिना मेरो पुर्खा बसेको ठाउँ गएको थिए । जहाँ मेरो फुपूको घर छ । फुपूले नजिकैको स्कुलमा पढाउन गएका मधेसी मूलका तराईवासी शिक्षकका छोरासँग बिहे गरिन् । फुपूका ससुरा प्राथमिक तहको शिक्षक भएर चालिस वर्षअघि पहाड गएका थिए । उतै घरजम गरे । तर मैले अस्ति पहाड जाँदा मेरो फुपूको श्रीमान्लाई सोधे तपाईँ पहाडी की मधेसी ? म मधेसी । अर्को कुरा तपाईँको कार्यालयमा म पोहर साल मधेसमा बसोबास भएको नाताले मधेसी परिचयपत्र लिन जाँदा तपाईँ जस्तै अधिकृतले जात हेर्न बित्तिकै हुँदैन भने । मैले चार पुस्तादेखि यहाँ मधेसमा बस्दै आएको कुराको प्रमाण पेस गरे तर पनि परिचय पत्र दिन मानेनन् । खास कुरा के हो सर मैले त बुझ्न सकिन ? कि यो पनि कतै तपाईँले र मैले मात्र चिन्ने अरूले नचिन्ने फेस बुकको फेक आइडी जस्तो त हैन ? ठाउँले नचिन्ने । जातले, रङले, धर्मले, विचारले, चिन्ने ?’ कहिले आउला सर त्यो दिन सबैलाई सबैले सही र जस्ताको तस्तै चिन्ने ? म नाजवाफ हुँदै लेखे ‘जग घुमिआ थारे जैसा न कोही ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस