‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सार्वजनिक


प्रशासन संवाददाता

८ चैत्र २०७५, शुक्रबार


काठमाडौं । विमला तुम्खेवाको चौथो कविता सङ्ग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइँलाले आज आयोजित कार्यक्रममा सो कविता सङ्ग्रह लोकार्पण गरे ।

पूर्वउपकुलपति काइँलाले समाज र कविताको दूरी बिस्तारै घट्दै गएको औँल्याए । पहिले कविता भन्नासाथ जून, तारा, आकाशलगायत विषय समावेश भए पनि अहिले सामाजका जल्दाबल्दा विषयमा कविता सिर्जना भइरहेको उनले बताए । उनले भने, ‘तुम्खेवाका यी सङ्ग्रहमा समाजमा नै विद्यमान उँचोनीचो, धनीगरीब, स्वदेश र विदेशमा बस्ने नेपालीका कुरा समेटिएका छन् ।’

साहित्यकार तोया गुरुङले तुम्खेवालाई अहिले आफूले खारिएको कविका रुपमा पाएको बताए । उनले भने, ‘दुई दशकपहिले भेट्दा कविता लेख्न सिक्दै गरेकी उनलाई अहिले परिपक्व कविका रुपमा पाएको छु ।’

साहित्यकार आहुतिले समाजमा शोषणको अन्त्य नभएकाले त्यो विषय साहित्यको विषय बनिरहेको उल्लेख गरे । कवि तुम्खेवाले पहिले मायाप्रेमलगायत भावनात्मक कुरामा कविता लेख्ने गरेकामा पछिल्लो कृतिमा समाजिक विषयको उठान गरेको उनले औँल्याए ।

‘मूलधार बाहिर रहेका जाति वा वर्गले जब म पछाडि परेको रहेछु भनेर लेख्छ त्यो कृति सुन्दर बन्छ’, उनले भने, ‘तर आफूले उठान गरेको विषयको समाधान खोज्ने जिम्मेवारी पनि कविको नै हो ।’कवि तुम्खेवाले यस कृतिमा आफूले कवि हुनुको जिम्मेवारी निभाउन भरपुर प्रयास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस