काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाइ जनमत प्राप्त सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको गुनासो गरेका छन् ।
नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–७ ले आज यहाँ आयोजना गरेको ‘कदरपत्र वितरण समारोह’मा उनले विकास निर्माणको क्षेत्रमा सरकारले काम गर्न नसकेको आरोप लगाए ।
‘आर्थिक, सामाजिक विकासको क्षेत्रमा सरकारले निर्वाचन अगाडिभन्दा पनि कम काम गरेको छ’, उनले भने, ‘विकास निर्माणको काममा सरकारले नै बाधा पुर्यायो ।’
काठमाडौँ क्षेत्र नं १ का सांसदसमेत रहेका सिंहले प्रधानमन्त्रीले संसद्मा काठमाडौँ उपत्यकलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरे पनि उक्त घोषणा व्यवहारमा कार्यान्वयन नभएको बताए ।
काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले सरकार संसदीय मूल्यमान्यता र कानूनलाई पन्छाएर अगाडि बढ्न खोजेको आरोप लगाए ।
‘सरकार अदालत र संवैधानिक निकायलाई हस्तक्षेप गरेर अगाडि बढ्न खोजिरहेको छ, यसप्रति कांग्रेस चनाखो हुनुपर्छ,’ उनले भने । उनले पार्टीभित्र सहमति, सहकार्य र एकताको खाँचो रहेको बताए ।