कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन


प्रशासन संवाददाता

८ चैत्र २०७५, शुक्रबार


काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिएका छन् ।

गए राति १२ बजेदेखि आवेदन खुला गरिएको थियो । आज अपराह्न ५ बजेसम्म ५० हजार युवाले आवेदन फारम भरिसकेको इपिएस कोरिया शाखाले जनाएको छ । यस पटकदेखि अनलाइनबाटै दरखास्त शुल्क तिर्ने व्यवस्था मिलाइएपछि आवेदकले विगतमा झै सास्ती व्यहोर्नु परेन ।

विगतका वर्षमा अनलाइन भुक्तानी प्रणाली लागू नगर्दा आवेदकले अघिल्लो दिनदेखि नै बैंक काउन्टर अगाडि लाइन लाग्नुपर्ने अवस्था देखिएको थियो ।

विद्युतीय भुक्तानी सेवा प्रदायक संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायतबाट दरखास्त शुल्क बुझाउने व्यवस्था मिलाइएपछि यसपटक विगतमा जस्तो आवेदकको भीडभाड कतै पनि देखिएन ।

अनलाइनबाट परीक्षा दस्तुर भुक्तानी गर्न सकिनेबारे जानकारी नपाएका केही युवा बिहानै बैंकको काउन्टर अगाडि लाइन लागे पनि मध्याह्नपछि कुनै पनि बैंकको काउन्टरमा लाइन देखिएको थिएन । आवेदन फारम यही चैत १७ गते राति १२ बजेसम्म भर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस