पेसागत सीपले भोग्नु परेको जातीय भेदभाव « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पेसागत सीपले भोग्नु परेको जातीय भेदभाव


प्रशासन विशेष ब्युरो

७ चैत्र २०७५, बिहिबार


जातीय भेदभाव

आज ५४ औँ अन्तर्राष्ट्रिय जातीय उत्पीडन विरुद्धको दिवस मनाइँदै छ । प्रत्येक वर्ष मार्च २१ मा अर्थात् आजको दिन जातीय उत्पीडन विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।

सन् १९६० मा दक्षिण अफ्रिकामा शान्तिपूर्ण रूपमा निकालिएको ¥यालिलाई प्रहरीले दमन ग¥यो । त्यहाँ निशस्त्र ६९ जना अधिकारकर्मीको निर्मम हत्या गरिएको थियो । त्यसै दिनको सम्झनामा सन् १९६६ देखि हरेक वर्ष जातीय उत्पीडन विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरेको छ ।

देखावटी रूपमा तामझामका साथ यो दिवस जसरी मनाए पनि अहिले समाजमा जातीय भेदभाव तथा रङ्गभेद जस्ताको त्यस्तै छ । इतिहासमा पहिलो पटक २०६८ साल जेठ १० गते संसद्को बैठकले ‘जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक’ पारित ग¥यो । त्यस लगत्तै १८ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले विधेयक प्रमाणीकरण गरेपछि लागु भयो । त्यो नै नेपाली दलितहरूले गरेको करिब दशकौँ लामो आन्दोलनको विजयी थियो ।

कसैले कसैलाई जातीय भेदभाव गर्न नपाइने संविधानमै उल्लेख भए पनि दलितहरू जातकै कारणले गर्दा अपमानित हुनु परिरहेको छ । जातको आधारमा समाजमा अपहेलित हुन नपर्ने कानुनी अधिकार पाएपनि त्यो व्यवहारमा लागु भएको छैन । रुढीवादी परम्पराले जगडिएको नेपाली समाजमा परिवर्तन आएको छैन ।

२१ औँ शताब्दी सभ्य समाज भन्दा असमानताको असभ्य समाज बन्दै गएको छ । जातीय भेदभाव तथा रङ्गभेदले अहिले पनि समाजमा जरा गाडेर बसेको छ । वास्तवमा भन्ने हो भने समाजमा दलित जातिले खुलेर न्याय पाएको विरलै पाइने गरेको छ । इतिहासका विभिन्न कालखण्डमा दलित जातिका अग्रजहरूले धेरै नै सास्ती भोगेका थिए । अहिले पनि दलित जातिलाई मठ, मन्दिर, कुवा, होटेल, स्कुलमा भेदभाव गरी अपमानित गर्ने गरिएको छ ।
सबैभन्दा बढी जातीय भेदभाव अन्तरजातीय विवाहमा देखिने गरेको छ । चोखो माया प्रेमको पवित्र सम्बन्धमा जातीय भेदभाव बाधक बनेको छ । अन्तरजातीय विवाहले आफ्नो कुल खानदान बिग्रन्छ, भन्ने मानिसको गलत सोचाई छ । दलितहरूले पेसागत सीपको परिणामले गर्दा आजको दिनसम्म पनि मानिस–मानिसबिच हुने गरेको जातीय भेदभावको पीडा भोगिरहनु परेको छ । ‘सबै मानिस एउटै हुन, काटे रगत सबैको रातो हुन्छ’ भनिए पनि समाजले त्यसलाई सहजै स्वीकार गरेको छैन । त्यसैले समाजमा जरा गाडेर बसेको जातीय भेदभाव तथा रङ्गभेदको अन्त्य गर्नको लागि भए पनि अन्तरजातीय विवाहको अति आवश्यक छ । माया प्रेमको सम्बन्धमा समाजले जातीयताको हैसियत दाज्ने परम्परा त्याग्नु पर्छ । राज्यका सबै निकायमा दलित जातिको प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी ऐन बनेको भनिए पनि जातीय छुवाछुतप्रतिको दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन ।

करिब दुई हजार वर्ष पहिले व्राम्हण राजा मनुको शासनकालमा वर्ण व्यवस्थासँगै छुवाछुत समेत लादिएको भनाइ छ । त्यस बेलादेखि समाजका सबैभन्दा तल परेका श्रमजीवी जनताबिच फुट पार्ने काम भएको थियो । २०२३ साल अघिसम्म ‘दलित’ शब्दको प्रयोग सङ्गठनको नाममा भएको थिएन । तर अहिलेको समाजमा वर्ण व्यवस्थाअनुसार ‘अछुत’ भन्ने अनगिन्ती जातलाई बनाइयो । ठुलो जातमा जन्म भएको भन्दैमा आफूलाई महान् ठान्ने प्रवृत्ति हटाउनु पर्छ । मानिस महान् जातले हुने होइन, कर्मले हुने हो । साँचो माया गर्नेहरू प्रेममा असफल हुँदैन भनिएता पनि घरपरिवार समाजले अन्तरजातीय विवाहको सम्बन्धलाई एक मिनेट पनि टिक्न दिँदैन । समाज समय अनुसार चल्न सकेको छैन ।

समाजमा आज उच्च जातिका कतिपय व्यक्तिको चेतना स्तर माथि उठेको भए पनि उनीहरू ‘अछुत’ भन्ने शब्द उन्मुलन गर्न चाहन्नन् । कुनै समयमा कसैले जातपात, धर्म कर्म, रितिरिवाज तथा परम्परालाई हिन्दु धर्मअनुसार कार्यान्वयन ग¥यो भने उसलाई समाजमा प्रतिष्ठित मानिन्थ्यो । अब त्यो परम्पराको अन्त्य गर्न आफ्नै घरबाट सुरु गर्नु पर्दछ ।

अहिले पनि दलित जाति भनिनेहरूलाई घरभित्र प्रवेश गर्न दिइँदैन भने उनीहरूले छोएको खानेकुरासमेत चल्दैन । धर्तीबाट सूर्यतिर फर्केर सूर्यलाई देवता भन्दै पूजा गर्ने पुर्खाले दिएको शिक्षाले गर्दा समाजमा जातीय भेदभाव ज्यूको त्यूँ रहेको छ । जबसम्म अन्तरजातीय विवाहलाई सामाजिक रूपमा धुनधानका साथ विवाह गरिँदैन तबसम्म जातीय भेदभाव तथा रङ्गभेद् अन्त्य हुँदैन ।
विद्यमान सामन्ती प्रशासन तथा सम्पूर्ण न्यायप्रणालीले दलितको पक्षमा अझै खुलेर न्याय दिन सकेका छैनन् । सार्वजनिक स्थलहरूमै दलितहरूले जातीय भेदभाव तथा छुवाछुतको पीडा भोगिरहनु परेको छ । सबै मान्छे आखिर मान्छे नै हुन् भन्ने चेतनाको विकास गराउनु पनि आवश्यक छ । दलित जातिले करेसाबारीमा गएर काम गर्नुहुन्छ, घरको धुरीमा छानो लगाउनुहुन्छ तर त्यहीँ दलित जाति घरभित्र पस्न भने हुँदैन भन्ने मान्यता समाजमा विद्यमान छ ।

मन्दिरमा राख्न बनाइएका अधिकांश मूर्ती दलित समुदायका मानिसले नै बनाएका हुन् । तर तिनै मूर्तीमा पूजा गर्नबाट उनीहरू नै वञ्चित भइरहेका छन् । गैरदलित जातिले लगाउने गरगहना पनि त्यहीँ दलित जातिले बनाएका हुन् । मूर्ती र गरगहना बनाउँदा नछोइने तर उनीहरूलाई छुन भने नहुने यो कस्तो मान्यता हो ? दलित जातिले पालेका पशुको दूध दुहेर खान हुने तर त्यहीँ दलित जातिका मान्छेको हातले दुहेको दूध खानु नहुने यो कस्तो समाज हो ? दलित जातिले सिलाएका कपडा लगाउन हुने, दतिल जातिले फलाएको तरकारी खान हुने, दलित जातिका सबै सीप चल्ने तर त्यही दलितले सँगै बसेर खाना खानु नहुने ! यो कस्तो विचित्र संस्कार ?

समाजमा भएका सबै खालका गलत संस्कार सहितको कुप्रथाको खुलेर विरोध गर्नु पर्छ । जातीय भेदभाव गर्नु भनेको कानुनी अपराध भएकाले विगतबाट पाठ सिक्नु पर्छ । घरपरिवार समाजमा दलितहरूको सबै सीप चल्छ तर त्यहीँ दलितले दिएको एक थोपा पानी चल्दैन । दलित जातिले आफूलाई दलित बताएकै कारण अत्याचार भएको होइन, बरु अत्याचार गर्ने सामाजिक व्यवस्था विद्यमान भएकाले अत्याचार भएको हो । मजदुर, किसान, महिला, जनजाति आदि कैयौँ वर्ग वा समूहहरू वर्गीय शोषण उत्पीडनको सिकार भएका छन् ।

अबका दिनमा दलित र गैरदलित जातिबिचको मात्र जातीय छुवाछुतको अन्त्यको कुरा गरेर हुँदैन, समाजमा हुने सबै प्रकारका विभेदको अन्त्य हुन आवश्यक छ । यस्तो समाजलाई केही मानिसहरू जातीय भेदभाव उन्मुलन गर्न चाहन्छन् तर घरपरिवार गाउँसमाजबाट आलोचित हुने भएकाले जातीय भेदभाव अभियानमा सरिक हुन चाहँदैनन् । अबका नयाँ पिँडीहरू जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गरी समान नेपाली समाज बनाउन लाग्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस