बैशाख १२ गते, २०७६

त्रिभुवन विमानस्थल अव ‘बुटिक’

सरकारले मुलुकको एक मात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको कला, संस्कृति, भूगोल, इतिहास, प्राकृतिक सौन्दर्यता झल्किने गरी आधुनिक सुविधा सम्पन्न ‘बुटिक विमानस्थल’को रूपमा विकास गर्दैछ । जसका लागि गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले ‘बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले अग्रसरता लिएको बुटिक विमानस्थल के हो ? यो कस्तो हुन्छ ? किन आवश्यक छ यसको निर्माण ? लगायत निर्माण प्रक्रियाहरूबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्त्ता घनश्याम उपाध्यायसँग प्रशासन डटकमले गरेको कुराकानी ।

‘बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि’ पारित भएको छ, खासमा के हो ‘बुटिक’ विमानस्थल भनेको ?
विमानस्थलको हकमा ‘बुटिक’ भनेको त्यसको स्वरूप मौलिक अर्थात् परम्परागत र सेवा चाहिँ अत्याधुनिक बनाउन खोजेको हो । नेपाल कस्तो देश रहेछ भन्ने बारे विमानस्थलबाटै पनि थाहा पाउन सकियोस् भन्नका लागि कला, संस्कृति, भूगोल, इतिहास, प्राकृतिक सौन्दर्यता झल्किने गरी मौलिक स्वरूपमा ढाल्ने हो । र, त्यससँगै सेवा प्रवाहका बारेमा चाहिँ अत्याधुनिकीकरण गर्ने हो ।

सरकारले कार्यविधि पारित गरी सकेको छ, कहिलेबाट कसरी काम सुरु हुन्छ ?
नेपाल सरकार मन्त्रिपरिषद्को फागुन २८ को निर्णयले ‘बुटिक’ विमानस्थलसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ । यो कार्यविधि मूलभूत रूपमा मुलुकको छविका रूपमा रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटक तथा हवाई यात्रु नेपाल प्रवेश गर्दा र नेपालबाट फर्किदा सुरुमा प्रसेप्सन लिने र अन्तिममा आफ्नो धारणा बनाएर फर्किने बिन्दु भएकाले त्यसलाई राम्रो बनाउनु पर्छ भनेर भन्ने सन्दर्भमा उक्त विमानस्थललाई परम्परागत मौलिक स्वरूपमा अत्याधुनिक सेवा सुविधासहितको विमानस्थलमा रूपान्तरण गर्ने सोँचअनुशार यो कार्यविधि आएको छ र यो कार्यविधिले यस विमानस्थलमा नेपालको कला संस्कृति, भूगोल, इतिहास, प्राकृतिक सौदर्यता झल्किने तथा थप आंगिक सुविधाहरू सम्पन्न हुने गरी ‘बुटिक’ विमानस्थलको रूपमा विकास गर्ने कार्यविधिको उद्येश्य रहेको छ ।

विमानस्थललाई दुई चरणमा बुटिक बनाउने योजना रहेको छ । पहिलो चरणमा चैत्र मसान्तसम्ममा बुटिक विमानस्थल सम्बन्धी अवधारणा स्वीकृत गर्ने, विमानस्थलको सौदर्यीकरणको लागि विविध कार्यहरू गर्ने जस्तो अहिले भएका खाली स्थानमा बगैँचा बनाउने, बुटीक अवधारणासँग नमिल्ने संरचना भत्काउने, केही छरितो संरचनाहरू बनाउने रहेको छ भने दोस्रो चरणअन्तर्गत ०७६ वैशाख १ देखि पौष १७ २०७६ सम्म स्वीकृत अवधारणाबमोजिमको सम्पूर्ण गरी २०२० जनवरी १ गतेका दिन बुटिक विमानस्थल उद्घाटन गर्ने लक्ष्य लिइएको छ ।

उल्लिखित कार्यहरू तोकिएकै समयावधिभित्र सम्पन्न गर्न पनि कुनै संयन्त्रको विकास गरिएको होला नि हैन ?
एकदमै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा राज्यमन्त्री, सचिव, प्रधानमन्त्री कार्यालयको सचिव वा निजले तोकेको सहसचिव, गृह सचिव वा निजले तोकेको सहसचिव, अर्थ सचिव वा निजले तोकेको सहसचिव, अध्यक्षले तोकेको विज्ञ र प्राधिकरणका महानिर्देशक गरी आठ सदस्यीय निर्देशक समितिको व्यवस्था छ भने बुटिक विमानस्थलको कामलाई शीघ्र विकास गर्ने कार्य सम्पन्न सहजीकरणका लागि पर्यटन सचिवको अध्यक्षतामा मन्त्रालयको प्रतिनिधि, महानिर्देशक, विमानस्थलका प्रहरी नायव महानिरीक्षक, नेपाल भ्रमण वर्ष, २०२० का राष्ट्रिय कार्यक्रम संयोजक र कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक गरी अर्को छ सदस्यीय अनुगमन समिति बन्ने छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन गइरहँदा शुभारम्भ मै वुटिक विमानस्थलबाट स्वागत गर्ने गरी तिव्रगतिमा काम सम्पन्न गर्ने तयारी रहेको छ ।

यति धेरै जिम्मेवार व्यक्तिहरू नै संलग्न भएपछि त समयमै सम्पन्न हुनेमा आशङ्का नगरे हुने भो, हैन त ?
आशा गरौँ निर्धारित समयमै सम्पन्न हुन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ‘बुटिक’ विमानस्थलका लागि नेतृत्व गरिरहेका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठको दुःखद दुर्घटनामा परी निधन हुन पुगेकोले १०–१५ दिन ढिलाइ भएको छ तर टिआईएले काम गरिरहेको छ । मुख्य कुरा यसमा धेरै महत्वकांक्षि र एकदमै अफ्ठेरो तथा गर्न नसकिने काम पनि छैनन् । मुख्यतयाः यसको लुक्सलाई टे«डिसनल र सेवालाई आधुनिकीकरण गर्ने हो । अन्य, नेपालको कला संस्कृति झल्किने सामाग्रीहरू राख्ने हो । त्यसैले यहाँले भनेजस्तो डेटिकेसन चाहिँ चाहिन्छ नै । गरेरै छोड्छु भनेर लाग्ने हो भने असम्भव छैन ।

फेरी पनि, यसलाई निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयको भूमिका अहम् देखियो हैन त ?
हो, एकदमै । मन्त्रालयको भूमिका एकदमै महत्त्वपूर्ण छ । निर्देशक समिति नै मन्त्रीको संयोजकत्व नै छ । सचिवको नेतृत्वमा अनुगमन समिति छ । र, प्राधिकरण त प्रत्यक्षरुपमा संलग्न छ ।

यसका लागि बजेटको व्यवस्था कस्तो छ ? बजेट पुगेन, फलानोले निकासा दिन ढिलो गर्‍यो, ढिस्कानाले ढिलासुस्ती गर्‍यो भनेर त सुन्न पर्ने अवस्था हुँदैन नि ?
यसलाई आवश्यक पर्ने बजेट नेपाल नागरिक उड्डयन प्राधिकरणको सामान्य बजेटबाट व्यवस्था गरिएको छ । चालु र आउँदो आर्थिक वर्षमा विनियोजित बजेटले सम्पन्न गर्न सकिन्छ ।

चैत्र ४ गते, २०७५ - ०६ः५२ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg