हाम्रो लक्ष्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हाम्रो लक्ष्य


प्रशासन विशेष ब्युरो

२ चैत्र २०७५, शनिबार


मेरो बुवा मम्मी र समाजले
म जन्मिनु अगाडि नै
मलाई डाक्टर बनाइदिनु भयो,

८/९ कक्षा पढ्न सम्म त म पनि डाक्टर नै भए,
(९×२) १८ किताब कापी राखी,
ठुलो झोला बोकेर,
म बोर्डिङ पुग्दा साथीहरू भन्दै थिए,
भोलि एप्रोन लगाउने तिमी,
त्यो स्टेथेस्कोप राख्न किन यति ठुलो झोला बोक्छौ ?
म झसङ्ग पर्थे,
र भन्थे तिमी हरू पनि त,
इन्जिनियर ,पाइलट बन्ने भनेकै छौ त ?

मेरा केही साथीहरू,
आमाको पेटमै छँदा,
आकाशमा जहाज उडाएका थिए,
क्रिकेट स्टेडियममा छक्का हानेका थिए,
मिटर नाप्दै घरको डिजाइन बनाएका थिए,
कतिले त इफिल टावरसम्म घुमेका थिए,
हो त्यै बेला म अपरेसन थिएटरमा थिए ।

तर दुर्भाग्य !
आज ती मध्ये ४० लाख खाडीमा छन्,
२५ लाख मजदुरी गर्छन्,
केही मेरा छोरा छोरी यस्तो बनाउँछु
उस्तो बनाउँछु भन्दै छन् ।
र म बेकुफ यही लेखेर बसिरहेको छु ।

डाक्टरको छोरा डाक्टर बन्नु पर्ने ?
मास्टर कि छोरी मास्टर बन्नु पर्ने  ?
क्रिकेटरको छोरा क्रिकेटर बन्नु पर्ने ?
नर्स कि छोरी महा नर्स बन्नु पर्ने ?
म जसको छोरी/छोरो त्यै बन्नु पर्ने ?

हिजो राजाका छोरा राजा हुन्थे,
रैतीका छोरा रैती हुन्थे,
बुवा सैनिक त छोरो सैनिक,
नजन्मिँदै हामीलाई उपहार !
सबै डाक्टर भए बिरामी को हुन्छ ?
सबै पाइलट भए ट्रयाक्टर को चलाउँछ ?
सबै कर्मचारी भए शिक्षक को हुन्छ ?
सबै राजनीतिज्ञ भए जनता को हुन्छ ?
सबै युरोप गए देशमा को बस्छ ?

अब त लोकतन्त्र आयो क्यारे,
गाई चराउने राष्ट्रपति भए,
दुई थरि चप्पल लगाउने प्रधानमन्त्री भए,
एस. एल. सी . फेल सी .एन . एन. हिरो भए
अब तपाईँ र म चाहिँ किन डाक्टर हुनु पर्ने ?

आउनुस् तपाईँका र हाम्रा रहर उमारौँ,
तपाईँ डाक्टर बन्नुस्, म इन्जिनियर बन्छु,
पल्लाघरको दाइ व्यापार गर्नुहुन्छ,
सँगै पढेको श्याम गाडी चलाउँछ,
हरि आलु फलाउन जान्दछ,
सीता दिदी नर्स बन्नुहुन्छ,
एकले अर्कालाई सहयोग गरौँ ।

तपाईँ र म जे जान्दछौ, जे सक्दछौ त्यही गरौँ ।
त्यही हाम्रो लक्ष्य हो, त्यसमै हाम्रो सफलता भरौँ ।

प्रतिक्रिया दिनुहोस