खेलकूदलाई मौलिक हकका रुपमा बुझ्न जरुरी : सभामुख महरा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खेलकूदलाई मौलिक हकका रुपमा बुझ्न जरुरी : सभामुख महरा


प्रशासन संवाददाता

१ चैत्र २०७५, शुक्रबार


धनगढी । सभामुख कृष्णबहादुर महराले खेलकूदलाई अब मौलिक हकका रुपमा बुझ्न जरुरी भएको बताताएका छन् ।

आजदेखि यहाँ शुरु भएको प्रथम मुख्यमन्त्री कप अन्तर खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूद प्रतियोगिताको आयोजना अब केवल मनोरञ्जनका लागि मात्र नभएर यसले देशका लागि स्वस्थ र दक्ष जनशक्ति तयार गर्ने बताए ।

संविधानको मर्मलाई सबैले आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदै उनले भने, ‘स्थानीय सरकारलाई बलियो बनाउने पक्षमै हामी छौँ ।’ संविधान कार्यान्वयनको अवस्थामा रहेकै अवस्थामा संघीय व्यवस्थालाई असफल पार्न केही तत्व लागेको उल्लेख गर्दै उनले संविधान विरोधी गतिविधि हुन नदिन सचेत हुनुपर्नेमा जोड दिए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आवश्यक कानूनको अभावलगायतका समस्याले जनताले गरेको अपेक्षाअनुसारको काम गर्न ढिलाइ भइरहेको बताए । उनले भने, ‘संघीयता र राष्ट्रलाई असफल पार्नका लागि भइरहेका षड्यन्त्रप्रति सचेत हुनुपर्ने बेला आएको छ ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताले चाहेको सुशासन, विकास र समृद्धिका लागि प्रदेश सरकार बलियो हुनुपर्ने आवश्यकता औँल्याए । उनले संघीय सरकारबाट ऐन कानून बनाउन भएको ढिलाइले प्रदेशमा काम गर्न अन्यौलता बढेको उल्लेख गरे ।

समारोहमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शुभकामना व्यक्त गरेका थिए ।

‘स्वस्थ युवा, प्रदेशका खम्बा’ भन्ने मूलनाराका साथ आयोजित उक्त प्रतियोगितामा सातवटै प्रदेशका झण्डै ६४४ खेलाडीको सहभागिता छ । यही चैत ३ गतेसम्म हुने प्रतियोगितामा भलिबल, क्रिकेट, ब्याडमिन्टन र फुटबलका खेल हुन लागेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस