साफ महिला च्याम्पियनसिप : बंगलादेशले भुटानलाई हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साफ महिला च्याम्पियनसिप : बंगलादेशले भुटानलाई हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश


३० फाल्गुन २०७५, बिहिबार


काठमाडौं । नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरमा भइरहेको प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो। नेपाल महिला साफको सेमिफाइनलमा लगातार पाँचौ पटक प्रवेश गरेको हो।

नेपाल सम्मिलित समूह ‘ए’ अन्तर्गत बिहीबार भएको खेलमा बंगलादेशले भुटानलाई २–० गोलले हराएसँगै नेपालले अन्तिम खेलअघि नै अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो। यसअघि नेपालले उद्घाटन खेलमा भुटानलाई ३–० गोलले पराजित गरेको थियो।

यता भुटानमाथि जित हात पारेको बंगलादेश पनि समूहको अन्तिम खेलअघि सेमिफाइनलमा पुगेको छ। लगातार २ खेलमा पराजित भुटान भने पराजित भएको छ।

अब शनिबार नेपाल र बंगलादेशबीच हुने खेल समूह विजेताका लागि हुनेछ।

साफ महिला च्याम्पियनसिपमा नेपालले सुरुवाती तीन संस्करणको फाइनलमा स्थान पक्का गरेको थियो। गत संस्करणमा भने नेपाल सेमिफाइनलमा रोकिएको थियो। सुरुवाती तीन संस्करणको फाइनल र गत संस्करणको सेमिफाइनल गरी चारै खेलमा नेपाललाई भारतले हराएको थियो। भारतले यसअघिका चारै संस्करणको उपाधि जितेको थियो।

प्रतियोगितामा समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। प्रतियोगिताअन्तर्गत शुक्रबार माल्दिभ्स र श्रीलंकाबीच खेल हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस