राष्ट्रपतिको सम्मानमा स्वागत समारोह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिको सम्मानमा स्वागत समारोह


३० फाल्गुन २०७५, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीको सम्मानमा बुधबार साँझ न्यूयोर्कमा स्वागत समारोहको आयोजना गरिएको छ । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेकी राष्ट्रपति भण्डारीको सम्मानमा स्वागत समारोहको आयोजना गरिएको हो ।

संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्तरूपमा स्वागत समारोह आयोजना गरेका हुन् ।

समारोहमा न्यूयोर्कस्थित कूटनीतिक समुदाय, संयुक्त राष्ट्रसङ्घका पदाधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायका प्रतिनिधिको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारी भोलि शुक्रबार अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको छ ।

यसैबीच महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बुधबार नै अधिवेशनमा मन्तव्य व्यक्त गर्दै लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र त्यसप्रतिको नेपालको प्रतिबद्धता प्रस्तुत गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

लैङ्गिक विभेद अन्त्यका लागि आवश्यक कानून संशोधन गरेको जानकारी दिँदै उहाँले दिगो विकासको लक्ष्य हासिल गर्न र महिला तथा किशोरीहरुको सशक्तीकरणका निम्ति अन्तर्राष्ट्रिय सङ्गठनहरुसँग निकट सम्पर्कमा रहेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

त्यसैगरी प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले बेइजिङ घोषणाको कार्यान्वयनमा शीघ्रता विषयको उच्चस्तरीय संवादमा भाग लिँदै उक्त घोषणाको अक्षरशः कार्यान्वयनमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस