काठमाडौँ । एक थान ब्यानर र झोलामा केही सय पर्चा बोकेर एका बिहानै धर्ना दिन माइतीघर पुगेका नेपाल सरकारका उपसचिव ईश्वरी प्रसाद पोखरेल समर्थकहरूको पर्खाइमा थिए ।
उनले आफ्नो ध्यानाकर्षण धर्ना कार्यक्रमबारे प्रशासनलाई पूर्व जानकारी दिइसकेकाले पनि उनी पुग्नु भन्दा अघि नै प्रहरी टोली पुगिसकेको थियो ।
उपसचिव पोखरेल यताउति फोन लगाउँदै गर्दा केही समर्थन कर्ता आइपुगे ।
कार्यक्रमबारे प्रहरी उनीसँग विस्तृतमा जानकारी लिँदै थिए । र, सोही अनुसार माथि रिपोटिङ गरिरहेका थिए ।
यतिकैमा उनले बोकेको ब्यानर खोल्न भन्यो प्रहरीले ।
ब्यानरमा उल्लिखित विषयबारे रिपोटिङपछि प्रहरी जिल्ला प्रशासनको चिठी बिना बस्न नमिल्ने प्रहरीले बतायो । तर, उपसचिव पोखरेल यसअघि नै जानकारी दिई सकेको र आफू जसरी पनि धर्नामा बस्ने भन्दै कड्किए ।
अनि प्रहरी निरीक्षक शिव कुमार बुढाथोकीको टोली अघि बढ्यो र एक पटक सिंहदरबार परिसरमा बोलाउनु भएको छ, हजुर त्यता गई दिनु पर्यो भने । तर उनले काँ जाने, म यहाँ धर्ना बस्न आएको भने पछि इन्स्पेक्टर बुढाथोकीले पत्र बिना हुँदैन, हाकिम साप भनेपछि पोखरेलले ब्यानर दोब्र्याए र प्रहरीसँगै गाडीतर्फ हिँडे ।
सम्बन्धित समाचार : धर्ना बस्न पुगेका उपसचिव प्रहरी नियन्त्रणमा
ब्यानर र पर्चासहितको झोला बोकेका पोखरेल प्रहरीको गाडीमा बिचको सिटतर्फ जाँदै गर्दा एक जना जवानले भने, सर पछाडि राख्ने होइन ?
यतिकैमा इन्स्पेक्टर बुढाथोकीले मुस्कुराउँदै भने, ‘हाकिम सा’प पो त !’
छोड्दे अगाडी नै बस्न दे !