शहरी क्षेत्रको खानेपानीमा लगानी गर्न आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शहरी क्षेत्रको खानेपानीमा लगानी गर्न आग्रह


प्रशासन संवाददाता

२९ फाल्गुन २०७५, बुधबार


काठमाडौं । खानेपानी मन्त्री बीना मगरले दिगो विकासका लक्ष्य हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताएकी छन् ।

विश्व बैंकको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको छलफलमा उनले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पुर्‍याउन सरकारले योजनाका साथ काम गरिरहेको बताइन् ।

उनले भनिन्, ‘दिगो विकासको लक्ष्य हासिल गर्न निकै चुनौती छ । सरकार पृथक ढङ्गले त्यो लक्ष्य हासिल गर्न योजना बनाएर अघि बढ्दैछ । जनताले अझै पनि खानेपानीका लागि संघर्ष गर्नुपरेको छ । यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रम बनाउँदैछ ।’

ग्रामीण क्षेत्रमा ‘फण्ड बोर्ड’मार्फत खानेपानीको आयोजना सञ्चालन गर्न विश्व बैंकले गरेको सहयोगको मन्त्री मगरले उच्च प्रशंसा गरेकी उनका प्रेस संयोजक सुकदेव चापागाईंले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा जलाशययुक्त तथा लिफ्टिङ ग्राभिटी खानेपानी योजनाका साथै शहरी क्षेत्रमा २४ सै घण्टा प्रशोधित खानेपानी योजना र फोहर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई मन्त्री मगरले आग्रह गरिन्। उनले हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्नसमेत आग्रह गरिन् ।

३ वर्षभित्र आधारभूत खानेपानीको सुविधा पुर्‍याउन मन्त्रालय योजनाका साथ लागिरहेको उनको भनाइ थियो । मन्त्री मगरले खानेपानी तथा पूर्णसरसफाइको क्षेत्रमा उपभोक्ता समिति र स्थानीय समुदायको सहभागिता गराई अभियान सञ्चालन गर्न खोजिएको बताइन् ।

सो अवसरमा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले योजना बैंक बनाएर अघि बढ्नुपर्ने भएकाले विश्व बैंकसँग सधैँभरि सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए । विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले खानेपानी तथा सरसफाइका क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न विश्व बैंक सधैँ तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस