एम्बुलेन्स, एक्स–रे र प्रसूति सेवा बन्द हुँदा सेवाग्राही मर्कामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एम्बुलेन्स, एक्स–रे र प्रसूति सेवा बन्द हुँदा सेवाग्राही मर्कामा


प्रशासन संवाददाता

२७ फाल्गुन २०७५, सोमबार


गौशाला । महोत्तरी सम्सी गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स र एक्स–रे मेशिन आएको महिनौं वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् ।

‘महीनौँदेखि एम्बुलेन्स अस्पताल परिसरमै थन्किएको छ, एक्स–रे मेशिन त गोदाममै थन्किएको छ । निःशुल्क प्रसुति सेवा त अझैं सञ्चालनमा आउन सकेको छैन, यी सेवा सञ्चालन नहुँदा सेवाग्राही, स्थानीयवासी अरुण यादवले भने ।

जिल्लाको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित डा सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री बनेपछि त्यस क्षेत्रकै प्रमुख स्वास्थ्य संस्थाका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स र एक्स–रे मेशिन प्रदान गरेका थिए भने केन्द्रमा निःशुल्क प्रसूति सेवा प्रदान गर्न व्यवस्था गरिएको थियो ।

सम्सी गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र यादवका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स, एक्स–रे र प्रसूति सेवा जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेको छैन । उनले एम्बुलेन्सका लागि चालक नरहेको, एक्स–रे मेशिन सञ्चालनका लागि प्राविधिक नरहेको र प्रसूति गृह सञ्चालनका लागि स्टाफ नर्स नरहेकाले ती सेवाका लागि स्रोत, सामग्री उपलब्ध रहे पनि सेवा सञ्चालनमा आउन नसकेको बताए ।

एम्बुलेन्स सञ्चालनमा नहुँदा सम्सीलगायत त्यस क्षेत्रका दर्जनौं गाउँका बिरामीले १५ किलोमिटर टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वरबाट बढी शुल्क र समय खर्चेर एम्बुलेन्स सेवा लिनुपरेको छ । यसका आलावा आकस्मिक बिरामी भएर एक्स–रे र अन्य विशेष उपचार गराउनका साथै प्रसूति गराउनुपर्दा ‘जीवन ज्योति हस्पिटल’मा चर्को मूल्य तिरेर उपचार गराउनुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।

बिहान ढिलो खुल्ने र दिउँसो चाँडै बन्द हुने प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा सम्बन्धित सरोकारवाला निकायले ध्यान नदिँदा यहाँ कार्यरत कर्मचारी पनि मनोमानी गर्दछन् । उनीहरु केबल हाजिर गर्नका लागि अस्पतालमा आउने र त्यसपछि घर गइहाल्ने गरेको आरोप लगाउँदै स्थानीयवासीले सोही कारण सामान्य सेवा पनि आम जनताले पाउन नसकेको अवस्था रहेको छ ।

त्यस अस्पतालमा एमबिबीएस डा अमित रञ्जन, हेल्थ असिस्टेन्ट शिवकला साह र सञ्जयकुमार यादव, सिएमए मोहन मण्डल र सहदेव यादव, स्टाफ नर्स सिर्जना तामाङ, अनमी रुकमणि यादव र सत्यसिंह कार्यरत रहे पनि उनीहरु नियमित र दिनभरि उपस्थित नरहने गरेको सर्वसाधारणको गुनासो छ ।

यसका साथै त्यस अस्पतालमा लामो समयदेखि औषधि खरीद नभएको र कतिपय कर्मचारीले तलबसमेत नपाएकाले त्यस अस्पतालमा विभिन्न समस्या रहेको अस्पतालका कर्मचारी बताउँछन् ।

सम्सी गाउँपालिकाका अध्यक्ष फारुक शेषले सँग जानकारी लिँदा लामो समयदेखि अस्पतालमा व्यवस्थापन समिति नरहेका कारण अस्पतालमा धेरै समस्या रहेको बताए ।

उनले समितिकै कारण एम्बुलेन्सका चालक नियुक्ति गर्न नसकिएको, नेपाल सरकारबाट प्राप्त सेवा सञ्चालनमा ल्याउन नसकिएको, करारमै भए पनि दक्ष जनशक्ति नियुक्त गर्न नसकिएको पनि बताए ।

लामो समयदेखि सम्सी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधि खरीद र कर्मचारीको तलबसमेत खुवाउन नसकिएको अध्यक्ष शेषले बताए । अब चाँडै ती सबै समस्या समाधान हुने र प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स, एक्स–रे र प्रसूति सेवा सञ्चालनमा आउने पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस