बजेट अभावमा जीर्ण बन्दै त्रिभुवन पार्क « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बजेट अभावमा जीर्ण बन्दै त्रिभुवन पार्क


प्रशासन संवाददाता

२७ फाल्गुन २०७५, सोमबार


काठमाडौं । काठमाडौंको थानकोटस्थित ऐतिहासिक, सांस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्व बोकेको त्रिभुवन पार्क जीर्ण बनेको छ ।

पार्क संरक्षणका लागि राज्यपक्षबाट आवश्यक बजेट विनियोजन नगर्दा र स्तरोन्नतिको योजना ल्याउन नसक्दा पार्कको सुन्दरता गुम्न पुगेको हो ।

उक्त पार्कको नाम त्रिभुवन पार्क रहेपनि अहिले त्रिभुवनको शालिक बेवारिसे रुपमा फालिएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले ढालेको उक्त शालिक वर्षै बितिसक्दा पनि बन्न सकेको छैन । पार्कलाई उचित किसिमले व्यवस्थापन गर्न नसक्दा यहाँ चहलपहल पनि निकै घटेको स्थानीयवासी बताउँछन् ।

एक सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कको चारैतिर लगाइएका बारबन्देज भत्किएको छ । उक्त भत्किएको पर्खाललाई बजेट अभावमा निर्माण गर्न नसक्दा स्थानीयवासी जथाभावी रुपमा प्रवेश गरेर फोहर गरी यसको स्वरुपलाई नै कुरुप पारेको शहीद स्मारक प्रकृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष मदन ताम्राकारले बताए ।

उनका अनुसार बजेट अभावमा लडेको त्रिभुवनको शालिकसमेत उठाउन सकेको छैन । पार्कको अस्तित्य जोगाउनका लागि सम्बन्धीत निकायमा केही बजेट प्रदान गर्न आग्रह गयौँ, तर सहयोग मिलेको छैन । पार्कभित्र कहिलेकाहीँ हुने गरेको वनभोजका कार्यक्रमबाट नै कर्मचारीलाई जेनतेन तलब खुवाउँदै आएको अध्यक्ष ताम्रकारले बताए । यसबाहेक घुम्न, आराम गर्न र भलाकुसारी गर्न आउने कोही देखिँदैनन् ।

राजा त्रिभुवनको मृत्युपश्चात् उनको सम्झानामा विसं २०२४ मा श्री ५ त्रिभुवन स्मारक समिति गठन गरिएको थियो । केशव शम्शेर जबराको अध्यक्षतामा गठित उक्त समितिमा नौ जना सदस्य रहेका थिए । विसं २०२४ मा दर्ता भई विसं ०२८ मा निर्माण गरिएको त्रिभुवन पार्क शुरुका दिनमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो ।

पार्कको चहलपहल बढ्न थालेपछि श्री ५ त्रिभुवन स्मारक समितिले नै विसं २०४२ मा वरिपरिको ४० रोपनी जग्गा खरीद गरेर पार्कको क्षेत्रफल बढाएको थियो । पार्कभित्र राजा त्रिभुवनको शालिक र भैरवनाथको मन्दिर रहेको छ । तर भूकम्पयता शालिक पोखरी नजिकै छेउमा लडेको छ । शालिक मर्मत गरेरे ठड्याउनका लागि बजेट अभाव भएको प्रतिष्ठानले जनाएको छ ।

विसं २०३०/०३१ बाट सर्वसाधारणका लागि खुला गरिएको पार्कको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले गरेका थिए । यसको संरक्षण र हेरचाहका लागि २७ कर्मचारी राखिएका छन् । तीमध्ये २० कर्मचारी स्थानीय हुन् । एक सय ६५ रोपनी क्षत्रफलमा फैलिएको उक्त पार्क बाटो विभागबाट १० रोपनी कटानी भई हाल १५५ रोपनीमा सिमित भएको छ ।

विभागले बाटो बनाउने क्रममा पार्कको बार बन्देजलाई अलपत्र बनाएर भत्काइ दिएपछि थप समस्या उत्पन्न भएको कार्यलयका कर्मचारी बताउँछन् ।

विसं २०६५ भन्दाअघिसम्म यो पार्कको नाम श्री ५ त्रिभुवन स्मारक समिति थियो । विसं २०६५ मा नाम परिवर्तन गरी शहीद स्मारक प्रकृति प्रतिष्ठान राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस