चैत्र १० गते, २०७५

राष्ट्रिय संवेदनशीलता : हाम्रो प्राथमिकता

हिजो आज मुलुकमा राष्ट्रियता माथि असह्य प्रहार भइरहेको महसुस हुन थालेको छ । हाम्रो राष्ट्रियता र राष्ट्रिय पहिचान माथि कहीँ न कहीँबाट प्रत्यक्ष वा परोक्ष रूपमा खेलबाड भइरहेको छ । कहिले राजनीतिक परिवर्तनका नाममा सशस्त्र द्वन्द्वले देशमा अशान्ति मच्चियो त कहिले मधेस आन्दोलनका नाममा । कहिले बलात्कारका श्रृङखलात्मक घटनाले हामीलाई सोचनीय बनाइदियो । यति मात्रै होइन जनताको मतद्वारा निर्वाचित प्रतिनिधिसहितको संविधान सभाले बनाएको संविधानका विरुद्ध खुलेआम धावा बोल्नेहरू पुरस्कृत हुने अनि देश नै टुक्र्याएर अलग्गै राज्य घोषणा गर्न उद्यत समूहलाई राज्यबाट प्रशंसनीय व्यवहार हुने जस्ता थुप्रै संवेदनशील घटना भए जसले राष्ट्रिय संवेदनशीलता प्रति सबैलाई सोच्न बाध्य पारेको छ ।

सिके रावतसँगको राजनीतिक समझदारीले उब्जाएको प्रश्न
सरकारले हालै मात्र राष्ट्रियता माथि धावा बोल्ने, देश टुक्राउन खुल्लम खुल्ला अभिव्यक्ति दिने सिके रावतसँग राजनीतिक समझदारी गरेको छ । देशमा हिंसात्मक वातावरण सिर्जना गरिरहेका समूहलाई वार्ताको माध्यमद्वारा मूलधारमा ल्याइ राजनीतिक समाधान खोजिनु अन्यथा पक्कै पनि होइन ।अहिले देशले दिगो शान्ति र स्थिरताको माग गरिरहेको छ । यही परिवेशमा सिके रावतसँगको समझदारी नेपाली जनसमुदायका लागि स्वागत योग्य कदम हो नै । तथापि सिके रावतको विगतलाई यति सहजै बिर्सन सक्ने वातावरण अहिल्यै बनी सकेको छैन । यस सम्बन्धमा आम जनसमुदायमा थुप्रै संशयहरू उत्पन्न भइरहेका छन् । के सिके रावतसँगका समझदारी प्रस्ट बुँदामा छन् ? यिनले आफ्नो पुरानो एजेन्डा त्यागे ? के अब यिनबाट उप्रान्त देश विघटनको खतरा छैन ? यावत प्रश्नहरू जनमानसमा उब्जनु स्वाभाविक हो ।

सिके रावत र सरकारबिच समझदारी हुँदै गर्दा दुवै पक्षबाट आउने अभिव्यक्तिहरू कन्ट्रोभर्सियल देखिन थालेका छन् । सरकारी पक्ष भन्छ सिके रावतसँग जनमत सङ्ग्रह सम्बन्धी कुनै सम्झौता भएको छैन, सम्झौता त केवल उनलाई जनअभिमत मार्फत राजनीतिको मूलधारमा ल्याउने प्रयास मात्र हो तर सिके रावतबाट जनमतद्वारा आफ्ना पुरानै मुद्दालाई स्थापित गर्ने अभिव्यक्ति आइरहेका छन् । एघार बुँदामा भएका समझदारी मध्ये बुँदा नं.२ लाई सिके रावत अनि सरकारले आ-आफ्नै तरिकाले व्याख्या गर्न खोज्नुले देश विखण्डनको मुद्दा ज्युँदै छ वा अवसान भयो सबैलाई चिन्तन गर्न बाध्य तुल्याएको छ । उता मधेसमा सिके रावतको स्वागत गर्दै गर्दा स्वतन्त्र मधेसका झन्डा प्रयोग भई रहेका छन् । स्वतन्त्र मधेस अनि आजादीका नारा लगाइन थालेका छन् । आखिर भयो के ? यहाँ न सिके रावतको विरोध गर्न खोजिएको हो न त सरकारी पक्षको आलोचना नै, कुरा यति मात्र हो कि यसबिचमा राष्ट्रिय संवेदनशीलता कुन हद सम्म मनन भएको छ त ?

राष्ट्रियताको आधार राष्ट्रिय संवेदना
हामी सोच्छौँ बोलेर मात्र के हुन्छ र, यो सामान्य हो, यसले के फरक पार्ला र ? तर यो बुझ्नु जरुरी छ की राष्ट्रिय संवेदना यी र यस्तै स-साना कुरामा लुकेको हुन्छ । भारतीय रियालीटीसोमा हाम्रा पहिचान झल्काउने पोसाकहरू अनि ढाका टोपी ढल्किँदा हाम्रो छातीमा हर्षले ढक-ढक हानिन्छ । विदेशमा हाम्रा नेपालीले उदाहरणीय काम गर्दा हाम्रो हर्षको सीमा रहँदैन । यही त हो नि हाम्रो राष्ट्रियता प्रतिको अगाध माया तर हाम्रै परिवेशमा हामी माथि नाजायज प्रहार हुँदा सहनु पर्ने ? कस्तो विडम्बना ?

धेरै टाढा नजाउँ, हाम्रो छिमेकी मुलुक भारतको राष्ट्रियताको कुरा गरौँ । त्यहाँको राष्ट्रियता कति मजबुत छ । उनीहरूको राष्ट्रियता माथि कहीँ कतैबाट प्रहार भए पुरै देशमा तवाही मच्चिन्छ । सबै भन्दा बढी त्यहाँका मिडिया तात्छन् । उनीहरूको एउटै मूल मन्त्र छ हमारा भारत महान् है । पछिल्लो पटक जब जम्मु कश्मिरमा भारतीय सेनामाथि आक्रमण भयो तब पुरै भारत विद्रोहमा उत्रियो । सबैको मुख-मुखमा शत्रुप्रति कठोर हुनु पर्ने शब्द झुण्डिएको देखियो।

नेपालको राष्ट्रियतामाथिका अनेकन् प्रहार
छिमेकी देशको राष्ट्रियताको प्रभाव अवश्य हामीमा पर्नु पर्ने हो तर हाम्रा पहिचानमा सहजै प्रहार हुन्छ, अवस्था छ तैँ चुप मै चुपको । यहाँ राष्ट्रियता माथि प्रहारका थुप्रै घटना देखिएका छनः हाम्रो देशको सीमा दिन प्रतिदिन मिचिँदै गएको छ । राष्ट्रिय गौरव राष्ट्रका प्रतीक चिन्हहरूको अस्मिता माथि प्रहार भइरहेको छ । हाम्रा परम्परा झल्काउने हाम्रो लोक संस्कृति हाम्रो प्राथमिकतामा पर्दैनन् । परसँस्कृतिले सहजै प्रवेश पाईरहेको छ । देशकै अस्तित्वको खिलाफ अभिव्यक्ति दिनेहरू निर्बाध हिँडिरहेका छन् । राष्ट्रको ढुकुटी रित्तिने गरी भ्रष्टाचारी गतिविधिहरू गर्नेहरू माथि कारबाही हुँदैन । कानुनको खिल्ली उडाइ आफ्नो स्वार्थ अनुकूल कानुनको प्रयोग हुन्छ । स्वदेशमा रोजगार नपाई वैदेशिक रोजगारीमा जानु परेको छ तर गन्तव्य राष्ट्रमा सुरक्षित रोजगारीको ग्यारेन्टी छैन । वैदेशिक रोजगारीमा रहँदा प्रत्येक दिन कुनै न कुनै नेपाली हिंसाबाट पीडित छन्, हाम्रो तर्फबाट उपयुक्त कूटनीतिक पहल हुन सक्दैन । स्वच्छ न्यायिक संयन्त्र छैन राजनीतिको ठाडो हस्तक्षेपमा न्याय व्यवस्था प्रभावित छ । सरकार देशभित्र उत्पादन बढाउन तिर कुनै रणनीतिक पहल चाल्दैन दैनिक उपभोग्य चिजहरूमा परनिर्भरता बढ्दै गएको छ । यी यावत समस्याहरूले हाम्रो राष्ट्रिय संवेदनशीलता सोचनीय अवस्थामा छ ।

राष्ट्रियता जोगाउन जिम्मेवार तत्त्वहरू
अव सवाल राष्ट्रियता जोगाउने कुराको हो । हरेक लोकतान्त्रिक मुलुकमा राष्ट्रियता बलियो बनाउन त्यहाँका आम जनसमुदायका अलावा त्यहाँका राजनीतिक दल र तिनका राजनेताहरूको भूमिका महत्त्वपूर्ण हुने गर्दछ । निश्चित रूपमा नेपालमा पनि राष्ट्रिय अस्मिता जोगाउन राजनीतिक दल र राजनेताहरूको महत्त्वपूर्ण भूमिका हुन्छ नै । तर यहाँको परिवेशमा राजनीतिक एजेण्डालाई भन्दा पनि नातावाद कृपावादलाई महत्वदिने चिन्तन हाबी भएको देखियो । यहाँ समाजलाई समेत राजनीतिक स्वार्थ मुताबिक विभाजन गरिन थाल्यो । एजेन्डा विहीन स्वार्थ प्रेरित राजनीति हुँदै गर्दा यहाँ राष्ट्रिय संवेदनशीलताको सवाल सोचनीय रूपमा देखा परेको छ । राजनीतिक दल र निहित स्वार्थ भन्दा माथि उठेर निर्भीक रूपमा आफ्ना आवाज बुलन्द गर्न सक्ने नेतृत्व यहाँ के त छैन भए भने पनि तिनलाई महत्त्व दिँदैन ।

अन्तमा
अब ग्रासरुट लेबलदेखी माथिल्लो तह सम्मका सबै तह तप्काका व्यक्तित्वहरूले राष्ट्रियताको सवालमा अव संवेदनशील बन्ने बेला आएको छ । ‘म नेपाली मेरो देश नेपाल’ भन्नुमा गौरव गर्नु पर्ने परिस्थिति सिर्जना गर्न हामी सबै अग्रसर हुनु पर्ने भएको छ । यस कार्यमा सरकारी तवरबाट शान्ति सुरक्षा अमन चयन कायम राख्न उचित कदम चालिनु पर्दछ । कूटनीतिक सामर्थ्य बढाइनु पर्दछ । राष्ट्रिय अखण्डताका विरुद्ध अभिव्यक्ति दिनेहरूलाई राज्य द्रोहको मुद्दा लगाई कारबाही गरिनु पर्दछ । राष्ट्रिय उत्पादन वृद्धिमा जोड पुर्‍याइ हरेक हिसाबले परनिर्भरता घटाउँदै लैजानु पर्दछ । आम जनसमुदाय आफ्नो जिम्मेवारीबाट नपन्छिई राष्ट्रिय प्रतीक चिन्हहरूको संरक्षण र संवर्द्धन गर्न लागि पर्नु पर्दछ । परसँस्कृतिलाई महत्त्व दिनु भन्दा हाम्रो मौलिक पहिचान झल्किने हाम्रा आफ्नै लोकसंस्कृतिको जगेर्ना गरी प्रचार प्रसार गर्नु पर्दछ । हरेक व्यक्ति आफ्नो राष्ट्रिय पहिचान स्थापित गर्न आआफ्नो क्षेत्रबाट अगाडि बढ्नु आवश्यक छ । हाम्रा राष्ट्रियताका प्रतिकुल हुने सबै क्रियाकलापलाई सामाजिक बहिष्कारको अभियान चलाऔँ । टोल टोलबाट राष्ट्रियता जोगाउन प्रचारात्मक अभियान सहित हातेमालो गरौँ । यसबाट सरकारी संयन्त्रलाई समेत राष्ट्रिय संवेदना प्रति सजग हन सहयोग पुग्ने छ भने हामी नेपाली हौँ भनी शिर ठाडो गर्ने वातावरण अवश्य तयार हुनेछ ।

फाल्गुन २७ गते, २०७५ - १६ः२६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg