साहसिक खेल पर्यटनको प्रवर्द्धन गर्न नेटवर्क गठन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

साहसिक खेल पर्यटनको प्रवर्द्धन गर्न नेटवर्क गठन


२७ फाल्गुन २०७५, सोमबार


धरान । साहसिक खेल पर्यटनको प्रवर्द्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ ।

सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिएका छन् । ११ सदस्यीय नेटवर्कमा पछि चार सदस्य थप हुने बताइएको छ । यो नेटवर्कले प्रदेश १ मा साहसिक तथा पर्यटकीय खेलकूदको विकास, विस्तार र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर समन्वयकारी काम गर्ने माउन्टेन्ट स्पोटस् फेडरेशनका अध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए । पर्यटन वर्ष २०२० लाई लक्ष्य गरेर काम गर्न नेटवर्क बनाइएको हो ।

धरान उपमहानगरपालिकाले उपमहानगरभित्र के कस्ता साहसिक पर्यटकीय खेलका सम्भावना छन् भन्ने विषयमा छलफल पछि उक्त नेटवर्क बनाइएको हो । धरानमा १६ वटा साहिसिक खेलमध्ये पाँच÷छ वटा हाल पनि खेल भइरहेकाले अझ यसको विस्तार र खेलको माध्यमबाट कसरी पर्यटक भित्र्याउन सकिन्छ भन्ने उद्देश्यले माउन्टेन स्पोर्ट फेडेरेशनसँगको सहकार्यमा धरानमा साहसिक तथा पर्यटकीय खेलसम्बन्धी अन्तर्क्रिया गरेको हो ।

धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ जीप, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना रहेको छ । केही खेल निजीस्तरबाट भइरहेका छन् । यी खेललाई व्यापक बनाएर प्रदेश नं १ मा वार्षिक एक लाख पर्यटक भित्र्याउन सकिने धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले बताए ।

छलफलमा प्रदेशसभा सदस्य कुसुम श्रेष्ठ, सावित्री श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव हरि दाहाललगायत सहभागी थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस