अझै २५ हजार कर्मचारी समायोजन हुन बाँकी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अझै २५ हजार कर्मचारी समायोजन हुन बाँकी


प्रशासन संवाददाता

२४ फाल्गुन २०७५, शुक्रबार


समायोजन

काठमाडौं । सरकारले समायोजन रोजेका करीब २५ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अझै २५ हजार समायोजन गर्न बाँकी रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । करीब ८७ हजार कर्मचारीमध्ये ७७ हजार कर्मचारीले समायोजन रोजेका थिए ।

उनका अनुसार अहिलेसम्म समायोजन रोजेकामध्ये ५१ हजार ५६५ कर्मचारी समायोजन भएका छन् । समायोजन भएकामध्ये धेरै जना संघमा भएका छन् । संघमा ४७ हजार ९२० आवश्यक कर्मचारीमध्ये ३४ हजार ३९१ कर्मचारी समायोजन भइसकेका छन् भने बाँकी १३ हजार ५२९ जना रहेका छन् ।

प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिको आधा पनि कर्मचारी समायोजन भएका छैनन् । सरकारले प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्ने गरी नयाँ दरबन्दी सिर्जना गरेको छ तर अहिलेसम्म प्रदेश र स्थानीय तहमा भनेजस्तो कर्मचारी समायोजन हुन सकेका छैनन् ।

प्रवक्ता अधिकारीका अनुसार प्रदेशमा सात हजार ४८६ र स्थानीय तहमा सात हजार ६६८ कर्मचारी समायोजन गरिएको छ । प्रदेशमा आवश्यकभन्दा तीन गुणा कम र स्थानीय तहमा नौ गुणा कम कर्मचारी समायोजन भएका छन् । यस्तै मन्त्रालयले अन्य कर्मचारीलाई फाजिलमा संघ रहने गरी समायोजन गरेको छ ।

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याएर गत पुस ११ देखि माघ २ गतेसम्म तीनै तहमा कर्मचारी समायोजन गर्न कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमध्ये एक रोज्न आग्रह गर्दै फाराम भराएको थियो ।

प्रतिक्रिया दिनुहोस