चैत्र १० गते, २०७५

लैङ्गिक समानता र वादको बहस

नारीविनाको घरको कल्पना गरौँ । नारीबिनाको संसारको कल्पना गरौँ । सृष्टिको कल्पना गरौँ । सम्भव छ ? धन चार्ज या ऋण चार्ज कुनै एकले मात्र बत्ती बल्छ ? एक चक्काले मात्र रथ चल्छ ? हेड वा टेल एक मात्रको रुपैयाँ हुन्छ ? एक हातले ताली बज्छ ? बाटोमा पोखेको बीउ बिरुवा बन्छ ? पुरुषले कट्टुमा बगाएको वीर्यले सन्तान जन्मन्छ ? सृष्टि चल्छ ? नारी दिवसको मौका पारेर यिनै पितृसत्तामा नसोधिएका, सोधिए तापनि पन्छाइएका, मनन नगरिएका, अनुत्तरित प्रश्नमा बहस गरौँ । यो बहसले लैंगिक समानतामा युगान्तकारी स्थायित्व ल्याओस् । संसारको विकास दोब्बर दरमा होस् । शिव र शक्ति दुवैको एकाकार एवं समान महत्वबोधले सबै वाद र सिद्धान्तबाट मुक्त भएर मानवतावादी, जीवनवादी संसारको पुनर्निर्माणमा नयाँ युगको सुरुवात होस् ।

हाम्रो सभ्यता भारत वर्षको सनातन सभ्यता हो । यो सभ्यता हाम्रा सनातन परम्परा, मान्यता र विभिन्न ऋषिमुनि एवं बुद्ध पुरुषबाट संरचित वेद, वेदान्त, उपनिषद, गीता, रामायण, महाभारतका दृष्टान्तका आधारमा चल्दै आएको छ । हाम्रो सभ्यताले नारीलाई देवीको स्वरूप मानेर सम्मान गर्दछ । हाम्रो सभ्यतामा परम्परादेखि समानता, प्रेम र सहअस्तित्वको अभ्यास र वकालत हुँदै आएको छ । यसमा प्राणी र वनस्पति एवं प्रकृतिलाई पनि मानवीकरण गरिएको छ र सहअस्तित्व स्वीकार गरिएको छ । केही मूर्ख बुद्धिमानहरूले धर्मको अप व्याख्या गर्दै मानिसहरूलाई विभिन्न खेमामा विभाजित गर्ने कुचेष्टा गरेका छन् । त्यसकै परिणाम स्वरूप मानव समुदाय प्रकृतिको विरुद्धमा उभिन थालेको छ । नारी र पुरुषबिच भेदभाव उत्पन्न गर्न पनि सृष्टिको विनाश चाहने यस्तै राक्षसी प्रवृत्तिको हात हुनुपर्छ । किनकि यो सृष्टिको विरोधी छ, स्रष्टाको लागि त सबै सिर्जना उसका सन्तान हुन् ।

नारीवादको सन्दर्भमा रामायण र महाभारतकालीन नारीवादको चर्चा भए तापनि वास्तवमा त्यो समयमा पनि पितृसत्ता र पितृसत्ताको आधारमा विकसित पुरुषवाद नै हाबी भएको पाइन्छ । जहाँसम्म भगवानलाई निर्गुण निराकार मानेर प्रकृति पूजाको परम्परा समाजमा कायम रह्यो, त्यहाँसम्म नारी पुरुषको समान अस्तित्व बोध समाजले गरेको देखिन्छ । महाभारत र रामायणमा पनि नारीलाई माताको रूपमा जति सम्मान दिए पनि तिनै नारीले पत्नीको रूपमा सम्मान पाएका छैनन् । गान्धारीले अन्धा धृतराष्टसँग विवाह गरी जीवनभर आँखामा पट्टी बाँध्नु पुरुषप्रधानताकै स्वीकारोक्ति हो । महाभारत र रामायण दुवैमा वर्णित पराक्रम विवाह पनि पितृसत्ताको उपज मान्न सकिन्छ ।

रामायणमा मर्यादा पुरुष रामले रावणसँग युद्ध गरेर सीतालाई ल्याउनु र त्यसपछि धोबीको कुरामा लागेर वनमा छोड्नु पुरुष दम्भको प्रस्तुति हो । इतिहासमा गार्गीलगायत केही विद्धुषी नारीको नाम सुन्न पाइए पनि गुरुकुल शिक्षा प्रणाली देखि नारीलाई घर व्यवहारमा सीमित गरिएको छ । शिक्षाको अवसर दिइएको देखिन्न । यसरी शिक्षाको अवसरबाट वञ्चित गराउँदा र घरायसी काममै व्यस्त राख्नाले आर्थिक क्रियाकलापमा महिला वर्गको प्रत्यक्ष संलग्नता भएन । र, परदेखि घरसम्म पुरुषकै बोलवाला कायम भयो । यसरी मुख्यतः आर्थिक कारण र पितृसत्तामा संरचित दर्शनका कारणले महिला र पुरुष फरक फरक वर्गको रूपमा स्थापित हुन पुगे ।

पुरुष आर्थिक रूपमा सबल हुँदै गए र महिलालाई आश्रित सदस्यको रूपमा बुझिन थाल्यो । यसले गर्दा घरमुलीदेखि लिएर आर्थिक स्वामित्व हुने तथा सामाजिक प्रतिष्ठा हुने क्षेत्रमा पुरुषको सहभागिता भयो । यसरी पितृसत्ताको स्थापना भयो । पितृसत्ताको स्थापना पश्चात् समाजमा नारीहरूको स्थिति झन् दयनीय भयो, साधनको तहमा व्यवहार भयो, पुरुषको अमानत ठानियो र पितृसत्ताको जगमा पुरुषवाद विकसित भयो । पुरुषवादले त झन् पुरुषलाई कर्ता एवं सर्वेसर्वाको रूपमा प्रस्तुत ग¥यो र महिलालाई दोस्रो दर्जामा स्थापित ग¥यो । पितृसत्ताको स्थापना र पुरुषवादको जन्मको मुख्य कारण भनेको आर्थिक नै हो । इतिहासदेखि नै राजा, महाराजाहरू, पराक्रमीहरू र धनीहरूले धेरै विवाह गर्नु र यो श्रृंखला वर्तमानसम्म जारी रहनुबाट यो कुरा प्रमाणित हुन्छ । रजस्वला हुनुभन्दा पहिले नै विवाह गरिदिने, त्यसमा पुरुषले जति बिहे गरे पनि हुने, पुरुष जुन उमेरको भए पनि हुने जस्ता कुराले प्राचीन समाजमा पनि पूर्ण सम सत्ता थिएन भन्न सकिन्छ ।
यसरी विकसित भएको पितृ सत्ता आज पनि कायम नै छ ।

राजनीति, साहित्य, पत्रकारिता, कलाकारिता आदि बौद्धिक क्षेत्रमा केही समानताका बहस भए तापनि अझै सम सत्ता स्विकारिएको छैन । अन्य क्षेत्रहरू त पितृ सत्ता र पुरुषवादबाट अझै पूर्णतया ग्रसित छन् । विश्वको आधा जनसङ्ख्या परापूर्वकालदेखि लैङ्गिक आधारमा निरन्तर रूपमा प्रताडित भइरहँदा समाजको विकासमा निश्चय नै नकारात्मक प्रभाव परेको छ । कल्पना गरौँ, विश्वको आधा जनसङ्ख्याको सक्रियताले पनि यो स्तरमा विकास भएको छ भने सबै जनसङ्ख्याले अवसर प्राप्त गरी सक्रिय हुने हो भने विकासको गति कस्तो होला । हाम्रो सामाजिक व्यवस्था र परम्पराहरूमा पितृसत्ताले यसरी जरा गाडेको छ कि पुरुषको सर्व श्रेष्ठता सजिलै स्विकार्छौँ र स्वाभाविक ठान्छौँ । तथापि वर्तमानमा शिक्षाको क्षेत्रमा विकसित अनिवार्य शिक्षा, समावेशी शिक्षा, नारी शिक्षा जस्ता अवधारणाले समानताको पक्षमा वकालत र महिला सशक्तीकरणमा सहयोग गरिरहेका छन् । यस्तो अवस्थामा नारी पुरुष समानताको बहस चल्नु अत्यन्तै जायज छ र आवश्यक पनि ।

यसरी समानताको बहस चलिरहँदा नारीवादको विषयले पनि प्रमुखता पाएको छ । वास्तवमा नारीवाद समाजमा जरा गाडेको पितृ सत्ता र पितृसत्तात्मक सामाजिक व्यवस्थामा नारीले भोग्नु परेको पीडा र दमनको अन्त्य गर्ने महान् उद्देश्यद्धारा निर्देशित क्रान्तिकारी विचारधारा हो । दोस्रो विश्वयुद्धको समाप्तिपछि १९६०-७० को दशकमा अमेरिका र बेलायतमा आर्थिक एवं राजनीतिक क्षेत्रमा समानता र साधनस्रोतमा समान पहुँचका लागि भएका आन्दोलनको परिणामस्वरूप नारीवाद विकसित भएको मान्न सकिन्छ ।

नारीवादको सन्दर्भमा विभिन्न समयमा विभिन्न धारणा र दृष्टिकोणहरू रहेको पाइन्छन् । १९ औँ शताब्दीमा दास प्रथाको अन्त्य र २० औँ शताब्दीको सुरुवातीमा यसलाई महिलाको मताधिकार स्थापनाको आन्दोलनसँग जोडेर हेरिन्छ । त्यस्तै २१ औँ शताब्दीमा भने आर्थिक र राजनीतिक रूपमा महिला सशक्तीकरणको विषय नारीवादको प्रमुख एजेन्डा बनेको छ । यो नारीवादको सकारात्मक पक्ष पनि हो । तर वर्तमानमा बृहत्तर समुदायले नारीवादलाई समानताभन्दा पनि नारीको एकल अस्तित्वको रूपमा बुझ्न थालेको छ ।

विवाह परम्पराको विरोध हुनु, प्रेम र सम्बन्ध एवं यौनजस्तो प्राकृतिक कुरालाई पुरुषवादसँग जोड्नु नारीवादीका गलत पक्ष हुन् । आज आएर महिला घरमूलीको हिसाब भइरहेको छ । यो कोरा नारीवादमात्र हो । पुरुष घरमुली हुँदा महिलामाथि अन्याय हुन्छ भने महिला घरमुली हुँदा पुरुषमाथि हुने सम्भावना पनि त्यत्तिकै रहन्छ । नारीवादको बहस गर्दा पुरुषको बेवास्ता र तिरस्कार गर्ने हो भने नारीवाद पुरुषवादभन्दा फरक हुन सक्दैन । सर्वसत्तावादको भान हुन्छ । यसले समाजमा एक नयाँ स्वरूपको दन्द निम्त्याउन सक्छ । त्यसैले सर्वसत्तावादको रूपमा विकसित नगरी यसलाई परिवारदेखि राज्यसम्मका जिम्मेवार एवं निर्णायक तहमा समानता स्थापना गर्ने र समाजको दिगो विकास र शान्ति स्थापनामा सहयोगी विचारधाराका रूपमा विकास गरिनुपर्छ । नारी पछौटेपनको कारण पुरुष होइन । यो सामाजिक व्यवस्थाले सिकाएको पाठको प्रभाव मात्र हो, जुन पुरुष मात्र होइन महिलाले पनि पढेका छन् ।

अपसोच यो छ कि , संसारमा कतिपय पुरुषहरू पुरुष भएर पनि पुरुषवादी छैनन् तर धेरै नारीहरू पुरुषवादी छन्, पितृसत्ताका पक्षपोषक छन् । यसमा नारीवादीको नजर पुग्नु पर्छ । यसर्थ नारीको शत्रु पुरुष हुनै सक्दैन । संसारमा लैङ्गिक समानता नहुनुमा नारी पुरुष दुवैको हात छ, अझ यस्तो भन्दा अत्युक्ति नहोस् कि यसमा नारीकै हात एक बित्ता, एक आँसु, एक सेकेन्ड जे भए पनि पुरुषको भन्दा बढी छ । यता तान्यो उता छोटो उता तान्यो यता छोटो, यो साधन सीमितताको अर्थशास्त्रीय मान्यता हो । कोही बढी हुनुमा कम हुनेको धेरै ठुलो देन हुन्छ, या कमजोरी । यो महागणित मननयोग्य छ । तर सृष्टिमा सन्तुलन चाहिन्छ, सन्तुलनमा मात्र शान्ति र स्थायित्व एवं विकासको सम्भावनालाई मलजल पुग्छ । सन्तुलनले मात्र अस्तित्वको लामो यात्रा तय हुन सक्छ । असन्तुलित जीवनको डुंगा धेरै पर पुग्न सक्दैन ।

मानव समुदाय सदियाँैदेखि विभिन्न वाद र सिद्धान्तहरूबाट पिल्सिदै आएको छ । विभिन्न वाद र मान्यताको भारी मस्तिष्कमा बोक्दा बोक्दा स्वत्व हराएको छ । धेरैपल्ट आफू मानव भएको हेक्का राख्दैनन् मान्छेहरूले । जति हिन्दु, बौद्ध, मुसलमान, इसाई, गान्धीवादी, मार्क्सवादी, पुँजीवादी भएको हेक्का राख्दछन् । आफ्नो वाद र आफूलाई मात्र सर्वश्रेष्ठ ठान्दछन्, बाँकी सब झारपात । जब मान्छेहरू वादका लागि लड्दछन् त्यहाँ मानवता मरिरहेको हुन्छ । नारीवाद र पुरुषवाद पनि यिनै मध्येका हुन् । यी बाधहरूले सम्बन्धमा दरार ल्याउँदछन् । नारी र पुरुषबिच द्धन्द निम्त्याएका छन् ।

भौतिक रूपमा नारी पुरुषबिच भेद छ, जुन सृष्टिको लागि जरुरी छ । तर भेदभाव हामीले जन्माएका हौँ, जसको सम्भावना पनि मर्नु पथ्र्यो । भेदभावले गर्दा नारी पुरुष बिच निकै फराकिलो दुरी सृजित भएको छ । नारी र पुरुषबिच माल र मालिककोजस्तो सम्बन्ध होइन, परिपूरकको सम्बन्ध हुनुपर्छ, किनकि एक अर्का बिना कसैको अस्तित्व कल्पना पनि गर्न सकिन्न । सृष्टिलाई दृष्टिगत गर्दा स्रष्टाको मनसाय पनि यही बुझिन्छ । तर ठिक उल्टो भएको छ, नारीलाई साधन बुझिएको छ, यति मात्र होइन बजारमा जवानीको विज्ञापन गर्दै घटिघटाउमा टेन्डर आह्वान गर्दछन्, पुरुषवादी नारीहरू । यो पुरुषवादको चरम सीमा हो ।

पुरुषवादको विकल्प नारीवाद हुन सक्दैन । दुवैको विकल्प समानता र सहअस्तित्व हो । नारीवादी आन्दोलनहरूले नारीको अस्तित्व र महत्त्व बोध गराएका छन्, चेतना स्तर र जीवनस्तर केही हदसम्म त माथि उठाएका छन् तर एक सामाजिक विशृंखलताको सृजनामा इँटा पनि थपेका छन्, सामाजिक संरचना विरुप बन्दै छ, र समाजको भविष्य अन्धकारतर्फ धकेलिँदै छ, किनकि यो पुरुषको विरोधी वादको रूपमा विकसित हुँदैछ, जसरी पुरुषवादले नारीको सहअस्तित्व स्वीकार्र्दैन, त्यस्तै । यसले नारीको सबैभन्दा ठुलो शत्रु पुरुष हो भन्ने भ्रम छर्दै छ । जबकि नारी र पुरुष एक आत्माका दुई स्वरूप हुन्, एक अर्का बिना अधुरो र अपुरो हुन्छन् । नारीवाद र पुरुषवाद दुवै अप्राकृतिक हुन् ।

प्रकृतिको विरुद्धमा हुने जुनसुकै कामको परिणाम नमीठो हुन्छ । यो दुर्भाग्यपूर्ण हुन्छ । आज नारीहरू पनि श्रेष्ठताको होडमा छन् । पुरुषको पहिरन लगाएर होस्, या अरू केही गरेर होस् श्रेष्ठ बन्न चाहन्छन् । पुरुषको पहिरन लगाउँदैमा पुरुष भइन्न । पुरुष हुनु नै किन पर्‍यो भगवानले नारी जो बनाएका छन् । पुरुषको पहिरन प्रतिको आशक्तिले नारी भित्र रहेको पुरुषको श्रेष्ठताको स्वीकारोक्ति लाई सङ्केत गर्छ । जसरी आज पश्चिमा शिक्षा र संस्कृति हाम्रो समाजमा हाइ हाइ को विषय भइरहेको छ । यसबाट हाम्रो आफ्नो शिक्षा पद्धति, भाषा र संस्कृतिलाई भन्दा पश्चिमा संस्कृतिको श्रेष्ठतालाई स्विकारिएको बुझिन्छ । यसले हामी पश्चिमा त बन्न सक्दैनौ तर हामी हामी रहँदैनौ, अरूजस्तो बन्ने होडमा हामी हराएको हामीलाई नै हेक्का हुँदैन । जुन गलत हो । मेरो चिन्ता यो हो कि नारी पुरुष बनेर सकियो भने सम्बन्ध, समाज र सृष्टिको के हालत हुन्छ ?

नारीवाद र पुरुषवादबिचको सर्वश्रेष्ठताको होड चल्दै गयो र नारी पुरुष बिच म श्रेष्ठ भन्ने दुर्भाव बढ्दै गयो भने समन्वय र सहकार्य पनि समाप्त हुनेछ र सम्बन्ध सिसाजस्तै चकनाचुर हुनेछन्, आस्थाका धरहराहरू गर्ल्यामगुर्लम ढल्नेछन् र भत्किनेछन् सामाजिक संरचनाहरू । यस्तो पनि हुन सक्छ कि वर्तमानका हल्का प्रेम सम्बन्धहरू पनि कथा हुनेछन् र चाकरीका कथा भनेर कथाहरू पनि आलोचित हुनेछन् । त्यो पुस्ताले सम्बन्धको सपना पनि देख्ने छैन र खाली सम्झौताको जिन्दगी उकुसमुकुसपूर्ण, अस्वतन्त्र हुनेछ । त्यो पुस्ता सम्झौताको पिँजडाभित्र फ्रिडम भनेर कराउनेछ । तर त्यो समय फ्रिडमको नगरबाट गुज्रिसकेको हुनेछ । त्यसैले भविष्यको सुरक्षा र वर्तमानको जगेर्ना गर्न, वर्तमानको सम्बन्धको सिलसिला भविष्यसम्म जारी राख्न बाधहरूबाट मुक्त होऔँ र समानताको वकालत गरौँ ।

आज संसारमा सम्बन्ध विच्छेदको दर बढिरहेको छ । सिंगल बस्नेको सङ्ख्या पनि बढ्दै छ । समलिङ्गी विवाह अस्तित्वमा छ । बहुविवाह अस्तित्वमा छ । बलात्कार बढेको छ । मृत्युको डर लागोस् नलागोस् पुरुषको डर सबै नारीलाई हुन्छ । यति मात्र होइन पुरुषले नारीलाई नरकको द्धार ठान्छ, कामको वशमा भएकोले मात्र उ नारीको निकट जाने आँट गर्छ । तथापि नरकको द्धार कसले ढक्ढकाउँछ र ? आज संसारमा नारीलाई पढाइ हुने छुट्टै विद्यालय स्थापना भएका छन् ।
नारी पुरुषबाट र पुरुष नारीबाट बच्न चाहन्छन् । विवाहलाई पितृसत्तात्मक सामाजिक व्यवस्थाको देन मान्न थालिएको छ । प्रेम अल्पमतमा परेको छ र अस्तित्व र श्रेष्ठताको होड चलिरहेको छ । यो स्थिति सृजना हुनुमा नारीवाद र पुरुषवाद दुवैको समान योगदान छ । महिला र पुरुष अर्धनारीश्वरजस्तै एकाकार हुनु पर्नेमा यिनै वादका कारण अलग भएर विपरीत ध्रुवमा खडा हुँदै छन् । नारीवाद र पुरुषवाद दुवैको अवसान गरेर सहअस्तित्वको नारा बुलन्द गर्नु आजको आवश्यकता हो ।

अबको हरेक आन्दोलनको उद्देश्य समानता हुनुपर्छ । सबै मानिसहरू समान हुन्, त्यसैले समान हुनुको भाव सबैलाई बोध गराउनु समानताको आन्दोलन हो । एउटा समस्याको समाधान अर्को समस्याको सृजनाले हुन सक्दैन । पुरुषको विरुद्धमा नारीवाद र नारीको विरुद्धमा पुरुषवाद उभिनु हुँदैन । पुरुषवाद र नारीवाद दुवै मानवअधिकारको विरुद्धमा छन् ।

क्षणभंगुर हाड मासुको संरचना भेद मात्र हो नारी र पुरुष, आत्मा, जो मर्दैन, डग्दैन, सत्य सनातन हुन्छ, त्यसमा कुनै लैङ्गिक भेद छैन । त्यसैले सृष्टिको निरन्तरता, प्रेमको सम्मान र सम्बन्धको गतिशीलता एवं मानव विकासका लागि नारी पुरुष समानताको अर्को विकल्प छैन ।

आज नारी दिवस । नारी दिवसले नारीको सम्मान र परम्परादेखिका विभिन्न गलत मान्यता एवं अभ्यासलाई तोड्दै समानता र सहअस्तित्वको वकालत गरोस् । कम्तीमा नारी दिवस मनाएर घर फर्केका नारीहरू रजस्वला हुँदा छाउगोठमा नबसुन् र नारी दिवस मनाएर घर फर्केका अभिभावकहरूले दाइजो दिएर छोरी अन्माउनु नपरोस् ।

श्रीमान् बन्न र श्रीमती बनाउन होइन जीवनसाथी बनाउन विवाह गर्ने मानसिकता विकास होस् । नारीको सम्मान होस् पुरुषको सम्मान होस् । यदि नारी दिवस पनि पुरुषको विरोध गर्ने दिनको रूपमा मनाइन्छ भने भाडमा जाउन् यस्ता नारी दिवसहरू, सृष्टिको दिर्घायुका लागि सहअस्तित्व र समानताको दिवस, सम्बन्ध र प्रेमको दिवस मनाउनु पर्दछ । सकारात्मक सोचले सकारात्मक ऊर्जाको आह्वान हुन्छ । त्यसैले सकारात्मक सोचौँ । सबैलाई नारी दिवसको असीम शुभकामना ।

फाल्गुन २४ गते, २०७५ - १७ः११ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg