विकासका लागि अवसरको खोजी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विकासका लागि अवसरको खोजी


२४ फाल्गुन २०७५, शुक्रबार


महिला

उनी धादिङकी एक महिला । जसको परिचय सिर्फ कामले दिँदा उपयुक्त हुन्छ । अथवा कामबाट चिनिएकी आमा ।

बिहानको चार बजेदेखि सुरु हुन्छ उनको दैनिकी । पुस महिनाको चिसो, एक सरो लुगा । खाली खुट्टामै घरधन्दा सुरु हुन्छ । भैँसीलाई पानी तताएर खुवाउनु पर्छ । २ ओटा गाई छन् । यसलाई पनि घाँस हालेपछि बेलुका माझ्न नभ्याएर राखिएका भाँडातर्फ उनको हात लम्किन्छ ।

जहानले खाएको थाल कचौरा, तरारी पकाइएका भाँडा माझेपछि घरको कसिङ्गर निकाल्ने र घर पोत्न सुरु गर्छिन् । उनले घर पोतिसक्दा पनि घरका अरू जहान उठेका हुँदैनन् ।

पानी नल्याए त कसरी चल्छ र ? आधा घण्टाको दुरीमा घरदेखि तल कुवाको पानी लिनु उनकै ठेक्का परेको छ । एक गाग्री पानी ल्याएपछि बल्ल घरका मानिसहरू उठ्ने तरखर गर्छन् ।

गाइभैसी दुहुने र श्रीमान्, छोरी छोरालाई खुवाउन पनि उनी भ्याउँछिन् । अब भने घाँस काट्ने बेला भयो । चिसो मौसम कोही बाहिर निस्कन मान्दैन । घरकी आमा नै घाँसका लागि नाम्लो डोको लिएर निस्कने तरखर गर्छिन् । यही बेला कराउँछन् उनका श्रीमान् । चाँडै घर आउनु है खाना खाएर गाउँको बैठकमा जान ढिला हुन्छ ।

गाउँका हर्ताकर्ता भनिएका उनका श्रीमान् गाउँमा खानेपानी, बाटो, विद्यालय, मठमन्दिर बनाउने गाउँवासीको बैठक रहेछ । आमा जान सक्ने अवस्था छैन, श्रीमान् गाउँ पुगेर विकासका कुरा गर्छन् । हामीले नै विकासका लागि मेहनत गर्नु पर्छ । उनका कुरा ठुला थिए । तर घरमा रहेकी उनकी श्रीमतीले भने यो विषयमा नै अनभिज्ञ थिइन् ।

खाना खाएपछि श्रीमान् गाउँतिर निस्कन्छन् । उनी भने गाईबस्तुलाई पानी खुवाउने, गोठालो जाने र घाँस दाउरा गर्दैमा रात पर्छ । श्रीमान् घर आइपुगेका हुन्छन् तर खाजा बनाउन उनै श्रीमतीलाई हतार हुन्छ । गाउँका त्यति धेरै मानिसको नेता मेरो श्रीमान्लाई भोक लाग्छ भन्ने जानेर उनले खाजा खुवाउनु पर्छ । ढिला भयो कि हप्की खानु पर्छ । बेलुका खाना खाएर अरू ओछ्यानतर्फ पुग्छन् , उनी भने घरधन्दा सक्नमै जोतिनु पर्छ । त्यतिखेर सबै जहान निदाइसकेका हुन्छन् ।

समाजको एउटी आमाको यो दिनचर्या नियमित छ । हालका दिनका केही खुकुलोपना होला । केही गुनासोहरू आउलान् । तर सामाजिक रूपमा अगुवा भनेका श्रीमान् नै हुन् । उनी त केवल घर कुरुवा वा कुनै काम गर्दिनन् ।

श्रीमान् दिनभर काम गर्छन् । घर धान्छन् । परिवारको हेरचाह गर्छन् । यही कुरा चलेको छ । तर उनको कामलाई तथ्यमा आधारित रहेर हेर्ने हो भने आमा के गर्न सक्दिनन् र ? बेलुका सबैभन्दा ढिला घरकै काम गरेर सुत्छिन् । बिहान अरूको निन्द्रा नखुल्दै उठ्छिन् । घर गोठ सब ठाउँको काम भ्याउँछिन् । आफूभन्दा पहिले नै बेलुका सुतेकाहरू उठ्दा उनी भात पकाएर ठिक्क पार्छिन् सबैलाई खुवाएर गोठालो मेलापात गर्छिन् ।

श्रीमानलाई  गाउँको भद्र भलादमी सभामा जानका लागि तयार हुने गरी सहयोग गर्छिन् र तर यही आमा वा उनी केही गर्दिनन् ?

यो प्रतिनिधि घटना मात्रै हो जसले आफूले घरमा सबै काम गरे अरूका लागि जीवन गुजार्छिन् उनी नै काम नगर्ने ठहरिएपछि समाज विकास कसरी भयो भन्न सकिन्छ ?

घरको कामको कुरा गर्ने हो भने खाना पकाउन, भाडा माझ्न, घाँस दाउरा गर्न, लुगा धुन भकारो सोर्न सँगै मिलेर गर्न सक्नु नै महानता हो । अझ अघि बढेर भन्ने हो भने घरको काम सँगै मिलेर सकेपछि श्रीमान् श्रीमती दुवै जना गाउँ विकासको भेलामा जाने वातावरण बनाइनुलाई प्रगतिशील भन्न सकिन्छ ।

गाउँको विकास भनेको बाटो, पानी, शिक्षा, कृषिको आधुनिकिकरण आदिमा आमा सहभागी भइन् भने मात्र उनले धारो कहाँ राख्ने, सबैलाई पायक पर्ने गरी सडक कताबाट खन्ने, गाउँमा बढी दुःख पाएको को छ उसलाई पहिले सहयोग गर्ने, सुत्केरी भएकी महिलाको समस्या अनुसारको सामाजिक योजना बनाउन सक्नेछिन् । बलियो र कमजोरले बराबरी काम होइन, जसले जति क्षमता छ उति काम गर्नु पर्छ भन्ने धारणाको विकास हुने छ । आमाले विभेद गर्ने छैन । यो पाटोतर्फ हामीले हाम्रो व्यवहारलाई परिवर्तन गर्न नसक्दा हामी कमजोर भएका छौँ । विकास र सामाजिक रूपमा हुने भेदभाव अन्त्यको लागि काम गर्न सकिरहेका छैनौँ ।

अहिले समानताको आधारमा सबै बराबर छौँ भन्ने भावना राख्दा विकासका काममा हामी अघि बढ्नै नसक्ने गरी पछि परिरहेका हुने छौँ किनकि समान भनेको बलिको मानिस र कमजोर मानिसलाई ८० किलोग्रामको भारी बराबरी बोकेर हिँड्न लगाउनु जस्तै हो । बलियो मानिसले भारी बोकेर अघि बढ्छ । कमजोर मानिस भारीले थिचिएर मर्छ । अथवा एउटा गरिब मजदुरले गाउँमा औषधी खरिद गरेर खान नपाएर मरिरहेको हुन्छ । गाउँका साहु भएका मानिस महँगो सुविधा सम्पन्न अस्पतालमा थप सुविधा लिएर उपचार गराइरहेको हुन्छ । बराबरी अधिकारले हामीलाई अहिलेको अवस्थामा अघि बढ्न बाधा दिइरहेको छ । यही भेदलाई मध्यनजर गर्ने हो भने पनि हामी विकासका काम गर्न सक्ने छौँ ।

कमजोर भएकालाई सानो भारी बोक्न लगाउन र बलियो बनाउन उपायहरू अवलम्बन गर्नुपर्छ । आम्दानी नभएका मानिसहरूको आम्दानी बढाउन सरकारी नीति तय गर्ने निश्चित समयसम्म कमजोरहरूलाई सहयोग उपलब्ध गराउने र पछि समान अधिकारको रूपमा प्रतिस्पर्धा गराउने वातावरण बनाउनु नै विकासका लागि उत्तम उपाय हो ।

Tags :
प्रतिक्रिया दिनुहोस