प्रहरी कर्मचारीहरुले निर्धक्क भई काम गर्नुपर्ने : महानिरीक्षक खनाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी कर्मचारीहरुले निर्धक्क भई काम गर्नुपर्ने : महानिरीक्षक खनाल


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


सुर्खेत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले जनताको सेवा गर्ने र शान्ति सुरक्षा कायम गर्ने कार्यमा आउने जस्तोसुकै चुनौति र बाधा अडचनसँग नडराई निर्धक्क भई उच्च मनोबलकासाथ काम गर्नुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई बिहीबार साँझ निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई अक्षरस पालना गरी नागरिकको सेवामा हरदम तल्लीन हुनुपर्ने प्रहरी महानिरीक्षक खनालले बताए ।

समय अनुसार अझ परिष्कृत एवं व्यवसायिक प्रहरी सेवाद्वारा नागरिकको अपेक्षा पूरा गर्न हरदम कर्तव्यरत रहेको अवस्थामा यो सेवालाई अझै प्रभावकारी बनाउन उनले निर्देशन दिए ।

जघन्य अपराध र अपराधीप्रति विवेकसम्मत कठोर हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले गैरकानुनी क्रियाकलापप्रति कुनै पनि सम्झौता गर्न नहुने बताए । पीडितलाई न्याय दिने, आमनागरिकको मन जित्ने र नागरिकमैत्री व्यवहार प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायसँग नजिक रहेर काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले राम्रा उद्देश्यले गरेका कार्यमा सदैव संगठनको साथ रहने बताए ।

प्रहरी कार्यालयलाई साधन स्रोत सम्पन्न गराईने उल्लेख गर्दै उनले प्रहरी कार्यसँगै कार्यालय, कार्यालय परिसर तथा व्यक्तिगत सरसफाई चुस्त दुरुस्त राख्न प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन समेत दिए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले जिल्ला प्रहरी कार्यालय तथा कार्यालय परिसरको अनुगमन निरीक्षण समेत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस