अक्षयकोषका लागि पाँच लाख सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अक्षयकोषका लागि पाँच लाख सहयोग


२२ फाल्गुन २०७५, बुधबार


गलेश्वर । म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि एक व्यक्तिले पाँच लाख सहयोग गरेका छन् ।

विपन्न म्याग्देलीको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका बरङ्जा घर भई हाल हङकङमा बस्दै आएका हर्कमान घर्तीले कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनमगरलाई उक्त सहयोग गरेका हुन् । कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएर बिरामी र अर्थाभावका कारण औषधि उपचारबाट बञ्चित १०१ म्याग्देलीलाई एक करोड ८२ लाख सहयोग जुटाएको छ । ओमकुमारी शान्तिकोष चार वर्षअघि स्थापना भएको हो ।

कोषले मुटु, मिर्गौला, क्यान्सरलगायत जटिल रोगबाट थलिएका म्याग्देलीलाई सघाउन रु एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग सङ्कलन अभियान सञ्चालन गर्दै आएको छ । कोषको ब्याजबाट बिरामीको उपचारमा सहयोग गर्ने संस्थाको योजना छ ।

क्यान्सरपीडित रोकालाई साढे दुई लाख सहयोग

म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशी, रातोढुङ्गाका वोन क्यान्सरपीडित १७ वर्षीय गजिन रोकामगरलाई युकेमा कार्यरत नेपालीले दुई लाख बढी आर्थिक सहयोग गरेका छन् ।

एक वर्षदेखि वोन क्यान्सरबाट पीडित रोकामगरलाई युकेमा कार्यरत दुखु निवासी समाजसेवी दलबहादुर रोकामगरको संयोजकत्वमा त्यहाँ कार्यरत नेपालीबाट सङ्कलित दुई लाख ४६ हजार ८५२ सहयोग गरेका हुन् ।

मङ्गलबार सहयोग सङ्कलन अभियान संयोजक एवं समाजसेवी दलबहादुर रोकामगरले एक कार्यक्रमबीच स्थानीय युवा क्लब, आमा समूह तथा विभिन्न सरोकारवालको उपस्थितिमा पीडित रोकामगरको बुबा खगेन्द्र रोकामगर र आमा मनकुमारी रोका मगरलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै संयोजक रोकामगरले अकल्पनीय रोगसँगै चरम अर्थाभाव झेल्दै आएका परिवारमा परेको ऋणभारलाई कम गर्न सहयोग गरिएको बताए ।

रोका मगरका बुबा खगेन्द्रले विदेशमा आफ्नो पसिना बगाएर कमाएको पैसा आफूहरुलाई सहयोग गरेकामा धन्यवाद तथा आभार व्यक्त गरे ।

पीडित रोकामगरको वोन क्यान्सरका कारण देब्रे हात काटिएको छ । निम्न आर्थिक अवस्था रहेको रोका परिवारलाई उपचारको क्रममा ठूलो ऋण लागेको पीडित बुबा खगेन्द्रले बताए । पीडित रोकामगर दरबाङमा रहेको जनप्रिय माविमा कक्षा ९ मा अध्ययनरत छन् ।

महाशिवरात्रिमा तीन लाख बढी भेटी

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एकैदिन रु तीन लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रिको अवसरमा मन्दिरमा दर्शन गर्न आएका भक्तजनबाट रु तीन लाख १४ हजार २५० भेटी सङ्कलन भएको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले बताए।

भेटीको दुरुपयोग हुन नदिन नियमित रूपमा भेटी सार्वजनिक गर्ने गरिएको छ । शिवरात्री, बालाचर्तुदशी, साउन महीनाका हरेक सोमबारलगायतका पर्वको दुई दिनभित्र भेटी सार्वजनिक गर्ने गरिन्छ । गत वर्षको शिवरात्रिमा दुई लाख ६६ हजार १८८ भेटी सङ्कलन भएको थियो ।

गलेश्वरमा महाशिवरात्रिमा करीब ५० हजार भक्तजनले दर्शन गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए । गलेश्वरमा शिवरात्रिमा दर्शन गर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलवस्तुलगायत जिल्लाबाट भक्तजन आएका थिए ।

मन्दिरमा सङ्कलन भएको भेटी संस्कृत पाठशाला सञ्चालन, ज्येष्ठ नागरिक आश्रमलगायत धार्मिक, सामाजिक र भौतिक निर्माणका क्षेत्रमा खर्च गर्ने गरिन्छ । कृष्णागण्डकीबाट उठेर नौ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस