सुर्खेत बुलबुल ताल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्खेत बुलबुल ताल


प्रशासन संवाददाता

१७ फाल्गुन २०७५, शुक्रबार


सुर्खेत । ‘सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो माया जाल’ लोक गीतले बुलबुले ताललाई मात्र नभई सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ ।

लोक सङ्कलक प्रेमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेर्कड भएका यो गीतले बुलबुले तालसँगै सुर्खेत जिल्लालाई नै चर्चित बनायो । अहिलेजस्तो यातायात र घुम्ने संस्कारको विकास नभइसकेको त्यो समयमा रेडियो नेपालबाटै सुर्खेत जिल्ला र बुलबुले तालबारे धेरैले थाहा पाए ।

रेडियो नेपालबाट बारम्बार गुन्जिरहने हुँदा अधिकांशको जनजिब्रोमा बस्न सफल भयो–सुर्खेत अनि, बुलबुले ताल । गीतकै प्रभाव हुनुपर्छ, आगन्तुक बुलबुले ताल नहेरी फर्कंदैनन् । तालमा बोटिङ गर्ने, बगैँचामा अवलोकन गर्ने र फोटो/सेल्फी खिचेर भ्रमणलाई यादगार बनाउने जोकोही लालायित हुन्छन् ।

बुलबुले उद्यानका व्यवस्थापक सन्तोष केसीका अनुसार पछिल्ला केही वर्ष यता दैनिकजसो अवलोकन भ्रमणमा आउनेले बुलबुले खचाखच हुने गरेको छ । ‘काम विशेषले कर्णाली प्रदेश आउनेदेखि रारालाई मुख्य गन्तव्य बनाउनेले समेत यसलाई छुटाएको पाइँदैन्’, उनले भने, ‘बुलबुले ताल सानो भए पनि यहाँको उद्यानले पर्यटकलाई लोभ्याउने गरेको छ ।’ अचेल यहाँ सुर्खेतका मात्र होइन बाह्य जिल्लाका पर्यटकको बाक्लो भीड लाग्ने गर्दछ ।

गीत–सङ्गीतका माध्यमले बुलबुलेको प्रवर्द्धन हुन थालेको ४५ वर्ष बिते पनि यसको भौतिक विकासले भने बल्ल गति लिँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले पहिलोपटक बृहत् बुलेबुले क्षेत्र विकास गुरुयोजना निर्माण गरेको छ । गुरुयोजना निर्माणले भौतिक संरचना विकासको बाटो खुलेको छ ।

त्यसो त, गुरुयोजना बन्नुपूर्व गत वर्षदेखि ताल, पार्क (उद्यान) व्यवस्थापनको शुरुआत गरिएको थियो । समितिले पाँच लाख खर्चेर गुरुयोजना निर्माण गरेको हो । ३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ । नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले गुरुयोजनाअनुसार अझ यसलाई रमणीय बनाउन आवश्यक बजेटको व्यवस्थापनमा जुटिरहेको बताए ।

‘बुलबुलेलाई केवल ताल र पार्कमै सीमित राख्दैनौँ, यो प्रदेशकै महत्वपूर्ण सम्पदा हो’ अध्यक्ष कोइरालाले भने, ‘थप संरचना बनाउन प्रदेश सरकारसँग बजेट मागेका छौँ ।’ गुरुयोजनाको मर्मअनुसार नै वीरेन्द्रनगरका प्रमुख पर्यटकीय गन्तव्य बुलबुले र काँक्रेविहारलाई हालै सडक सञ्जालमा जोड्ने कार्य सम्पन्न भएको छ । बुद्धको ठूलो प्रतिमा स्थापना गरिएको छ । ताल परिसरकै उद्यानमा तत्कालीन राजा वीरेन्द्रले १ महीना यहीँ बिताएका थिए । जसले गर्दा बुलबुलेको गरिमा उँचो हुन पुगेको स्थानीयवासीको भनाइ छ ।

गुरुयोजनाअनुसारकै संरचना निर्माण गर्न करीब रु ३१ करोड बजेट खर्च हुनेछ । स्विमिङ पुल, स्नान घर, बोटिङ, ताल वारपार गर्न पुल, पिकनिकस्थल, बाल उद्यान, बुलबुले प्लाजा, टिकट घर, मन्दिर, पार्किङ, पर्यटन सूचना केन्द्र र कार्यालय भवनजस्ता संरचना निर्माण गर्ने नगर विकास समितिको योजना छ । त्यस्तै, ताल क्षेत्रलाई पनि विस्तार गरिनेछ । यसअघि जथाभावी प्रयोगमा आउने गरेका पिकनिकस्थललाई व्यवस्थित बनाइएको छ । पिकनिकका लागि आवश्यक सामग्री त्यहीँ किन्न सकिने व्यवस्था मिलाउन लागिएको अध्यक्ष कोइरालाले बताए ।

बुलबुलेमा हाल खुल्ला स्थानमै नुहाउने गरिन्छ । अब महिला–पुरुषका लागि बेग्लाबेग्लै स्नान घर बनाउने योजना अघि सारिएको छ । जिल्ला समन्वय समितिका उपसंयोजक देवी भट्टराई बुलबुलेलाई अझै सुन्दर एवं व्यवस्थित गराउन ढिलाइ गर्न नहुने बताउछन् । ‘प्रदेश राजधानीको मुटुमै रहेको यो आर्कषक गन्तव्य हो, यसका लागि कुनै पनि निकायले बजेट छुट्याउन आनाकानी गर्नुहुँदैन’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस