डोको बुन्न भ्याइनभ्याइ, उमेरले ५६ तर जोश र जाँगर युवा जस्तै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोको बुन्न भ्याइनभ्याइ, उमेरले ५६ तर जोश र जाँगर युवा जस्तै


प्रशासन संवाददाता

१६ फाल्गुन २०७५, बिहिबार


बेझाड । रामपुर नगरपालिका–५ सानीअमराई बस्ने चिमनारायण मानन्धरले ५६ वर्षको समय डोको बुनेर बिताए । उमेरले डाँडापारिको घाम बनेका मानन्धरको डोको बुन्ने कार्यमा अझै पनि जवानी अवस्थाकै जस्तै जोश जाँगर देखिन्छ ।

यो उमेरमा पनि उनी आफैँ बाँसको चोया काँढेर डोको बुन्ने गर्छन् । ‘आफैँ बाँस खोज्न गाउँ गाउँमा जान्छु, घर ल्याएर चोया काँढ्छु, दिनभर डोको बुन्छु’, उनले भने । दिनमा चोया काँढेर उनले एक वटा डोको सिध्याउछन् ।

मानन्धरले एक वटा डोकोको मूल्य रु २५० देखि ३०० सम्ममा बिक्री गर्छन् । ‘डोकोको माग गाउँघरमा बढिरहेको छ, डोको बुनेर नसक्दासम्म ग्राहक पर्खेर घरमै बसिरहन्छन्’, उनी बताउछन् । ‘हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने र बूढेसकालमा दिन बिताउने बाटो पनि बनेको छ’, मानन्धर भन्छन् । उनले सानै उमेरदेखि बाउँबाजेसँग डोको बुन्ने सीप सिकेर व्यावसायिक रुपमा जीवनभर यो पेशा अंगालेका हुन् ।

‘डोको बुनेर पहिला त छोराछोरीको पढाइ खर्च, घरखर्च चलाउँथे, अब त छोराछोरी सबै आआफ्नै पेशा व्यवसायमा लागेका छन्, डोको बुनेको केही रकम बैँकमा जम्मा गर्दै आएको छु’, मानन्धरले बताए ।

जीवनको अन्तिम समयसम्म पनि डोको बुन्ने उनको इच्छा छ । यस क्षेत्रमा डोको बुन्ने जनशक्ति कम हुँदा मानन्धरलाई डोको बुन्न यतिबेला भ्याइनभ्याइ छ । डोको बुन्ने व्यवसाय सँगसँगै किराना पसल पनि उनले चलाएका छन् । पसलमा बसेर डोको बुन्ने गर्छन् ।

विदेशको खाडीमुलुकमा गएर पसिना बगाउनुभन्दा घरमै बसेर डोको बुनी परिवार पाल्न युवापुस्तालाई उनी अनुरोध गर्छन् । हातमा सीप भयो भने जीवन बिताउन समस्या छैन । ज्येष्ठ नागरिक मानन्धरको व्यवसाय सबैका लागि उदाहरणयोग्य छ ।

प्रतिक्रिया दिनुहोस