भक्तपुर । काठमाडौं उपत्यकामा आज हिमपात भएको छ । उपत्यकाका काठमााडौं, ललितपुर र भक्तपुरमासमेत आज हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ ।
भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ ।
हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । हिमपातले भक्तपुर हुँदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध भएका छन् ।
हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न आउने क्रम भने बढेको छ । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् ।