स्ववियु निर्वाचन फागुनमा नहुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्ववियु निर्वाचन फागुनमा नहुने


प्रशासन संवाददाता

१३ फाल्गुन २०७५, सोमबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुनमा नहुने भएको छ ।

फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ । त्रिविले फागुनमा निर्वाचन गर्ने तयारी गरे पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो । विसं २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो ।

त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचनको तयारी गर्नुपर्ने भएकाले फागुनमा नै स्ववियु निर्वाचन गर्न नसकिने बताए । उनले सबै विद्यार्थी सङ्गठनलाई निर्वाचनमा सहभागी गराउने गरी चैतमा निर्वाचन गर्ने बताए ।

उनले कुनै सङ्कायको परीक्षा नपर्ने गरी चाँडै नै कार्यतालिका सार्वजनिक गर्ने बताए । त्रिविले अहिले सवै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षाको कार्यतालिका माग गरेको छ ।

‘हामीले सबै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा छलफल गरी परीक्षाको कार्यतालिका माग गरेका छौँ’, उनले भने,’परीक्षाको कार्यतालिका हेरेर कसैको परीक्षा नपर्ने गरी हामीले निर्वाचनको कार्यातालिका प्रकाशित गर्छौँ ।’

त्रिविले यसअघि सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ । त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त गरी करीब १ हजार क्याम्पसमा स्ववियु निर्वाचन हुने गरेको छ । २/२ वर्षमा गरिने निर्वाचन २०६५ यता त्रिविमा विद्यार्थी सङ्गठनका कारणले पूर्णरूपमा हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस