बर्दिया राजापुरका किसान धानको बीउ मर्न थालेपछि चिन्नित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बर्दिया राजापुरका किसान धानको बीउ मर्न थालेपछि चिन्नित


प्रशासन संवाददाता

१३ फाल्गुन २०७५, सोमबार


धम्बोजी । दुई बाली धानखेती गर्न सकिने भन्दै हौसिएका बर्दिया राजापुरका किसान चैते धानको बीउ मर्न थालेपछि चिन्नित बनेका छन् ।

भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान उत्पादनको दृष्टिले उपयुक्त मानेर राजापुर क्षेत्रलाई प्रधानमन्त्री कृषि सुपरजोनसमेत घोषणा गरिएको हो । राजापुरमा चैते धानको बीउमा ढुसीजन्य रोग लागेको स्थानीयवासी शान्ति थारूले बताए ।

राजापुरमा दुई बाली धानखेती गर्न सकिने प्रशस्त सम्भावना देखिएपछि किसानलाई कृषि सेवा केन्द्रबाट धानको बीउ अनुदानमा वितरण गरिएको थियो ।

‘धानको बीउ राम्ररी त उम्रियो तर बेर्ना मर्न थालेको छ’, थारूले भने । प्राविधिकले भनेझैँ मेहनत गरी १० कट्ठामा बीउ रोप्न राखे पनि बीउ मरेर सकिन थालेको उनको भनाइ छ । ‘बजारबाट विषादी ल्याएर त छरियो तर बीउ हुने नहुनेमा आफू दोधारमा परेकी छु’, थारूले भने ।

धानको बेर्नामा रोग लागेको गुनासो लिएर आएका किसानको खेतमा प्राविधिक टोली पठाइने र आफू स्वयं पनि जाने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यक्रम राजापुरका वरिष्ठ कृषि अधिकृत वीरेन्द्र पराजुलीले बताए ।

क्षेत्रीय बीउबिजन अनुसन्धान केन्द्रबाट पनि विज्ञ टोली बोलाएर किसानलाई प्राविधिक सहयोग गर्न सकिने पराजुली बताउछन् । ‘चैते धानको बेर्ना जरै कुहिएर मरेको भए बीउ बिग्रने तर टुसा मात्र मरेको रहेछ भने फेरि बेर्ना पलाउँछ’, उनले भने । बीउमा विषादी ल्याएर छर्न कृषकलाई अनुरोध गरिएको पराजुली बताउछन् ।

प्रतिक्रिया दिनुहोस