आन्तरिक पर्यटकमा निर्भर सौराहा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आन्तरिक पर्यटकमा निर्भर सौराहा


प्रशासन संवाददाता

१३ फाल्गुन २०७५, सोमबार


भरतपुर । नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा ‘वाइल्डलाइफ’ पर्यटनका लागि प्रसिद्ध छ । सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज, जनावर, पक्षी र थारु संस्कृतिमा अडिएको छ । हात्ती चढेर जङ्गल घुम्ने, वन्यजन्तु हेर्न, राप्ती नदीमा डुङ्गा सयर गर्न, सूर्यास्त हेर्न र थारु संस्कृतिको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गरेका छन् ।

कुनै समय विदेशी पर्यटकले भरिभराउ हुने सौराहामा पछिल्लो समय स्वदेशी पर्यटकमा निर्भर छ । भूकम्पपछि सुस्ताएको सौराहाको पर्यटनलाई अहिले आन्तरिक पर्यटकले चहलपहल बढाएको क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष सुमन घिमिरे बताउछन् ।

आन्तरिक पर्यटक बढेर ४० प्रतिशत पुगेका छन् । उनले भने, ‘सन् २०२० सम्म ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखेका छौं ।’ सन् २०१७ सम्म ३० प्रतिशत रहेको अन्तरिक पर्यटकको आगमन २ वर्षमा १० प्रतिशतले बढेको हो ।

अध्यक्ष घिमिरेले आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक भित्र्याउन ध्यान दिनुपर्ने बताए । ‘वाइल्डलाइफ पर्यटनमा अझै सोचेअनुसार बाह्य पर्यटक ल्याउन सकिएको छैन, यसका लागि हाम्रो पहुँच पनि कम छ’, उनले भने । निकुञ्ज घुम्नेमा विदेशी पर्यटक बढी भए पनि समग्रमा चितवन आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आउनु चिन्ताको विषय बनेको उनको भनाइ थियो । पूर्वाधार तथा हवाई सञ्जालको कमीले नेपालमा विदेशी पर्यटकको आगमनमा कमी हुन गएको बताइएको छ ।

भूकम्पसँगै नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणमा भएको कठिनाईले धरासयी यहाँको पर्यटन अहिले विदेशी भन्दा आन्तरिक पर्यटकले उकासेको व्यवसायीको अनुभव । सौराहा आउने अधिकांश पर्यटक स्वदेशी छन् । भारत, चीनसँगै सार्क राष्ट्रका केही पर्यटक मात्रै यहाँ आउने गरेका छन् ।

चितवन आउने विदेशी पर्यटकको रोजाइँमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । तर यहाँ आउने अधिकांश स्वदेशी पर्यटक सो निकुञ्ज कमै घुम्छन् । स्वदेशी पर्यटकको रोजाइमा नदीमा डुङ्गा चढ्ने, सामुदायिक वनमा हात्ती र जिप सफारी पर्ने गरेको छ ।

निकुञ्ज प्रवेशका लागि छुट्टै शुल्क लाग्ने र हात्ती सफारी नभएकाले निकुञ्ज घुम्ने नेपालीमा कमी आएको पर्यटन व्यवसायी दीपक भट्टराई बताउछन् । अर्का व्यवसायी दिपेश चौधरी पारिवारिक, शैक्षिक, सहकारी लगायतका सङ्घ संस्थाको भ्रमण र तालीम गोष्ठीले होटल व्यवसाय धानेको बताउछन् । मौसम शुरु भएपछि बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान छ ।

आर्थिक वर्ष २०७५/७६ को पुस मसान्त सम्ममा ५९ हजार ७९ विदेशी, १० हजार ३३८ सार्क र १८ हजार ७३४ स्वदेशी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् ।

एक सिङ्गे गैँडा यहाँको प्रमुख आकर्षण हो । निकुञ्ज मात्रै देखाएर पर्यटकको बसाइँ लम्ब्याउन नसकिने भएपछि विभिन्न कार्यक्रम समेत आयोजना गर्दै आइरहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी बताउछन्। उनी भन्छन्,’वार्षिक योजना अनुसार नै आन्तरिक पर्यटकलाई लक्षित गरे विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं ।

‘ सौराहामा नेपाली तथा अङ्ग्रेजी नयाँ वर्ष, प्रणय दिवस लगायतका अवसर पारेर कार्यक्रम आयोजना गरिन्छ । एक सय दश होटल र ६० रेष्टुरेन्ट रहेको सौराहामा स्वदेशी पर्यटक मात्रै ५० प्रतिशत पुगेमा यहाँको पर्यटन व्यवसाय ढुक्कले चल्नसक्ने व्यवसायीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस