शिक्षामा रहेको असमानता हटाउन आवश्यक : नेता पौडेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शिक्षामा रहेको असमानता हटाउन आवश्यक : नेता पौडेल


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षामा रहेको असमानता हटाउन आवश्यक रहेकामा जोड दिएका छन् ।

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको आज उद्घाटन गर्दै उनले सामुदायिक र निजी विद्यालयको शिक्षाको स्तर फरक रहेकाले विभेद र असमानता हटाउनुपर्ने बताए ।

उनले भने, ‘सामुदायिक विद्यालयमा शिक्षाको स्तर राम्रो नभएको देखिएको छ, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न आवश्यक छ, तब मात्र शिक्षामा देखिएको असमानता अन्त्य हुनेछ ।’ नेपालको संविधानमा सबै क्षेत्रमा विभेद र असमानता अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरिएकाले शिक्षाको विभेद हटाउनु आजको मुख्य चुनौती रहेको वरिष्ठ नेता पौडेलले बताए ।

उनले सामुदायिक विद्यालयको स्तर सुधार्न सबै प्रयत्नशील हुनुपर्नेमा जोड दिँदै व्यावसायिक र प्राविधिक शिक्षाको खाँचो रहेको बताए । दश वर्षसम्म विद्यालयमा अध्ययन गरेपछि बालबालिकाले केही न केही सिकेर विद्यालयबाट निस्कने वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन आवश्यक रहेको बताए । सो अवसरमा विद्यालयका जग्गादाता व्यास–१२ का बालकुमारी पन्त, भोजराज अधिकारी लगायतलाई वरिष्ठ नेता पौडेलले सम्मान गरेका थिए ।

साथै विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार २० विद्यार्थीलाई समेत जनही रु ५/५ सयको दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जानकारी दिए। विसं २०२६ मा स्थापना भएको विद्यालयमा हाल २५७ छात्रछात्रा अध्ययनरत् छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस