सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए ।

स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । डानमार्क भन्ने अर्को गाउँमा पनि १५ जना लुटेरा मारिएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

उत्तर पश्चिम नाइजेरियाको बिग्रदो शान्ति सुरक्षाको अवस्थाले राष्ट्रपति मोहम्मदु बुहारीमाथि चुनौती बढेको छ । आगामी शनिबार नाइजेरियामा राष्ट्रपतिको चुनाव हुँदैछ । चुनाव अघि भएका यी घटनाले राष्ट्रपति बुहारीको पुनः निर्वाचनलाई कठिन बनाएको छ ।

राष्ट्रपति बुहारीको राम्रो पकड रहेको तथा खेतीपाती र पशुपालन मुख्य पेशा व्यवसाय भएका यस क्षेत्रका जनताले सुरक्षा फौजले आफ्नो सुरक्षामा पर्याप्त ध्यान नदिएको गुनासो गरिरहेका छन् ।

“सुरक्षा फौजले ध्यान नदिएका कारण लुटेराको हातबाट मर्नुभन्दा लड्नु नै उचित ठान्न थालेका छौं,” नाम नबताउने एक स्थानीयबासीले बताए ।

डानीजिग्बा प्रदेश राजधानी गुसाउबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको छ । व्यापारिक केन्द्रका रुपमा रहेको डानिजिग्बामा पटकपटक आक्रमण हुने गरेको छ ।

आक्रमणका कारण धेरै मानिस अन्यत्र पलायन हुन बाध्य छन् । उनीहरु चाफे र काटसिना सहरतर्फ भाग्न विवश भएका छन् । यसै महिनाको शुरुमा पनि माडा जिल्लामा लुटेराहरुले २६ जना गाउँलेको हत्या गरेका थिए ।

गत जुलाईमा जामफारा राज्यमा पनि लुटेराहरुको आक्रमणबाट सन् २०१८ को छ महिनाको अवधिमा कम्तीमा तीनसय ७१ जनाको हत्या भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

गत डिसेम्बरमा एकजना स्थानीय नेताले आत्मरक्षाका लागि स्थानीयबासीलाई सरकारले नै बन्दुक राख्न अनुमतिका लागि आग्रह गरेका थिए ।रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस