सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण


७ फाल्गुन २०७५, मंगलबार


School

डोटी । पछिल्लो समय जिल्लाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएका कारण विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।

जिल्लाको शिखर नगरपालिका–१ केदारेश्वर मावि कपल्लेकी, आदर्श गाउँपालिकास्थित तलारा मावि, सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण मावि, दिपायलमा रहेको दिल्पेशवर मावि, जोरायल गाउँपालिका–१ मा रहेको घण्टेश्वर माविलगायतका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्न थालेको अभिभावक बताउँछन् ।

अन्य निजी स्कूलभन्दा पनि बढी यहाँका सामुदायिक विद्यालयमा पढाइ हुन थालेको भन्दै विद्यार्थीका अभिभावक तथा विद्यार्थीको रोजाइमा निजीभन्दा सामुदायिक विद्यालय पर्न थालेको दिपायलका स्थानीयवासी तथा समाजसेवी घनश्याम पाठकले बताए । उनले भने, “पछिल्लो समय डोटीका निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको पढाइस्तर बढेकाले निजी स्कूलमा पढ्ने विद्यार्थीसमेत सामुदायिक विद्यालयमा पढ्न आउन थालेका छन् ।”

अन्य जिल्लामा सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा यहाँका केही सामुदायिक विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकको दावी छ । यहाँका केही सामुदायिक विद्यालयमा प्रशस्त रूपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्ने बित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खड्क शाहीले बताए । उनले भने, “विद्यालयको पढाइदेखि अन्य वातावरणसमेत शान्त र अकर्षक भएकाले विद्यार्थीको रोजाइमा अहिले सामुदायिक विद्यालय पर्न थालेका छन् ।”

स्थानीय अभिभावकका अनुसार यहाँका सामुदायिक विद्यालयमा अहिले झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । डोटीसँगै जोडिएका अछाम, डडेल्धुरा तथा बैतडी जिल्लाका विद्यार्थीसमेत यहाँका सामुदायिक विद्यालयमा पढ्न आउन थालेको तलारा माविका प्रधानाध्यापक टेकबहादुर सिंहले बताए । उनले भने, “हामीले पढाइको गुणस्तरसँगसँगै अन्य वातावरण पनि राम्रो बनाएकाले हामीकहाँ जिल्ला बाहिरबाट पनि पढ्नका लागि विद्यार्थी आउन थालेका छन् ।”

यहाँका सामुदायिक विद्यालयले पछिल्लो समय आफ्नो पढाइको गुणस्तरमा सुधार ल्याएसँगै विद्यार्थी सङ्ख्या पनि बढाउन थालेको दिपायलका स्थानीय ज्ञानबहादुर केसीले बताए । उनले भने, “नाम चलेका यहाँका केही सामुदायिक विद्यालयले आफ्नो विद्यालयको पढाइ बोर्डिङ स्कूलभन्दा बढी राम्रो गरेकाले बोर्डिङ स्कूलका विद्यार्थीसमेत सामुदायिक विद्यालयमा पढ्न आउँदैछन् ।”

निजी विद्यालयमा पढ्ने विद्यार्थी धमाधम सामुदायिक विद्यालयमा पढ्न जान थालेपछि निजी विद्यालय सञ्चालनमा समस्या हुन थालेको बताइएको छ । यहाँका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पनि पढाइ शुरु हुन थालेको छ ।

थन्किने भए डोजर

सरकारले रु एक करोडभन्दा मुनिका सडक निर्माणमा डोजर प्रयोग गर्न नपाउने कानून ल्याएपछि जिल्लाका स्थानीय तहले किनेका डोजर थन्किने भएका छन् । गाउँगाउँमा सडक पु¥याउने होडबाजीमा यहाँका स्थानीय तहले हचुवाका भरमा खरीद गरेका डोजर थन्किने भएका हुन् । सरकारले ल्याएको कानूनअनुसार अब स्थानीय तहले डोजर चलाउन नपाउने भएपछि यहाँका स्थानीय तहमा आर्थिक व्ययभार बढ्ने सङ्केत देखिएको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगरउप प्रमुख प्रेमबहादुर शाहले बताए । उनले भने, “कुनै सरसल्लाह नगरी स्थानीयतहले डोजर किनेका छन्, चलाउन नपाएपछि आर्थिक व्ययभार त हुने नै भयो नि ”

दुई नगरपालिका तथा सात गाउँपालिका रहेको डोटीमा प्रायः सबै स्थानीय तहले आ–आफना डोजर किनिसकेका छन् भने कतिपय गाउँपालिकाले किनेका डोजरको रकम चुक्ता गर्न बाँकी छ । रकम चुक्ता गर्नका लागि भए पनि गाउँगाउँमा उपभोक्ता समितिमार्फत सडक खनिरहेका यहाँका डोजर अब बन्द हुने भएपछि कहाँबाट डोजरको रकम तिर्ने भन्ने चिन्तामा जनप्रतिनिधि पर्न थालेका छन् । बिना नाप नक्सा अन्धाधुन्ध रूपमा डाँडाकाँडामा डोजर प्रयोग गर्दा प्राकृतिक विपत्समेत बढ्न लागेपछि सङ्घीय सरकारले डोजर प्रयोगमा नियमन गरेको हो । स्थानीय तहले कार्यक्षेत्रभित्र आफ्नै डोजर प्रयोग गरी काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिने गरेका थिए ।

निजी क्षेत्रका डोजरलाई सो कानूनले भने कुनै असर नपार्ने निर्माण व्यवसायी सङ्घ डोटीका अध्यक्ष प्रेमशङ्कर भट्टले बताए । उनले भने, “हामीलाई उक्त कानूनले कुनै असर गर्दैन, जे गर्छ स्थानीय जनप्रतिनिधिलाई असर गर्ने हो ।” सडक काट्ने नाममा डोटीका गाउँगाउँमा पछिल्लो समय डोजर प्रयोग गर्दै डाँडाकाँडा भत्काउन थालिएको थियो । चुनावका बेला जनप्रतिनिधिले जनतासँग बोलेका कुरा पूरा गर्न यहाँका गाउँगाउँमा अहिले डोजर प्रयोग गरी सडक खनिँदैछ ।

स्वास्थ्य शिविरबाट सयौँ लाभान्वित

प्राथमिक स्वास्थ्य केन्द्र जोरायलले आयोजना गरेको आयुर्वेदसहितको विशेषज्ञ स्वास्थ्य शिविरबाट सयौँ जोरायलवासी प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा जोरायल गाउँपालिकाको संयुक्त आयोजनामा भएको उक्त विशेषज्ञ स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा सेवा उपलब्ध गराइएकोे जोरायल गाउँपालिका स्वास्थ्य एकाइ प्रमुख डा फूलराम चौधरीले जानकारी दिए । डा चौधरीका अनुसार हाडजोर्नी तथा नसारोगसम्बन्धी ४२५, आँखासम्बन्धी सेवाबाट २८०, स्त्रीरोगसम्बन्धी सेवाबाट २१४, दाँतरोगसम्बन्धी सेवाबाट ११९, बालरोग सेवाबाट १३५, छाला तथा यौनरोगसम्बन्धी सेवाबाट ७४, भिडियो एक्सरे सेवाबाट १२४, इसिजी सेवा तीन, जनरल स्वास्थ्य सेवाबाट १४६, प्रयोगशाला सेवाबाट ७२ र आयुर्वेद सेवाबाट ३८० गरी एक हजार २९१ जनाको उपचार तथा स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला सदरमुकामबाट दूरदराजमा रहेका स्थानमा विशेषज्ञ सेवा दिने उद्देश्यले स्थानीय तहसँगको सहकार्यमा आयुर्वेदसहितको विशेषज्ञ स्वास्थ्य शिविर उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालय आयुर्वेद चिकित्सा शाखा प्रमुख डा चेतराज जोशीले बताए । डा जोशीका अनुसार स्थानीय तहसँगको सहकार्यमा क्रमशः सबै जिल्लामा शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले दुईदिने विशेषज्ञ स्वास्थ्य शिविरको उद्घाटनका क्रममा जोरायलको विकासका लागि आफ्नो मन्त्रालयबाट शिक्षा स्वास्थ्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गगरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस