अख्तियारद्धारा राजश्व अनुसन्धान विभाग ललितपुर शाखाका अधिकृत रिजाल विरुद्ध मुद्दा दायर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अख्तियारद्धारा राजश्व अनुसन्धान विभाग ललितपुर शाखाका अधिकृत रिजाल विरुद्ध मुद्दा दायर


प्रशासन संवाददाता

६ फाल्गुन २०७५, सोमबार


अख्तियार

काठमाडौं । राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालिन शाखा अधिकृत रामजी रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दर्ता गरेको छ। सोमबार आयोगले विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो।

रिजालले विभिन्न कार्यालयहरूमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी गैर-कानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।

खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा प्रवेश गरेका रिजाल भूमि सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ति पाएका थिए।

रिजालले २०७५ वैशाख १५ गते राजश्व अनुसन्धान विभाग ललितपुरबाट शाखा अधिकृतबाट अनिवार्य अवकाश पाएका थिए। अख्तियारले उजुरीका आधारमा २०४० कात्तिकदेखि २०७५ पुस ३० गतेसम्मको अवधिलाई लिएर छानबिन तथा विश्लेषण गर्दा अकुत सम्पति आर्जन गरेको फेला पारेको हो।

रिजालले तलबभत्ता, प्रोत्साहन भत्ता, श्रीमती स्वस्थानी रिजालको पारिश्रमिक आय, जग्गा बिक्री, श्रीमतीका नाममा संचालित संजिवनी आयुर्वेदिक डिस्ट्रिब्युटर्स र पिगासस ट्राभल्स एन्ड टुर्सको आय, अवकास पश्चात् सुविधा प्राप्त आय, कर्जालगायतबाट जम्मा १ करोड ९६ लाख ८६ हजार ५ सय ९ रुपैयाँ आयआर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, मोटेल डी बटुवा प्रालि तथा संजिवनी आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स एन्ड टुर्स प्रालिलगायतका कम्पनी लगानी र बैंक तथा वितिय कम्पनीहरूमा सेयर खरिद, शैक्षिक खर्च, सुन चाँदी खरिद तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात ४ करोड ९४ लाख २४ हजार ८ सय १९ खर्च तथा लगानी गरेको फेला परेको अख्तियारले जनाएको छ।

निजको वैध आयका तुलनामा २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

रिजालले राष्ट्रसेवक भएपश्चात के-कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको श्रोत पुष्टी हुने नसकेको भन्दै मुद्दा दर्ता गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस