सरकारको योजना एकै दिशातर्फ केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री गुरुङ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारको योजना एकै दिशातर्फ केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री गुरुङ


५ फाल्गुन २०७५, आइतबार


कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको लक्ष्य र योजना एकै दिशातर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको जिल्लास्तरीय समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले सरकारका प्राथमिकता र स्रोतसाधन भूगोलअनुसार विविध भए पनि समृद्धिका लागि लक्ष्य र योजना भने एउटै हुनुपर्छ भने।

उनले संघ र प्रदेश सरकारले बनाएको नीति तथा योजनाका खाकाअनुसार स्थानीय सरकारले पनि आवधिक योजना बनाउनुपर्ने भनाइ राखे ।

संघ सरकारको २५ वर्षपछि १२ हजार ५०० डलर प्रतिव्यक्ति आय पुर्‍याउने लक्ष्य हासिल गर्न गण्डकी प्रदेशबाट कम्तीमा पनि १५ हजार डलर योगदान गर्ने लक्ष्यअनुसार योजना निर्माण गरिनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले कार्यक्रमबाट सरकार सञ्चालनका अनुभव आदान–प्रदान तथा भइरहेका कामबारे जानकारी हासिल भएको बताए ।

स्थानीय तह सञ्चालन ऐन २०७४ मा व्यवस्था भएबमोजिम कार्यक्रम गरिएको भनाइ उनको छ ।

माछापुच्छ्रे गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले निर्वाचित भएको २ वर्षसम्म पनि आवश्यक कर्मचारी व्यवस्थापन हुन नसक्दा नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति, पोखरा महानगर, माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाका तर्फबाट चालू आवको माघ मसान्तसम्म भए गरेका गतिविधिहरु प्रस्तुत गरिएको थियो ।

जिल्लाका पाँचवटा स्थानीय तहका प्रमुख÷उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यसमेत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस