कर्मचारी समायोजन विरुद्ध सरकारी चिकित्सक : नसच्याए सामूहिक राजीनामा दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी समायोजन विरुद्ध सरकारी चिकित्सक : नसच्याए सामूहिक राजीनामा दिने


प्रशासन विशेष ब्युरो

५ फाल्गुन २०७५, आइतबार


कर्मचारी समायोजन

काठमाडौँ । सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।

सरकारी चिकित्सक  संघ, नेपाल(गोदान)ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी कर्मचारी समायोजन अध्यादेश नसच्याए सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

अध्यादेश सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आग्रह गर्ने तथा आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष डा दीपेन्द्र पाण्डेले जानकारी दिए।

सोमबार ११ औंदेखि ८ औँ तहसम्मका सरकारी चिकित्सकहरूको स्वैच्छिक सामूहिक राजीनामाको लागि हस्ताक्षर सङ्कलन गर्ने र शुक्रवारदेखि आकस्मिक वााहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम रहेको पाण्डेले बताए ।

हेर्नुहोस् विज्ञप्ति

 

२०७५-११-०५
प्रेस विज्ञप्ति

समायोजन ऐनलाई मिचेर सहसचिब स्तरका ११औँतहका चिकित्सकलाई प्रदेशमा गैरकानुनी समायोजन, यस संघसँग भएको सम्झौता विपरित ८औँ देखि १०औँ तहका चिकित्सकलाई प्रदेश तथा गाउँपालिकामै स्थायी रूपले सिमित पार्ने अव्यवहारिक समायोजन प्रक्रिया, समायोजनका नाममा चिकित्सकलाई विशेषज्ञता तथा अति-विशेषज्ञता हासिल गर्नबाट बन्धेज लगाउने, चिकित्सकलाई उनको कणिष्ठ कर्मचारी मुनी राखेर लादिएको संगठन संरचना, स्वास्थ्य मन्त्रालय समेतबाट ‘चिकित्सामहाशाखा’ हटाउने मात्र नभई स्वास्थ्यका संरचनामा नियोजित रूपले चिकित्सकहरूको अति न्युन कमजोर उपस्थिती गराउने, समानस्तरका अन्य सेवाका कर्मचारी बराबरको सामान्य मर्यादा र सुविधा दिन समेत सरकार चुकेको, दक्षिण एसिया र छिमेकी मुलुक भन्दा ज्यादै न्युन तलब, भत्ता र सुबिधामा श्रम ऐन विपरित काम गर्न बर्षौदेखि चिकित्सकलाई बाध्य पारिएको, सरकारी चिकित्सकहरूलाई लक्षित गरी स्थापना गरिएको NAMS(चि.वि.रा.प्र) लाई अनेक बहानामा गैरसरकारी बनाउन खोजिएको तथा उपरोक्त बिषयहरूमा सरकारले पटक पटक सम्बोधनका मौखिक र लिखित वाचा गरी , हाम्रो आवाज साम्य पार्ने तर ठोस कार्यान्वयन भने नगर्ने कार्यले सरकारी चिकित्सकहरूलाई सरकारले शान्तिपूर्ण आन्दोलनको अप्रिय विकल्प खोज्न बाध्य गरेको छ ।
तसर्थ, नचाहदा-नचाहदै पनि निम्न आन्दोलनका कार्यक्रमहरूको सशक्त घोसना गर्दछौँ–
१. ०७५-११-०५ आईतबार पत्रकार सम्मेलन तथा मिडियामा कार्यक्रम मार्फत् आम नगरिक, राजनीतिकर्मी, समाजसेवी, मानव अधिकारकर्मी, शुभचिन्तक लगायतलाई निरन्तर सु-सुचित गरी सरकारले गरेका उपरोक्त गैरजिम्मेवार व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै सबैको सहयोग लिने ।
२. सामान्य प्रशासन मन्त्रालयबाट सधै नै स्वास्थ्य मन्त्रालयले कुनै ठोस पहल नगरेको भन्ने जवाफ आउने गरेकोमा स्वास्थ्य मन्त्रालयलाई हदै सम्मको ताकेता निरन्तर गरिराख्ने ।
३. जायज संसोधन प्रस्ताबहरूमा छलफल नै हुन नदिई ल्याइएको समायोजन विधेयकलाई सच्याउन लगाउन माननीय राष्ट्र सभाका अध्यक्ष लगायतलाई आग्रह गर्ने ।
४. ०७५-११-०६सोमबारबाट देशै भरीका ११औँ देखि ८औँ तहसम्मका सरकारी चिकित्सकहरूको स्वेछिक सामुहिक राजिनामाको लागि हस्ताक्षर संकलन अभियान गर्ने ।
५. जायज संसोधन प्रस्ताबहरूमा छलफल नै हुन नदिई ल्याइएको समायोजन विधेयकलाई सच्याउन लगाउन सम्माननीय राष्ट्रपतिज्यूलाई आग्रह गर्ने ।
६. ०७५-११-०७मङ्गलबार माइतिघर मण्डलामा रक्तदान कार्यक्रम गरेर आम जनतालाई थप सु-सुचित गर्ने र साथको अपिल गर्ने ।
७. ०७५-११-०८ बुधबारदेशै भरी सरकारी चिकित्सकहरू सामुहिक विदामा बस्ने ।
८. ०७५-११-०९ बिहीबार राजिनामा संकलन भए पश्चात् सम्पूर्ण सरकारी चिकित्सक सो हस्तान्तरण गर्न भनी काठमाण्डौ आउने ।
९. ०७५-११-१०शुक्रबार आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरी अवज्ञा आन्दोलन सुरुगर्ने ।
__________________ ________________
डा. रविन खड्का डा.                                                                                                       दिपेन्द्र पाण्डे
महासचिब                                                                                                                       अध्यक्ष

Tags :
प्रतिक्रिया दिनुहोस