रोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ : मन्त्री यादव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ : मन्त्री यादव


५ फाल्गुन २०७५, आइतबार


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन्

खिचापोखरी न्यूरोड व्यापार संघको ‘छैटौं अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताए । ‘समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको छ’, उनले भने ।

न्यूरोडलाई नमूना व्यापारिक केन्द्र निर्माणका लागि उद्योगी व्यवसायीहरु एकजुट हुनुपर्ने उनको भनाइ छ । ‘न्यूरोड देशको सम्पत्ति भएकाले यसलाई रक्षा गर्न यहाँकै उद्योगी व्यवसायी लाग्नुपर्छ’, उनले भने ।

मन्त्री यादवले सरकारले जनतासँग गरेको वाचाअनुसार काम गर्न नसकेको बताउँदै आगामी दिनमा काम गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोड ऐतिहासिक व्यापारिकस्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताए । ‘व्यापारिक भवन निर्माणका लागि महानगरपालिका लागिरहेको छ’, उनले भने । फुटपाथ मुक्त शहर निर्माण गर्न महानगरपालिका लागेको उनको भनाइ थियो । महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रुपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको प्रमुख शाक्यले बताए ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकको व्यापार घाटा कम गर्न सरकारले आयातलाई कम गरी निर्यातलाई बढावा दिने वातावरण निर्माणमा लाग्नुपर्ने बताए । ‘दैनिक व्यापार घाटा रु तीन अर्ब ७६ करोड भएकाले यसलाई घटाउन सरकार लाग्नुपर्छ’, उनले भने ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले साना उद्योगी व्यवसायीको मर्कालाई बुझ्न नसकेको आरोप लगाए । ‘भन्सारमा देखिएको समस्या, घरवहाल कर, बैंकको चर्को ब्याजदर लगायतका समस्या समाधानका लागि सरकार लाग्नुपर्छ’, उनले भने ।

आन्तरिक राजश्व कार्यालय न्यूरोडका प्रमुख डा.रामप्रसाद मैनालीले न्यूरोड क्षेत्रमा रहेको फुटपाथको व्यापारलाई पनि करको दायरामा ल्याउनुपर्ने उल्लेख गरे । कर छल्ने जोकोही उद्योगी व्यवसायीलाई कारवाही गरिने उनको भनाइ थियो । खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डङ्गोलले धरहरा पुनःनिर्माण र पार्किङले खिचापोखरी क्षेत्रको उद्योग–व्यवसाय समस्यामा परेको बताए ।

संघका अध्यक्ष मनोजबाबु श्रेष्ठले भन्सार क्षेत्रमा देखिएको न्यून बिजकीकरणको अन्त्यका लागि सरकारलाई पहल गर्न आग्रह गरे । विसं २०६३ मा स्थापना भएको संघले साना व्यवसायीको हकहितमा काम गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस