स्वास्थ्यमा बेथिति : तौलिया मोहदेखि हाटासम्म « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वास्थ्यमा बेथिति : तौलिया मोहदेखि हाटासम्म


प्रशासन विशेष ब्युरो

१ फाल्गुन २०७५, बुधबार


परिवार कल्याण महाशाखा

काठमाडौँ । स्वास्थ्य क्षेत्र उसै पनि बदनामित छ, त्यसैमाथि केही समययता सचिव लफडाले गिजोलेको उक्त निकायमा कर्मचारीदेखि कार्यालय व्यवस्थापनसम्मै लठभद्र छ ।

स्वास्थ्य विशेष स्रोतको सूचनाअनुसार आइतबार प्रशासन टोली स्वास्थ्य विभाग अन्तर्गत रहेको एक महत्त्वपूर्ण निकाय परिवार कल्याण महाशाखामा पुगेको थियो । परिवार स्वास्थ्य महाशाखा र बाल स्वास्थ्य महाशाखालाई समेटेर बनाइको परिवार कल्याण महाशाखाको प्रमुख छन् डा. आरपी बिच्छा ।

सार्क क्षयरोग केन्द्रमा कार्यरत विच्छालाई ७ महिना अघि उपप्रधान तथा स्वास्य मन्त्री उपेन्द्र यादवले मन्त्री स्तरीय निर्णय गरी महाशाखाको जिम्मेवारी दिएका थिए ।

परिवार कल्याण महाशाखामा २८ जनाको दरबन्दी छ । तर माघ २७ गते आइतबार भने सवारी चालक र कार्यालय सहयोगीसहित ९ जना मात्रै भेटिए । एक तिहाइ मात्रै कर्मचारी कार्यालयमा देखिएपछि बाँकीका कर्मचारी खोइ भन्दा कार्यकक्षमै भेटिएका नायव सुब्बा धनबहादुर सुनारले हाजिर देखाए । जसअनुसार ७ जना कर्मचारी काजमा काठमाडौँ बाहिर छन् । दुई जनाले बिदा लिएको देखिन्छ भने ५ जनाले हाजिर गरेको तर कार्यकक्षमा भेटिएनन् । त्यसमध्ये २ जना कर्मचारी न त उपस्थित छन् न त हाजिरमा नै केही जनाएका छन् । कार्यालयमै उपस्थित दुई जना मिटिङ सञ्चालन गर्दै थिए भने कार्यालय महाशाखा प्रमुख आरपी विच्छा मन्त्रालयमा सञ्चालित कार्यक्रममा गएका थिए ।

कार्यालयमा उपस्थित पनि नभएका र हाजिर पनि नगरेका कर्मचारीको हकमा कर्मचारीको हकमा कुरा मिलाउन खोज्दै थिए भने हाजिर गरेका तर कार्यालयमा नभेटिएका अर्थात् हाजिर गर्ने-टाप कस्ने(हा टा) कर्मचारीको हकमा कहिले विभाग त कहिले मन्त्रालयमा गएको बताउँदै थिए । उनीहरूको यो भनाई पछि हाम्रो टोली विभाग र मन्त्रालयमासमेत पुगी ती कर्मचारीको खोजी गर्दा कार्यालय प्रमुख बिच्छावाहेक अन्य कर्मचारीबारे भने कोही कसैले नदेखेको बताए ।

कर्मचारी मात्रै होइन, कार्यालय व्यवस्थापन नमुनै थियो परिवार महाशाखामा । सरकारले केही महिना अघि कुर्सीमा तौलिया नराख्न दिएको निर्देशनकोसमेत धज्जी उडाउँदै प्रायः जसो कुर्सीहरूमा तौलिया थियो तर त्यो समेत राख्न जानिएको थिएन । महाशाखा प्रमुख बिच्छाको कुर्सी त खादाले समेत सजाइएको भेटियो । कार्यकक्ष र कार्यालयबाहिरको सरसफाइबारे पनि उस्तै देखिन्थ्यो ।

महाशाखामा देखिएको यस्तो अवस्थाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यस महाशाखाको भूमिका कति र कस्तो होला ? अनि एक तिहाइ कर्मचारी मात्रै कार्यालयमा रहनुले यसले सेवा प्रवाहमा कस्तो प्रभाव पार्ला ? नेपालमा सबैभन्दा धेरै सुधार गर्नु पर्ने मध्येमा दुई महत्त्वपूर्ण पक्ष ‘बाल स्वास्थ्य’ र ‘परिवार स्वास्थ्य'(मातृ स्वास्थ्य)को अवस्था सुधारमा कर्मचारीको यो अवस्थाले कहाँ पुग्ला ? यसको उत्तर आगामी अङ्कमा लेखाजोखा गर्ने गर्नेछौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस