हुम्लामा ९० घरधुरी अन्धकारमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हुम्लामा ९० घरधुरी अन्धकारमा


प्रशासन संवाददाता

२८ माघ २०७५, सोमबार


हुम्ला । लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा तीन हप्ता विद्युत् बन्द हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका छन् ।

सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा ९० घरधुरीले हिल्दुम वितरण केन्द्रबाट वितरित विद्युत् सेवा लिँदै आएको स्थानीय भक्तवीर परियारले बताए। स्याडा गाउँका स्थानीय नागरिक मिलेर सिमकोटमा रहेको विद्युत् केन्द्रको कार्यालयमा विद्युत् अवरुद्ध भएको बारेमा जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको परियारले बताए ।

जलविद्युत् केन्द्र हिमपातका कारण सिमकोटबाहेक अन्य गाउँमा वितरित लाइन काटेको बताउँदै आएको छ । हिमपातका कारण कुन ठाउँमा बिग्रिएको छ हेर्न नसकिएको विद्युत् कार्यालयका प्रशासन प्रमुख यमप्रकाश खड्काले बताए ।

पाँच सय किलोवाट रहेको हिल्दुम वितरण केन्द्रले अहिले सिमकोट बजारमा १४ घण्टा विद्युत् भार कटौती गर्दै आएको छ । हिउँद महीनाको मङ्सिर लागेदेखि उक्त केन्द्रले २५० किलोवाट विद्युत् आपूर्ति गर्दै आएको प्रशासन प्रमुख खड्काले बताए ।

हिल्दुम वितरण केन्द्रले दैनिक दिन १४ घण्टा विद्युत् भार कटौती गर्दै आउनाले सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय, बजार व्यवसायलगायत विद्युत्बाट हुने काम प्रभावित हुँदै आएका छन् । विद्युत् मर्मत नहुँदा अहिले स्याडाका स्थानीय दियालोको सहायतामा भर पर्दै आएको परियारले बताए ।

एसइई प्रभावित

विद्युत कटौतीले चैतमा एसइई दिन सिमकोटमा ट्युसन लिँदै आएका विद्यार्थीलाई पनि समस्या बनाएको छ ।

कोठा लिएर विद्युत्को सहारामा ट्युसन लिँदै आएका विद्यार्थीलाई दैनिक दिन १४ घण्टा विद्युत् भार कटौती हुँदा, रातिको समय पढ्न, खाना पकाएर खानसमेत समस्या भएको विद्यार्थी अमृत रोकायाले बताए ।

‘बिहान ट्युसन जानुपर्छ, दिउँसो कक्षा लिएर फर्कंदा बत्ती गएको हुन्छ, खाना खाने समय नै हुँदैन, कोठा लिएर बसेका हुन्छौँ, आगो बाल्ने चुलो हुँदैन, उता बत्ती पनि आएको हुँदैन’, एसइईको तयारी गर्दै आएका विद्यार्थी रोकायाले भने । वर्षेनी लाखौँ रकम खर्च गरेर विद्युत् मर्मत गरे पनि हिउँद शुरु भएसँगै हुम्लामा विद्युत् विद्यार्थीको बाधक बन्दै आएको छ ।

तीन दिनको लामो हिमपातपछि सिमकोटमा विद्युत् वितरण केन्द्रले राति ७ बजेदेखि विद्युत् लाइन बन्द गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस