नाफामा प्रादेशिक अस्पतालको फार्मेसी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नाफामा प्रादेशिक अस्पतालको फार्मेसी


२८ माघ २०७५, सोमबार


लमही । सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन् । दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल (साविक अञ्चल अस्पताल) मा सञ्चालनमा ल्याइएको फार्मेसीले चालू आर्थिक वर्षको छ महीनामा साढे सात लाख बढी आम्दानी गर्न सफल भएको छ ।

अस्पतालका फार्मेसी इन्चार्ज सुलभ अधिकारीका अनुसार चालू आर्थिक वर्षको पुससम्म सात लाख ५६ हजार १७८ नाफा कमाउन सफल भएको छ । कर्मचारीको तलब, अन्य खर्च कटाएर उक्त नाफा गर्न सफल भएको अधिकारीको भनाइ छ ।

चालू आवको छ महीनामा बिरामीलाई आठ लाख ६६ हजार ८४० छुट प्रदान गरिएको छ । सबै सरकारी अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएपनि राप्ती प्रादेशिक अस्पतालमा पनि २०७३ माघमा सञ्चालनमा आएको हो । अस्पतालमा फार्मेसी सञ्चालन भएदेखि अहिलेसम्म करीब १४ लाख ४३ हजार ३८८ बचत रहेको उनको भनाइ छ । फार्मेसी सञ्चालनमा आएदेखि अहिलेसम्म ३६ लाखभन्दा बढी बराबर बिरामीलाई छुट दिइसकेको उनको भनाइ छ ।

अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानीको राम्रो स्रोत बन्ने गरेको उनको भनाइ छ । उनका अनुसार औषधिको प्रकारअनुसार पाँचदेखि ५० प्रतिशतसम्म छुट पाउने गरेका छन् । अहिले फार्मेसीमा करीब ९०० प्रकारका औषधि उपलब्ध रहेको अधिकारीको भनाइ छ ।

निजी अस्पतालभन्दा सस्तोमा औषधि पाउन थालेपछि फार्मेर्सीको काउण्टरमा भीड लाग्ने गरेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताए । उनका अनुसार अस्पतालको फार्मेसीबाट दैनिक ५० हजार बराबरको औषधि बिक्री हुन्छ ।

अहिले फार्मेसी सञ्चलनका लागि चार कर्मचारी मात्रै कार्यरत रहेको उहाँले बताउनुभयो । एक फार्मेसी इन्चार्ज र अन्य तीन फार्मेसी असिस्टेन्ट कार्यरत रहेका उनको भनाइ छ ।

नेपाल फार्मेसी सङ्घ दाङका अध्यक्षसमेत रहनुभएका अधिकारीले सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी सिर्जना गर्नुपर्नेसमेत बताउनुभयो । उहाँका अनुसार प्रत्येक स्थानीय तहमा फार्मेसी सञ्चालन भए पनि फार्मेसीको दक्ष जनशक्ति नहुँदा अनुमानको भरमा औषधि दिने गरिएको छ ।

अहिले फार्मेसी सञ्चालनका लागि दुई कोठामात्रै भएकाले सेवा प्रदान गर्न समस्या हुने गरेको फार्मेसी इन्चार्ज सुलभ अधिकारीले बताए । औषधि स्टोरका लागि दुई कोठामा मात्रै असहज भएकाले स्टोरका लागि थप कोठा आवश्यक भएको बताए । “अहिले चिकित्सक सुत्ने र स्टोर गर्ने कोठा एउटै छ”, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस