सरकारले जनचाहनालाई प्राथमिकता दिनुपर्छ : नेता नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारले जनचाहनालाई प्राथमिकता दिनुपर्छ : नेता नेपाल


२७ माघ २०७५, आइतबार


हेटौँडा । नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइको सरकार रहेको परिस्थितिमा सरकारबाट कमजोरी हुन नहुने र भएकालाई सुधार गर्नुपर्ने धारणा राखेका छन् ।

न्यूज क्लब हेटौँडाको आयोजनामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले कार्यदलको सुझाव र पृष्ठपोषणलाई पालना गरेको खण्डमा सरकारले उपलब्धि हात पार्ने बताए । “पक्कै पनि सरकारका केही कमजोरी छन् तर ती कमजोरीलाई सुधारेर जानुको विकल्प छैन”, उनले भने ।

नेकपा एकीकरणको सन्दर्भमा बोल्दै नेता नेपालले छिट्टै नै पार्टीको एकीकरण कार्य सकिने बताए । नेपालले गोजीबाट निकालेको व्यक्तिले एकीकृत सङ्गठनको नेतृत्व नपाउने धारणा राखे । दुवै पार्टीका वरिष्ठले प्राथमिकता पाउने र कनिष्ठले कम प्राथमिकता पाउने उनको भनाइ थियो । नेपालले अबको केही समयभित्र नेकपाको सबै तहमा एकीकरण हुने कुरामा ढुक्क हुन अनुरोध गरे ।

सङ्गठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले सबै तहको सङ्गठनलाई चुस्तदुरुस्त बनाउनु आजको आवश्यकता भएको बताए । तिनै तहको सरकारमा नेकपाको बहुमत रहेकाले जन चाहनाअनुसार काम गर्न जनप्रतिनिधिलाई अनुरोध गर्ने गरेको भन्दै नेता नेपालले जनता के चाहन्छन् त्यसको ख्याल गर्नुपर्ने बताए ।

“जनता सार्वभौम सम्पन्न छन् उनीहरुको चाहना पूरा हुनुपर्छ”, उनले भने । पछिल्लो समय नेकपाका नेताबीचमा खटपट आएको हो भन्ने प्रश्नमा नेता नेपालले केही समस्या भए पनि मिडियामा आएजस्तो गम्भीर मतभेद र समस्या नरहेको बताए । “नेकपाभित्र समाधान गर्न नमिल्ने गरी केही पनि बिग्रेको छैन”, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस