महालक्ष्मी नगरपालिकाद्धारा १५ सामुदायिक विद्यालयमा स्यानेटरी प्याड वितरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महालक्ष्मी नगरपालिकाद्धारा १५ सामुदायिक विद्यालयमा स्यानेटरी प्याड वितरण


प्रशासन संवाददाता

२५ माघ २०७५, शुक्रबार


महालक्ष्मी नगरपालिकाले १५ सामुदायिक विद्यालयमा अध्ययनरत १० वर्षमाथिका किशोरीलाई स्यानेटरी प्याड वितरण गर्ने भएको छ ।

रजस्वला भएको समय किशोरी अध्ययनका लागि नियमित विद्यालय उपस्थित हुन् भन्ने उद्देश्यका साथ नगरपालिकाले स्यानेटरी प्याड वितरण गर्न लागेको हो । ‘आगामी फागुनदेखि उक्त प्याड वितरणको थालनी गर्छौँ, यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत १० वर्षमाथिका किशोरीको सङ्ख्या एक हजार ८०० छन्’, श्रेष्ठले भने,’किशोरीका साथै शिक्षिकालाई पनि प्याड वितरण गर्ने योजना अघि बढाएका छौँ ।’

नगरपालिकाले पहिलोपटक वितरण गर्न लागेको प्याड पुनः प्रयोग गर्न मिल्दैन । प्रत्येक सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य शिक्षा पढाउने शिक्षक र विद्यार्थीलाई संयुक्त रूपमा राखेर नगरपालिकाले प्याड वितरण गर्ने योजना अघि बढाएको नगरपालिकाकी शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख उषा कँडेलले बताइन् ।

‘प्याड वितरण गर्नुपूर्व किशोरीलाई प्रयोग गर्ने विधिबारे जानकारी दिन्छौं’, कँडेलले भनिन्, ‘यहाँका स्वास्थ्यचौकीमा कार्यरत नर्सले प्याड प्रयोग गर्ने विधि सिकाउनुहुनेछ ।’

महीनावारी हुँदा कोही पनि किशोरी पढाइ छाडेर घर जानुपर्ने अवस्थाको अन्त्य होस् भनेर नगरपालिकाले प्याड वितरण गर्न लागेको हो । नगरपालिकामा हालसम्म एक हजार ३२० प्याड भित्रिएको छ । सबै प्याड आइसकेपछि फागुनदेखि यस कामको थालनी गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस