दुर्गम गाउँमा छ वर्षपछि बिजुली बलेपछि स्थानीय बासि हर्षित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुर्गम गाउँमा छ वर्षपछि बिजुली बलेपछि स्थानीय बासि हर्षित


प्रशासन संवाददाता

२४ माघ २०७५, बिहिबार


जाजरकोट । बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा छ वर्षपछि बिजुली बत्ती बलेको छ । बिजुली बलेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । वर्षौंदेखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी २४ घण्टा गाउँमा बिजुलीको सुविधा भएपछि दङ्ग परेका हुन् ।

गाउँपालिका–८ को सेपुखोलास्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत् उत्पादन भएको छ । बिजुली बलेपछि सेपुखोला, गोलखारा, जुगेन, बन्डाला, रैनेपानी, छुतीपाल्ती, कोलयानी, डाँडागाउँलगायत क्षेत्रका ३३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएको सेपुखोला लघु जलविद्युत् आयोजना निर्माण समितिका अध्यक्ष वेदराज सिंहले बताए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्दको अनुदान, नगरपालिका तथा स्थानीयवासीको जनश्रमदान गरी कूल रु दुई करोड लागतमा विद्युत् आयोजना निर्माण भएको सिंहले बताए। बिजुली बाल्न प्रतिघरपरिवारले एक महीना बढी श्रमदान गरेका थिए ।

गाउँमा बिजुली बत्ती बलेपछि वडापालिका, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, पशु उपशाखालगायत कार्यालयको कामकाजमा सहज भएको छ । बिजुली बलेपछि बालबालिकालाई पढ्न लेख्न प्रत्यक्ष फाइदा पुगेको छ भने बालबालिकामा पढ्ने बानीको विकास भएको विद्यार्थी मानकुमारी बुढाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस