समायोजनका दुःख नि : उपसचिव छ, मुखिया देखाउँछ ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समायोजनका दुःख नि : उपसचिव छ, मुखिया देखाउँछ !


२४ माघ २०७५, बिहिबार


समायोजन

काठमाडौँ । मंगलवार मात्रै समायोजनको गतिलाई तीव्रता दिन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका कर्मचारीलाई निर्देशन दिए ।

शुरुवाती दिनमा दौडिएको समायोजन प्रक्रिया मध्यान्तरमा आई पुग्दा केही मत्थरता आएसँगै अनेकथरी शंका/उपशंका गरिन थालेपछि मन्त्री पण्डितले शुरुवाती गति समात्न कर्मचारीलाई कडा निर्देशन दिनु पर्‍यो ।

विभिन्न सेवा समूहका इन्ट्रेष्ट ग्रुपहरुले संघ अटाउन गरेको चलखेलदेखि, सफ्टवेयरका समस्यासम्मका समाचार बाहिर आए । तर बुधवार अर्को पनि समस्या थपिएको खुल्न आएको छः पर्सनल इन्फरमेसन सिष्टम(पिआइएस) अर्थात् कर्मचारी वैयत्तिक विवरण नमिलेका कारण सफ्टवेयरमा इरर देखाउने ।

‘उपसचिव छ, मुखियामा लिष्ट आउँछ अनि के गर्ने ?’ सामान्य प्रशासन मन्त्रालयका एक अधिकारी रन्थनिँदै थिए, ‘चिनेको भएर पो उपसचिव हो भन्ने थाहा भयो त, विवरण त मुखियाको छ । अब के मुखियामै बनाई दिऊँ ?’

सम्पूर्ण कर्मचारीहरूको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकायको रूपमा रहेको निजामती कितावखानाका विवरणहरू अपडेट नभएका कारण समस्या देखिएको उनको भनाई थियो । कितावखाना सामान्य प्रशासन मन्त्रालयको विभागको रूपमा रहँदै आएको छ ।

सरुवा, बढुवा, जन्ममितिलगायत कर्मचारीका व्यक्तिगत विवरणहरू अपडेट नगराउँदा समायोजन प्रक्रियामा निकै फरक पर्ने ती अधिकारीको भनाई छ ।

उनका अनुशार कसैको जन्म मिति मिलेको छैन त कुनै अवकाश भई सकेको कर्मचारीको समेत नाम छ । केही समयअघि मन्त्रालयद्वारा प्रकाशित सूचीमा हालको कार्यालय नै फरक देखिएपछि सफ्टवेयरको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह उठाएका थिए ।

तर, उक्त समस्या सफ्टवेयर नभई कर्मचारीको विवरण भएको र सफ्टवेयरले चुस्त दुरुस्त देखाउन नसकेको तथा इरर देखाएको उनको भनाइ छ ।

‘कितावखानाको तथ्याङ्क राख्यो डेटा प्रोसेसिङ गर्दा इरर आउँछ,’ उनले भने ‘जुन सिष्टमको दोष होइन, मान्छेको दोष हो ।’

कितावखानाको विवरण नमिल्नुका पनि आफ्नै कारण छन् । विवरण भर्न न कर्मचारी नै चाँसो राख्छन् न त कार्यरत निकायले नै समयमा कितावखानालाई उपलब्ध गराउँछन् । अझ स्वास्थ्यको समस्या सुल्झाउनै कठिन हुने एक अधिकारीको भनाई छ । ‘काजैकाजको कारखाना छ, तीन/तीन महिनामा परिवर्तन हुने तर त्यसको जानकारी नपठाउने भएपछि कितावखाना अन्तरयामी होइन,’ ती अधिकारीले गुनासो पोखे, ‘आएको विवरण न अपडेट गर्ने हो । विवरण नआएपछि के अपडेट गर्नु !’

स्वास्थ्यमा हरेक वर्ष तलवी विवरण पास गर्नुपर्ने भएपछि विगत केही वर्षयता नै उक्त विवरण पास गरेको छैन ।

सबैतिर समस्या देखिएपछि हाल म्यानुयल्ली काम गर्नुपरिरहेको छ । मन्त्रालयले १२ वटा समूह बनाएर सेवा समूह सञ्चालन गर्ने मन्त्रालयको कर्मचारी र सामान्य प्रशासनको उपसचिवसहितको टोलीले ज्येष्ठताको सूचीलाई भेरिफाई गरिहेको छ । दाबी विरोध परेका कर्मचारीको तथ्याङ्क प्रमाणीकरण गरी टोलीहरूले विवरण महाशाखालाई बुझाउने क्रम जारी छ ।

अहिले कितावखानाको विवरण र गुनासो समितिमार्फत आएका सुझावहरूसमेतलाई मिलाएर कर्मचारीको विवरण तयार पार्ने काम भइरहेको छ ।

र यो पनि,

उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !

उपसचिवले आज समायोजन पत्र पाउने

दिनभरि कुर्दा पनि उपसचिवले प्रिन्ट गर्न पाएनन् समायोजन पत्र !

किन रोकियो उपसचिवको समायोजन पत्र ? यस्तो छ कारण

सामान्यलाई समायोजन सकस : राजश्वका १४ उपसचिव बने टाउको दुखाई !

समायोजन भएका प्रशासन सेवाका उपसचिवको सूची सार्वजनिक(विवरणसहित)

Tags :
प्रतिक्रिया दिनुहोस