पर्यटन क्षेत्रको विकासमा हवाई सेवा प्रभावकारी : उड्डयनमन्त्री अधिकारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पर्यटन क्षेत्रको विकासमा हवाई सेवा प्रभावकारी : उड्डयनमन्त्री अधिकारी


प्रशासन संवाददाता

२२ माघ २०७५, मंगलबार


पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवा प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पर्वतरोहण संघद्वारा यहाँ सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको १६ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले समय सापेक्षरुपमा पर्यटकले सुलभ प्रकृतिका सेवा उपयोग गर्ने हुँदा हवाई सेवालाई सहज बनाउनुपर्ने बताए ।

उनले हवाई सेवा सञ्चालन प्रभावकारी बनाउन सरकारले योजना अगाडि सारेको उल्लेख गरे । मन्त्री अधिकारीले धनगढी, भैरहवा, नेपालगञ्ज, सिमरा, विराटनगर लगायतका विमानस्थलमा रात्रि हवाई सेवा सञ्चालन गर्नुका साथै निकट भविष्यमा जनकपुरमा सेवा विस्तार गरिने तयारी भई रहेको जानकारी दिए । पोखरा विमानस्थलमा प्राविधिक कारणले रात्रि सेवा सञ्चालन गर्न नसकिने बताउँदै उनले पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र उक्त सेवा शुरु गरिने बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल पर्वतारोहण संघको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले त्यसका लागि हिमाल आरोहण गर्ने विश्वका आरोहीलाई आमन्त्रण गर्नुपर्नेमा जोड दिए । नेपाल एयरलायन्सलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताउँदै उनले हवाई जहाज खरीद प्रकृयामा देखिएको अनियमितता सम्बन्धमा छानबिन गरी कारवाही हुने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएको बताउँदै उचित सदुपयोग गरिनुपर्नेमा जोड दिए । नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ वन क्याटलकले प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालले गुणस्तरीय पर्यटकलाई आवश्यक भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताए ।

सो अवसरमा मन्त्री अधिकारी र राजदूत क्याटलकले सङ्ग्रहालयमा निर्माण गरिएको टोनी हेगन, पासाङलामु शेर्पा र शम्भु तामाङ कर्नरको सामुहिक रुपमा उद्घाटन गरेका थिए । । कार्यक्रममा सङ्ग्रहालयका विज्ञ बलप्रसाद राई र कर्मचारी सरस्वती नेपालीलाई नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

हिमाल र हिमाली गतिविधिलाई एउटै थलोमा अध्ययन अवलोक गर्न सकिने पर्वतीय सङ्ग्रहालयमा हालसम्म २० लाखभन्दा बढी आन्तरिक एवं बाह्रय पर्यटकले टिकट काटेर अवलोकन गर्दा ? १७ करोड ८१ लाख ८० हजार ४३८ आम्दानी भएको कार्यक्रमा जानकारी दिइएको थियो ।

नेपाल पर्वतारोहण संघका केन्द्रीय अध्यक्ष सन्तविर लामाको अध्यक्षतामा भएको कार्यक्रममा टोनी हेगनकी छोरी क्याटिना, संघका महासचिव कुलबहादुर गुरुङ, पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराई लगायतले सङ्ग्रहालयको महत्व माथि प्रकाश पारेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस