रुकुमकोटमा प्रवेश निषेधाज्ञा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रुकुमकोटमा प्रवेश निषेधाज्ञा


२१ माघ २०७५, सोमबार


रुकुम । सदरमुकाम रुकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रवेश निषेधाज्ञा जारी गरेको हो ।

रुकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको हो । सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न/गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को शहीपार्क हुँदै रुमालबारासम्म प्रवेश निषेधाज्ञा आदेश जारी गरेको छ । सदरमुकामको विवादका कारण रुकुमकोट तनावग्रस्त छ । सदरमुकामको विषयलाई लिएर रुकुमकोट र रुकुमकोटका बासिन्दा एक वर्षदेखि आन्दोलित छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१२ गोलखाडामा सदरमुकाम राख्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेको थियो । अहिलेसम्म कुनै फैसला भएको छैन । साविक जिल्ला रुकुमको सदरमुकामसमेत यहाँबाट खोसिएको हुँदा आफूहरुलाई पटकपटक अन्याय भएको रुकुमकोटवासी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस