निजामती सेवालाई सती लिएकै हौ त श्रीमान् ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निजामती सेवालाई सती लिएकै हौ त श्रीमान् !


प्रशासन विशेष ब्युरो

१९ माघ २०७५, शनिबार


निजामती सेवा

जब तिमी भ्रूण थियौ
आमाकाे गर्भाशयमा सलबलाउदै
दिनरात बढ्दै , हुर्कँदै
मानबरूपि चोला लियौ
कति दु: ख दियौ
कति पीडा दियौ
यदि तिम्रो अभिभावकले
तिमीलाई भ्रूणमै तुहाएको भए
तिमी कहाँ हुन्थ्यौ होला
के बन्थ्यौ होला
एक पटक ठन्डा दिमागले
सोचेर भन, सम्झेर भन
के हामीलाई गर्भमै
तुहाएकै हौ त श्रीमान् ?

जब तिमी बालक थियौ
तोते बोलीमा ताताताते हिँड्दै
हुर्कँदै गयौ, बढ्दै गयौ
लेख्दै , पढ्दै अनि सिक्दै गयौ
तिम्रा पनि सपना थिए होलान्
मनभित्र रहर थिए होलान्
भोलिका लागि
भविष्यका लागि
कति कष्ट कह्याै होला
कति व्यथा सह्यौ होला
यदि तिम्रो अभिभावकले
हिँडाउन हात नदेकाे भए
हुर्काउन साथ नदेकाे भए
तिम्रो अस्तित्व
तिम्रो व्यक्तित्व
कहाँ हुन्थ्याे होला
के बन्थ्याे होला
एक पटक छातीमा हात राखी
सोचेर भन, सम्झेर भन
के हामीलाई कोपिलामै
चुँडाएकै हौ त श्रीमान् ?

जब तिमी वयस्क भयौ
कति सपना पूरा भए होलान्
कति रहर अधुरा होलान्
तथापि तिमी त
एक सफल मान्छे
सार्थक मान्छे
सबैले मानेको मान्छे
ठूलाबडा अभिभावक ठानेको मान्छे
तर तिम्रा अभिभावकको जस्तै
तिम्रा सन्ततिका लागि
भाेलिकाे भविष्यका लागि
असल अभिभावक बन्न
सफल पथप्रदर्शक बन्न
आफ्ना इतिहास आफै लेख्न
आखिर के ले राेक्याे
कसले छेक्यो
अन्तिम पटक पशुपतिनाथको कसम खाई
सोचेर भन, सम्झेर भन
के निजामती सेवालाई
सती लिएकै हौ त श्रीमान् ?

कवर वीरेन्द्रनगर नगरपालिका, सुर्खेतका उपसचिव हुन्

 

प्रतिक्रिया दिनुहोस