डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा चिकित्सक अभाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा चिकित्सक अभाव


प्रशासन संवाददाता

१७ माघ २०७५, बिहिबार


अमरगढी । डडेल्धुरामा उपक्षेत्रीय अस्पताल स्थापना भएको चार वर्ष भयो । चार वर्षमा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर हालसम्म एकजना पनि विशेषज्ञ डाक्टर छैनन् ।

अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदा तथा काज सरुवामा जाने भएकाले उपचारमा झनै समस्या हुने गरको सेवाग्राहीको गुनासो छ । विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका अन्य सात जिल्लाका बिरामी उपचारका लागि धनगढी अञ्चल अस्पताल, नेपालगञ्ज तथा भारतका विभिन्न अस्पतालमा उपचारका लागि जान बाध्य छन् ।

हाल अस्पतालमा स्त्रीरोग हेर्ने गरी मेडिकल अफिसरको दरबन्दीमा एकजना डाक्टरले काम गरिरहेका छन् । मेडिकल अफिसरकै दरबन्दीमा आफैँ काम गरिरहेको विशेषज्ञ डाक्टरका लागि सरकारसँग पटकपटक आग्रह गरे पनि डाक्टर नपठाइएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा.जीतेन्द्र कँडेलले बताए । विशेषज्ञ नहुँदा क्षेत्रीय अस्पतालमा उपचार गर्नै समस्या हुने गरेको उनले बताए । अस्पतालमा मेडिकल अफिसर पदमा १८ को दरबन्दी छ । हाल ११ कार्यरत छन । छ अध्ययन बिदामा रहेको मेडिकल सुपेरिटेन्डेन डा कँडेलले बताए ।

सुविधासम्पन्न अस्पताल नहुँदा समस्या

सुदूरपश्चिम प्रदेशको मध्य भागमा र वातावरणका हिसाबले पनि अनुकूल रहेको उपक्षेत्रीय अस्पताललाई सुविधासम्पन्न बनाउन सकिए यहाँका सात पहाडी जिल्लाको स्वास्थ सेवा टेवा पुग्ने स्थानीय बासिन्दा बताउँछन् । सुदूरपश्चिमका पहाडी जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँ जनताले उपचारका लागि लामो दूरी र बढी खर्च व्यहोर्नु परिरहेको डडेल्धुरा नागरिक समाजका संयोजक रमेश जोशीले बताए ।

यतिबेला चिसोयाम भएकाले अधिकांश बालबालिकामा निमोनियाको समस्या देखिने गरेको छ । बालरोग विशेषज्ञ डाक्टर नहुँदा लामो समयदेखि उपक्षेत्रीय अस्पतालमा सेवा सञ्चालन भएको मेडिकल सुपेरिटेन्डेन डा.जीतेन्द्र कँडेलले बताए । उनले भने, विशेषज्ञ नहुँदा एक वर्ष पहिले स्थापना भएको एनआइसियू सेवासमेत सञ्चालनमा ल्याउन सकेका थिएनौँ  ।’

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा माघ १ गतेदेखि बालरोग विशेषज्ञ डाक्टर क्षेत्रीय अस्पताल छ । विशेषज्ञ आएपछि एनआइसियू सेवा सञ्चालनमा सहज भएको अस्पतालको दाबी छ । एनआइसियू सेवा सञ्चालन नहुँदा यस क्षेत्रमा जन्मेदेखि २८ दिनसम्मका अस्वस्थ्य बच्चाको उपचारका लागि नेपालगञ्ज वा धनगढी पठाउनुपर्ने बाध्यतालाई सहज हुने डा.कँडेलले बताए । दरबन्दीअनुसारका चिकित्सक परिपूर्ति नहुँदा यस क्षेत्रका सेवाग्राहीले सास्ती भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस