महिला राष्ट्रिय टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महिला राष्ट्रिय टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने


प्रशासन संवाददाता

९ माघ २०७५, बुधबार


काठमाडौं । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले भारतीय फुटबल महासंघको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलङ्का र म्यानमा सहभागी हुनेछन् ।

दक्षिण एसियाली फुटबल प्रतियोगिता र ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले उक्त प्रतियोगितालाई तयारीका रुपमा लिएको छ ।

साफमा अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल आफ्नै घरमा आयोजना हुने प्रतियोगिता जित्ने लक्ष्यका साथ पूर्व राष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा रहेको छ । यसैबीच साफअघि नेपालले थाइल्यान्डमा समेत मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार थाइल्याण्ड फुटबल संघसँग मैत्रीपूर्ण खेलका लागि वार्ता भइरहेको छ ।

साफ च्याम्पियनसिपको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश, पाकिस्तान र भूटान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । नेपाली टोलीका प्रशिक्षक खड्काले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलले टोलीको मनोबल बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस